रंगेलीमा सशस्त्र प्रहरीमाथि हातपात, तीन जना पक्राउ; अन्यको खोजी जारी
विराटनगर– मोरङको रंगेलीमा गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीमाथि हातपात गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। घटनामा संलग्न रहेको आशंकामा अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ।
रंगेली नगरपालिका–५ स्थित ठाकुर टोलमा मंगलबार राति करिब साढे ११ बजे ५–६ जनाको समूहले गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीमाथि हातपात गरेको बताइएको छ।
घटनाबारे जानकारी पाएपछि कात्तिक ४ गते बिहान इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी आँपगाछीबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो। खोजतलासका क्रममा प्रहरीले विशालकुमार सरदार, विकास सरदार र सर्जु सरदारलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ। घटनाको कारण र हातपातमा संलग्न व्यक्तिहरूको भूमिकाबारे अनुसन्धानपछि थप विवरण खुल्ने अपेक्षा गरिएको छ।

