सुनसरी घट्नामापछि गोलबजारमा तोडफोड र आगजनी गरेको आरोपमा वडाध्यक्ष सोहेब अनवर पक्राउ

लहान– सिरहाको गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा संलग्न रहेको आरोपमा गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर पक्राउ परेका छन्। ‘हिन्दु सम्राट सेना’ नामक संस्थाका केही व्यक्तिले दिएको जाहेरीका आधारमा सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेशबहादुर पालका अनुसार अनवरलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको हो। प्रहरीले उनीविरुद्ध परेको जाहेरीका आधारमा मुद्दा दर्ता गरी सिरहा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।

प्रहरीका अनुसार गत साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर साउन १४ गते गोलबजारमा तोडफोड तथा आगजनी भएको थियो। उक्त घटनामा वडाध्यक्ष अनवरको मुख्य भूमिका रहेको आरोप लगाउँदै ‘हिन्दु सम्राट सेना’सँग सम्बन्धित व्यक्तिहरूले करिब दुई महिनाअघि प्रहरीमा जाहेरी दिएका थिए।

जाहेरीमा गोलबजारमा दंगा भड्काउन तथा तोडफोड र आगजनी गराउन अनवरको भूमिका रहेको आरोप लगाइएको छ। सोही जाहेरीका आधारमा उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। आरोपबारे थप अनुसन्धान भइरहेको डीएसपी पालले बताए।

प्रहरीका अनुसार जाहेरी परेपछि पक्राउ अनुमति जारी भए पनि अनवर लामो समयसम्म सम्पर्कमा आएका थिएनन्। उनी कहिले ससुरालीतर्फ त कहिले अन्य स्थानमा लुकिछिपी बस्दै आएको सूचना पाएपछि प्रहरीले खोजतलास तीव्र बनाएको थियो। घर आएको अवस्थामा समेत प्रहरीबाट बच्न लुक्ने गरेको सूचनाका आधारमा खोजी गर्दा उनलाई पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ।

मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ मा धर्म, जात, जाति, सम्प्रदाय वा भाषाका आधारमा विभिन्न समुदायबीचको सुसम्बन्धमा खलल पार्ने कसुरसम्बन्धी व्यवस्था छ। उक्त कसुर प्रमाणित भएमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

यद्यपि, वडाध्यक्ष अनवरमाथि लगाइएको आरोप पुष्टि भइसकेको छैन। उनीविरुद्ध परेको जाहेरी, घटनामा उनको कथित भूमिका र तोडफोड तथा आगजनीमा संलग्नताबारे अनुसन्धानबाट खुल्ने तथ्यले नै घटनाको वास्तविकता निर्धारण गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट