इलाममा यसअघि चार जनाले ज्यान गुमाएको स्थानमा फेरि बोलेरो दुर्घटना, २१ वर्षीय चालकको मृत्यु

विराटनगर– इलामको देउमाई नगरपालिका–१, चमैतामा यसअघि भएका दुर्घटनामा चार जनाले ज्यान गुमाइसकेको स्थाननजिक फेरि बोलेरो दुर्घटना भएको छ। सोमबार बिहान भएको दुर्घटनामा २१ वर्षीय चालक विपिन दियालीको घटनास्थलमै मृत्यु भएको छ।

चौरीबजारतर्फ यात्रु लिन जाँदै गरेको मे १ ज ३०४० नम्बरको सिङ्गर कम्पनीको बोलेरो अनियन्त्रित भएर सडकबाट करिब दुई मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। दुर्घटनामा देउमाई नगरपालिका–१, चमैता निवासी दियालीको घटनास्थलमै मृत्यु भएको सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनाको खबर पाएपछि प्रहरी चौकी रक्सेबाट टोली घटनास्थलमा पुगेको थियो। थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको कमान्डमा अर्को टोली परिचालन गरिएको छ।

दुर्घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। बोलेरो अनियन्त्रित हुनुको कारण खुलिसकेको छैन। यसअघि पनि सोही क्षेत्रनजिक सिङ्गर कम्पनीकै बोलेरो दुर्घटना हुँदा चालक तीर्थ बस्नेतको मृत्यु भएको थियो। यस वाहेक अन्य तीन जनाले यही क्षेत्रमा ज्यान गुमाईसकेका छन्। पछिल्लो दुर्घटनासँगै यस क्षेत्रमा दोहोरिने सवारी दुर्घटना र मानवीय क्षतिको विषय फेरि चर्चामा आएको छ।

एउटै क्षेत्र आसपास पटक–पटक दुर्घटना हुँदा पनि त्यसको कारण पहिचान, जोखिमयुक्त सडकको अवस्था परीक्षण तथा दुर्घटना न्यूनीकरणका लागि के–कस्ता कदम चालिएका छन् भन्ने प्रश्न उठेको छ। यद्यपि, पछिल्लो दुर्घटनामा सडकको अवस्था, सवारीसाधनको प्राविधिक समस्या वा चालकको नियन्त्रण गुम्नुमा कुन कारण जिम्मेवार थियो भन्नेबारे प्रहरीले निष्कर्ष सार्वजनिक गरेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट