ब्रेक फेल भएर अटो दुर्घटना, उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै यात्रुको मृत्यु
हेटौंडा– मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा ब्रेक फेल भएर अटो दुर्घटना हुँदा घाइते भएका एक यात्रुको मृत्यु भएको छ। दुर्घटनामा मृतककी श्रीमतीसहित तीन जना घाइते भएका छन्।
मृत्यु हुनेमा बकैया गाउँपालिका–५, भनौराका ४५ वर्षीय सन्तबहादुर माझी छन्। बुधबार दिउँसो मदन भण्डारी लोकमार्गमा भएको दुर्घटनामा घाइते भएका उनलाई थप उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमै स्वास्थ्य अवस्था बिग्रिएपछि हेटौंडा अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा जाँच गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार भनौराबाट जुरेलीतर्फ जाँदै गरेको बा प्र ०८–००१ ह ०१०५ नम्बरको अटोको ब्रेक फेल भएपछि दुर्घटना भएको थियो। दुर्घटनामा सन्तबहादुर, उनकी ४० वर्षीया श्रीमती शान्तिमाया माझी र मकवानपुरगढी गाउँपालिका–१ का आठ वर्षीय सन्देशकुमार मुक्तान घाइते भएका थिए।
घाइते तीनै जनालाई उपचारका लागि मकवानपुर सहकारी अस्पताल लगिएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि सन्तबहादुर र शान्तिमायालाई भरतपुर रिफर गरिएको थियो। तर भरतपुर अस्पताल पुग्नुअघि नै सन्तबहादुरको अवस्था बिग्रिएपछि उनलाई हेटौंडा अस्पताल ल्याइएको थियो।
दुर्घटनामा घाइते शान्तिमायाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने सन्देशकुमारको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
अटो चालक बकैया गाउँपालिका–४ का ५१ वर्षीय रामकाजी माझीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
लोकप्रिय
ताजा अपडेट
रवि लामिछानेलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशबारे स्पष्ट बन, पोडवे बनाऊ, स्थानीय चुनाव गैरदलीय गर

