उदयपुरमा २४६ बोरामा लुकाइएको ८ टन गाँजा ट्रकबाट बरामद
राजविराज — सामान्य ढुवानीको आवरणमा ट्रकभित्र लुकाएर ओसारिँदै गरेको ७ हजार ८२६ किलो ८०० ग्राम प्रतिबन्धित गाँजा उदयपुरमा बरामद भएको छ। सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले विशेष सूचना पाएपछि गरेको निगरानी र संयुक्त टोलीको जाँचका क्रममा २४६ वटा बोरामा प्याक गरिएको गाँजा फेला पारेको हो।
कात्तिक १५ गते साँझ उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्री सडकखण्डमा ट्रक जाँच गर्दा ठूलो परिमाणमा गाँजा भेटिएको सशस्त्र प्रहरीले जनाएको छ।
इन्टेलिजेन्स ब्यूरो, सशस्त्र प्रहरी बलको नं. ४ गण सुनसरी र नं. ५ गण उदयपुरबाट खटिएको संयुक्त टोलीले प्रदेश १–०२–००२ ख ०२०६ नम्बरको ट्रक रोकेर जाँच गरेको थियो। त्यस क्रममा ट्रकभित्र २४६ वटा प्लास्टिकका बोरामा प्याक गरी लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा फेला परेको हो।
बरामद गाँजा र ट्रक आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
सशस्त्र प्रहरीका अनुसार लागुऔषध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन भइरहेको छ। अभियानअन्तर्गत विभिन्न प्रकारका लागुऔषध बरामद गर्नुका साथै दुव्र्यसन र अवैध कारोबार नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिँदै आएको छ।
तर, यस घटनामा गाँजा कहाँबाट ल्याइएको थियो, कहाँ पु¥याउने योजना थियो र यसको कारोबारमा को–को संलग्न थिए भन्ने विवरण अनुसन्धानपछि मात्रै खुल्नेछ।

