धरानमा गोली चलाएर २१० किलो गाँजा, दुई स्कार्पियो र सप्तरीका तीनसहित पाँच जना पक्राउ

इटहरी– गाँजा तस्करीमा संलग्न समूहलाई नियन्त्रणमा लिन प्रहरीले धरानमा दुई राउन्ड हवाई फायर गरेको छ। सोमबार बिहान करिब ३ बजे धरान उपमहानगरपालिका–२० च्यानडाँडामा गरिएको कारबाहीमा प्रहरीले २१० किलो गाँजा, तस्करीमा प्रयोग भएका दुईवटा स्कार्पियो गाडी र पाँच जनालाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी भीषणबाबू राईका अनुसार गाँजा लोड भइरहेको सूचनापछि सादा पोसाकमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी पुग्दा बा १ च ५०३८ र को १ च ८१८२ नम्बरका दुई स्कार्पियोमा गाँजा लोड भइरहेको थियो।

प्रहरीलाई देखेपछि गाँजा र गाडीसहित भाग्न खोजेपछि नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेको डीएसपी राईले बताए। त्यसपछि प्रहरीले पाँच जनालाई पक्राउ गरी दुवै गाडी नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सप्तरी डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, सप्तरी राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहारस्थित मधुबनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरी छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार शाह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत विशुंखे रहेका छन्।

प्रहरीका अनुसार बा १ च ५०३८ नम्बरको स्कार्पियो रामसागर यादव र को १ च ८१८२ नम्बरको स्कार्पियो राजकुमार साहले चलाइरहेका थिए। दुवै गाडीमा लोड गरिएको गाँजा प्रहरीले बरामद गरेको हो।

पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी राईले जानकारी दिए। गाँजा कारोबारमा उनीहरूको भूमिका, लागुऔषधको स्रोत तथा तस्करीमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट