ममता काफ्ले हत्या प्रकरणः आरामा डीएनए, घरभरी रगत, सीसीटीभीमा जताततै नरेश
काठमाडौँ– अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको घटनाले दुई वर्षपछि अदालतमा निर्णायक मोड लिएको छ। ममताको शव अहिलेसम्म फेला परेको छैन। तर अभियोजन पक्षले घरमा भेटिएको रगत, डीएनए परीक्षण, विद्युतीय आरा, निगरानी क्यामेराका दृश्य र उनका पति नरेश भट्टको गतिविधिलाई आधार बनाएर हत्या भएको दाबी गरिरहेको छ।
नरेशले भने आफू दोषी नभएको बताएका छन्। त्यसैले अदालतमा चलिरहेको मुद्दाको मुख्य प्रश्न ममताको मृत्यु भएको हो कि होइन भन्ने मात्र होइन, उपलब्ध परिस्थितिजन्य र फरेन्सिक प्रमाणले नरेशलाई हत्या अभियोगमा दोषी ठहर गर्न पर्याप्त आधार दिन्छन् कि दिँदैनन् भन्ने पनि हो।
मुद्दा प्रिन्स विलियम काउन्टी सर्किट कोर्टमा चलिरहेको छ। नरेशविरुद्ध प्रथम श्रेणीको हत्या, शवको अपमान र मृत शरीर लुकाएको आरोप लगाइएको छ। नेपालमा जन्मिएकी ममता नर्सिङ अध्ययनका लागि भारतको बैंगलुरु पुगेकी थिइन्। विवाहपछि उनी अमेरिका गइन् र उत्तरी भर्जिनियाको मानाससस्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा काम गर्न थालिन्। उनी अमेरिकामै नर्सिङ पेसामा अगाडि बढ्न चाहन्थिन्।
सन् २०२४ जुलाईको अन्तिम सातासम्म ममता नियमित रूपमा परिवारसँग सम्पर्कमा थिइन्। उनलाई अन्तिमपटक जुलाई २७ मा कार्यस्थलमा देखिएको थियो। जुलाई २९ मा उनले नेपालमा रहेकी आमासँग भिडियो कलमा कुरा गरेकी थिइन्। त्यसपछि उनको फोन र सामाजिक सञ्जालमा गतिविधि रोकियो।
ममताका सहकर्मीहरूका अनुसार उनी काममा नियमित आउने र सामाजिक सञ्जालमा पनि सक्रिय रहने गर्थिन्। लगातार काममा अनुपस्थित भएपछि उनीहरूले प्रहरीलाई उनको अवस्थाबारे बुझ्न आग्रह गरे। जुलाई २८ मा एक साथीले ममताका दुईवटा मिस्ड कल देखेकी थिइन्। भोलिपल्ट फोन सम्पर्क हुन नसकेपछि उनीहरू थप चिन्तित बने।
अगस्ट १ मा ममता कार्यस्थलमा अनुपस्थित भइन्। नर्सिङ म्यानेजर जेसिका हरासेकले लगातार दुई दिन काममा नआएपछि प्रहरीलाई जानकारी गराउन आग्रह गरेको अदालतमा बताएकी थिइन्। अगस्ट २ मा प्रहरी ममताको घर पुगेको थियो। नरेशले आफूहरू अलग हुने तयारीमा रहेको र ममता परिवारका सदस्यलाई भेट्न न्युयोर्क वा टेक्सस गएको हुन सक्ने बताएका थिए। तर अनुसन्धानकर्ताले अमेरिकामा ममताका परिवारका सदस्य नरहेको जानकारी पाएपछि उनको भनाइप्रति शङ्का बढेको थियो।
नरेशले अगस्ट ५ मा पत्नी बेपत्ता भएको जानकारी प्रहरीलाई दिएका थिए। अगस्ट २१ मा प्रहरीले घरमा खानतलासी ग¥यो। त्यसको भोलिपल्ट, अगस्ट २२ मा नरेश पक्राउ परे। उनी त्यसयता हिरासतमा छन्। अभियोजन पक्षले ममताको हत्या घरभित्रै भएको दाबी गरेको छ। त्यसका लागि उसले शयनकक्ष र बाथरुममा भेटिएको रगत हुन सक्ने पदार्थ, फरेन्सिक परीक्षण र डीएनए विश्लेषणलाई महत्वपूर्ण प्रमाणका रूपमा प्रस्तुत गरेको छ।
अनुसन्धानका क्रममा तालिमप्राप्त कुकुरले दम्पतीको मुख्य शयनकक्ष र बाथरुममा सङ्केत गरेको अभियोजन पक्षको भनाइ छ। अगस्ट २४ र २५ मा गरिएको परीक्षणले घरमा भेटिएको पदार्थ रगत भएको पुष्टि गरेको थियो। अभियोजन पक्षका अनुसार रगतसम्बन्धी प्रमाणले शयनकक्षबाट बाथरुमतर्फ शव सारिएको हुन सक्ने देखाउँछ।
तर परीक्षणमा रगत भेटिनु र त्यसबाट हत्या कसले गरेको हो भन्ने स्थापित हुनु एउटै कुरा होइन। अभियोजन पक्षले अन्य प्रमाणसँग जोडेर ती दागको अर्थ स्पष्ट पार्नुपर्ने हुन्छ। प्रतिरक्षा पक्षले पनि अनुसन्धानको प्रक्रिया र प्रमाणको व्याख्यामा प्रश्न उठाएको छ।
यस मुद्दामा सबैभन्दा बढी चर्चा भएको प्रमाण विद्युतीय आरा हो। अभियोजन पक्षका अनुसार नरेशले उक्त आरा छिमेकमा काम गर्ने एक मालीलाई दिएका थिए। ममता बेपत्ता भएको घटना सार्वजनिक भएपछि ती मालीले आरा प्रहरीलाई बुझाएका थिए।
सन् २०२४ अक्टोबरमा भर्जिनियाको फरेन्सिक विज्ञान विभागले आरामा भेटिएको रगतको नमुना ममताको कपाल कोर्ने ब्रसबाट तयार पारिएको डीएनए प्रोफाइलसँग मेल खाएको निष्कर्ष निकालेको थियो। अदालतमा पेस गरिएका कागजातअनुसार उक्त नमुनासँग असम्बन्धित व्यक्तिको डीएनए संयोगवश मेल खाने सम्भावना आठ अर्बमध्ये एकभन्दा कम थियो। नरेश र दम्पतीकी छोरीको डीएनए पनि उक्त नमुनामा योगदान गर्ने व्यक्तिका रूपमा छुट्याइएको विवरण सार्वजनिक भएको छ।
अभियोजन पक्षले नरेशले आरा अरूलाई दिएर प्रमाण नष्ट गर्न खोजेको तर्क गरेको छ। तर आरामा ममताको डीएनए भेटिनुले मात्र त्यसको प्रयोग कसले, कहिले र कुन प्रयोजनका लागि ग¥यो भन्ने सबै प्रश्नको उत्तर दिँदैन। अदालतले सम्पूर्ण प्रमाण र प्रतिरक्षा पक्षको व्याख्यासमेत हेर्नुपर्नेछ।
मुद्दामा सन् २०२६ अप्रिल २९ मिति उल्लेख भएको अर्को फरेन्सिक प्रतिवेदन पनि चर्चामा आएको छ। उक्त प्रतिवेदनमा आराबाट निकालिएका तीनवटा मानव कपाल र कपालका १३ वटा टुक्राको विवरण रहेको बताइएको छ। तीमध्ये तीनवटा कपालमा न्युक्लियर डीएनए परीक्षण गर्न सम्भव हुन सक्ने ठहर गरिएको थियो। थप विश्लेषणका लागि पठाइएका नमुनाको नतिजा सार्वजनिक भएको विवरण उपलब्ध छैन।
फरेन्सिक विशेषज्ञहरूका अनुसार कपालको डीएनए ममतासँग मेल खाएमा अभियोजन पक्षको दाबीलाई थप बल मिल्न सक्छ। अदालतमा अभियोजन पक्षले दम्पतीको शयनकक्षबाट निकालिएको करिब ८ बाइ १० फिटको कार्पेट पनि प्रस्तुत गरेको थियो। अनुसन्धानकर्ता जोसेफ रेस्टिनोले कार्पेटको तल्लो भागमा रातो दाग देखिएको र त्यहाँबाट लिइएको नमुनाले प्रारम्भिक परीक्षणमा रगतको सङ्केत दिएको बयान दिएका थिए।
अदालतमा कार्पेट खोलिएपछि जुरी सदस्यहरू उठेर त्यसलाई नजिकबाट हेरेका थिए। अभियोजन पक्षले कार्पेटमा देखिएका दागलाई घरभित्र सम्भावित हिंसात्मक घटना भएको प्रमाणका रूपमा व्याख्या गरिरहेको छ। अनुसन्धानकर्ताले मुख्य बाथरुमको बाथटब पनि हटाएर परीक्षण गरेका थिए। टबको तल्लो भागमा रातो–खैरो दाग देखिएको र सिल गर्न प्रयोग गरिएको पदार्थको किनारामा तरल पदार्थ चुहिएजस्तो चिन्ह भेटिएको उनीहरूको बयान थियो। नुहाउने ठाउँको ड्रेनभित्र पनि शङ्कास्पद पदार्थ भेटिएको अभियोजन पक्षले जनाएको छ।
तर यी दाग ममताको रगत नै हुन् भन्ने निष्कर्षमा पुग्न थप फरेन्सिक परीक्षणको नतिजा आवश्यक छ। प्रारम्भिक रासायनिक परीक्षणले सम्भावित रगत भएको ठाउँ पहिचान गर्न सहयोग गरे पनि त्यसबाट मात्र पदार्थको पहिचान वा त्यसको स्रोत पुष्टि हुँदैन।
बचाउ पक्षले पनि यही विषयमा प्रश्न उठाएको छ। वकिलहरूले घरमा भएका सबै दागको कारण र समय स्थापित नभएको तथा अनुसन्धानका क्रममा घटनास्थलमा भएका गतिविधिले प्रमाणको विश्वसनीयतामा असर पारेको हुन सक्ने तर्क गरेका छन्। अभियोजन पक्षले घरभित्र भेटिएका भौतिक प्रमाणसँगै सीसी क्यामेरा, कारको जीपीएस तथ्याङ्क र नम्बर प्लेट पहिचान गर्ने उपकरणबाट सङ्कलित विवरण पनि प्रस्तुत गरेको छ।
अभियोजन पक्षका अनुसार ममता बेपत्ता भएको समय आसपास नरेशले उत्तरी भर्जिनियाका विभिन्न स्थानमा फोहोरका झोला फालेका थिए। तीमध्ये छोरीलाई हेरचाह गर्ने व्यक्तिको अपार्टमेन्ट परिसर र फल्स चर्चमा रहेको फोहोर थिच्ने मेसिन भएको स्थानसमेत रहेको दाबी गरिएको छ। केही दृश्यमा उनी पञ्जा लगाएर फोहोरका झोला बोकेको देखिएको अभियोजन पक्षको भनाइ छ।
नरेशले पत्नी बेपत्ता भएपछि रबरले लेपिएका पञ्जा, चक्कु, ठूलो आकारका भण्डारण झोला र सरसफाइका सामग्री किनेको दृश्यसमेत अभियोजन पक्षले प्रमाणका रूपमा अघि सारेको छ। उनले पत्नीको मृत्यु, बेपत्ता हुने अवस्था र सम्बन्धविच्छेदसम्बन्धी विषयमा इन्टरनेटमा खोजी गरेको विवरणलाई पनि अभियोजन पक्षले शङ्कास्पद मानेको छ।
अभियोजन पक्षको तर्कमा यी गतिविधि अलग–अलग घटनाका रूपमा नभई ममता बेपत्ता भएको समयसँग जोडेर हेर्नुपर्ने विषय हुन्। ममता बेपत्ता भएपछि नरेशले उनी घर छाडेर गएको हुन सक्ने बताएका थिए। उनले दम्पतीबीच सम्बन्ध बिग्रिएको र ममता परिवारका सदस्यलाई भेट्न अन्य राज्य गएको हुन सक्ने बताएका थिए।
तर ममताकी आमा गीता काफ्लेले अदालतमा छोरीसँग नियमित भिडियो कल हुने गरेको र आफूलाई जानकारी नदिई उनी घर छाडेर नजाने बताएकी छिन्। साथीहरूले पनि ममता आफ्नी सानी छोरीलाई छाडेर सम्पर्कविहीन हुने सम्भावनामा शङ्का व्यक्त गरेका छन्।
ममताकी साथी सरिता न्यौपानेले विगतमा दम्पतीबीच झगडा भएपछि ममता दुई साताभन्दा बढी समय आफूकहाँ बसेको बयान दिएकी थिइन्। उनका अनुसार ममताले आफूलाई कुटपिट भएको बताएकी र चोटको भिडियोसमेत देखाएकी थिइन्। तर प्रतिपरीक्षणका क्रममा न्यौपानेले नरेशले ममतालाई कुटेको घटना आफूले प्रत्यक्ष नदेखेको स्वीकार गरेकी थिइन्। त्यसैले उनको बयान ममताबाट सुनेको विवरणमा आधारित छ।
अदालतले ममताले विगतमा कथित घरेलु हिंसाबारे दिएका सबै बयानलाई स्वतः प्रमाणका रूपमा स्वीकार गरेको छैन। न्यायाधीशले कुन बयान जुरीसमक्ष प्रस्तुत गर्न मिल्ने भन्ने विषयमा सीमा तोकेकी छिन्। यसले मुद्दामा आरोप, साक्षीले प्रत्यक्ष देखेको कुरा र अरूबाट सुनेको विवरणबीचको भिन्नता महत्वपूर्ण हुने देखाउँछ।
नरेशका प्रतिरक्षा वकिल ट्रेसी लेनक्स र लरेल रोडवाल्डले अभियोजन पक्षको मुद्दा परिस्थितिजन्य प्रमाणमा आधारित रहेको र त्यसले हत्याको आरोप शङ्काभन्दा पर पुगेर प्रमाणित नगर्ने तर्क गरेका छन्। प्रतिरक्षा पक्षले अनुसन्धानकर्ताहरू घर पुगेपछि घटनास्थलमा केही वस्तु सारिएको हुन सक्ने, सबै वस्तु कसले छोयो भन्ने पूर्ण विवरण नरहेको र रगत पहिचान गर्न प्रयोग गरिएको रासायनिक विधिको नतिजालाई सावधानीपूर्वक व्याख्या गर्नुपर्ने बताएको छ।
अनुसन्धानकर्ता एन्ड्रिया फेल्डम्यानले प्रतिपरीक्षणका क्रममा आफू घटनास्थल पुग्नुअघि प्रहरीले सिँढीमा रहेको बच्चाको खाट सारेको थियो कि थिएन भन्ने थाहा नभएको बताएकी थिइन्। प्रतिरक्षा पक्षले नरेशले प्रहरीलाई घरभित्र प्रवेश गर्न दिएको र अनुसन्धानकर्ताहरूका प्रश्नको जवाफ दिएको विषय पनि उठाएको छ। उनीहरूको भनाइमा अभियोजन पक्षले प्रमाणका बीचका खाली ठाउँलाई अनुमानका आधारमा पूरा गर्न खोजिरहेको छ।
अभियोजन पक्ष भने घरभित्रका शङ्कास्पद दाग, आरामा भेटिएको डीएनए, सीसीटीभी फुटेज, अनलाइन खोजी र नरेशले प्रहरीलाई दिएको विवरणमा देखिएका परिवर्तनलाई एकसाथ हेर्दा हत्या भएको निष्कर्षमा पुग्न सकिने दाबी गर्छ। यसरी दुवै पक्षको विवाद प्रमाणको अस्तित्वमा मात्र सीमित छैन। ती प्रमाणले वास्तवमा के स्थापित गर्छन् र तिनलाई एकअर्कासँग जोड्दा कस्तो निष्कर्ष निस्कन्छ भन्ने विषयमा उनीहरूबीच मतभेद छ।
अमेरिकाको भर्जिनिया राज्यमा हत्या अभियोगमा दोषी ठहर गर्न पीडितको शव अनिवार्य रूपमा फेला पर्नुपर्छ भन्ने छैन। तर शव नभएको अवस्थामा अभियोजन पक्षले पीडितको मृत्यु भएको र प्रतिवादी नै त्यसका लागि जिम्मेवार रहेको कुरा उपलब्ध प्रमाणबाट कुनै उचित शङ्काभन्दा पर पुग्ने गरी स्थापित गर्नुपर्छ।
शव भेटिएको अवस्थामा पोस्टमार्टम, मृत्युको कारण र चोटको प्रकृतिबारे प्रत्यक्ष फरेन्सिक प्रमाण उपलब्ध हुन सक्छ। ममताको मुद्दामा त्यस्ता प्रमाण छैनन्। त्यसैले अभियोजन पक्षले घरभित्र भेटिएका पदार्थ, डीएनए, नरेशको गतिविधि र अन्य परिस्थितिजन्य प्रमाणबाट आफ्नो दाबी स्थापित गर्नुपर्ने चुनौती छ।
भर्जिनियामा यसअघि पनि शव नभेटिएका हत्याका मुद्दामा दोषी ठहर भएका उदाहरण छन्। तर विगतका मुद्दामा फैसला भएको आधारले ममताको मुद्दाको नतिजा स्वतः निर्धारण गर्दैन। प्रत्येक मुद्दाको निर्णय त्यसमा प्रस्तुत प्रमाण र कानुनी मापदण्डका आधारमा हुन्छ।
ममता बेपत्ता हुँदा दम्पतीकी छोरी पहिलो जन्मदिन मनाउने तयारीमा थिइन्। अहिले ती बालिका तीन वर्षकी भएकी छिन् र ममताकी आमा तथा भाइसहित आफन्तको हेरचाहमा छिन्। ममताको शव फेला नपरेको तथ्यले परिवारका लागि घटनाको अन्तिम सत्य अझै अधुरो बनाएको छ। अदालतको मुद्दाले नरेशमाथि लगाइएका आरोप प्रमाणित हुन्छन् कि हुँदैनन् भन्ने प्रश्नको जवाफ दिन सक्छ, तर शव नभेटिएको अवस्थामा ममतासँग वास्तवमा के भयो भन्ने प्रश्न अनुसन्धान र परिवारका लागि अझै गम्भीर विषय बनेको छ।
अक्टोबर २३, २०२६ सम्म उपलब्ध विवरणअनुसार मुद्दाको सुनुवाइ जारी छ र अन्तिम फैसला आएको छैन। जुरीले अभियोजन पक्ष र प्रतिरक्षा पक्षका प्रमाण सुनेर निर्णय गर्नुपर्नेछ। नरेशले आफू दोषी नभएको दाबी कायम राखेका छन्। ममताको प्रकरण नेपालमा मात्र होइन, विदेशमा रहेका नेपाली समुदायमा पनि चासोको विषय बनेको छ। यसले आप्रवासी महिलाको सुरक्षा, वैवाहिक सम्बन्धभित्रको हिंसाका आरोप र बेपत्ता व्यक्तिको खोजीमा फरेन्सिक प्रमाणको भूमिकाबारे प्रश्न उठाएको छ।
तर यी व्यापक सामाजिक प्रश्नको महत्वसँगै अदालतमा प्रमाणित नभएका आरोपलाई स्थापित तथ्यका रूपमा प्रस्तुत नगर्नु पनि उत्तिकै आवश्यक छ।
लोकप्रिय
बाढीमा बेपत्ता बाबु पर्खिरहेका साढे ४ वर्षीय बालकको प्रश्न– ‘दशमीयोमे पापा घर किया नइँ एलै?’, भक्कानिन्छ परिवार

