प्रहरीको निगरानीमा रहेको विराटनगरस्थित बाल सुधार गृहभित्र कस्को अनुकम्पाले सप्लाई भईरहेको छ गाँजा ?
विराटनगर– आचारण र व्यवहार सुधारका लागि राखिएका बालबिज्याइँकर्ताको बसोबासस्थलमै गाँजा, मोबाइल र सुर्तीजन्य वस्तु भेटिनु सामान्य सुरक्षा कमजोरी मात्रै होइन, बालसुधार गृहको निगरानी प्रणालीमाथिकै गम्भीर प्रश्न हो।
५० जनाको क्षमता रहेको विराटनगरस्थित बालसुधार गृहमा १९३ जना राखिएका छन्। सुरक्षाका लागि प्रहरीसमेत परिचालित छ, तर सोमबार गरिएको छानबिनमा गाँजाको पोका र प्रतिबन्धित ६ थान मोबाइल फेला परे। अब प्रश्न उठेको छ– सुरक्षाकर्मीको उपस्थितिमा निषेधित सामग्री भित्र कसरी पुगिरहेको छ ?
विराटनगर महानगरपालिका–३ स्थित बालसुधार गृहमा जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले सोमबार बिहान सर्च अभियान चलाएको थियो। जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उमेशलाल श्रेष्ठ र वडा प्रहरी कार्यालयका इन्स्पेक्टर साजन महतराको नेतृत्वमा ४० जनाको प्रहरी टोली बिहान सवा १० बजे सुधार गृह पुगेको थियो।
प्रहरीले बिहान ११ः४० बजेसम्म खोजतलास गरेको थियो। त्यसपछि दिउँसो झण्डै १ बजेसम्म गरिएको छानबिनका क्रममा गाँजाको सानो पोका, ६ थान मोबाइल र सुर्तीजन्य वस्तु बरामद भएको हो। सुधार गृहभित्र मोबाइल प्रयोगमा प्रतिबन्ध रहे पनि बालबिज्याइँकर्ताले लुकिछिपी मोबाइल चलाउँदै आएको यस घटनाले देखाएको छ।
बालसुधार गृहका प्रमुख सञ्जीव न्यौपानेले प्रशासनबाट नियमित रूपमा हुने चेकजाँचका क्रममा बालबिज्याइँकर्ताले प्रयोग गर्दै आएका मोबाइल बरामद भएको बताए। उनका अनुसार सुधार गृहभित्र नियमित जाँच हुने गरेको छ। तर, गाँजा र मोबाइल कसरी भित्र पुगे भन्ने विषयमा स्पष्ट जवाफ आएको छैन।
सुधार गृहको सुरक्षाका लागि नेपाल प्रहरीका एक जना असईको नेतृत्वमा ११ जना प्रहरी खटिएका छन्। सुरक्षाकर्मीको उपस्थिति हुँदाहुँदै पनि प्रतिबन्धित सामग्री भित्रिनुले प्रवेशद्वारको जाँचदेखि आन्तरिक निगरानीसम्मको प्रभावकारितामाथि प्रश्न उठाएको छ। बालबिज्याइँकर्ताका आफन्तले सुरक्षाकर्मीको आँखा छलेर गाँजा र मोबाइल पु¥याएको हुन सक्ने अनुमान गरिए पनि यसको पुष्टि भएको छैन।
सुरक्षा व्यवस्थासँगै सुधार गृहको क्षमताभन्दा अत्यधिक चाप अर्को गम्भीर समस्या देखिएको छ। ५० जनालाई राख्न सकिने ब्लकमा अहिले १९३ जना बालबिज्याइँकर्ता छन्। यो निर्धारित क्षमताभन्दा झन्डै चार गुणा बढी हो।
त्यस्तै, १८ वर्ष उमेर नाघेका र उच्छृंखल गतिविधिमा संलग्न भएकाहरूलाई मोरङ कारागारभित्र छुट्टै राखिएको छ। त्यहाँ ६२ जना छन्। सुधार गृह र कारागारका दुवै ब्लकमा गरी सोमबारसम्म २५५ जना रहेका छन्।
यसअघि पनि मोरङ कारागारभित्र रहेका बालबिज्याइँकर्तालाई भेट्न पुगेका दुई युवतीको साथबाट लागुऔषध बरामद भएको थियो। कारागारको मुख्य प्रवेशद्वारमा सशस्त्र प्रहरीले शंका लागेर जाँच गर्दा उनीहरूको साथबाट लागुऔषध फेला परेको थियो।
एकपछि अर्को घटनामा प्रतिबन्धित सामग्री भेटिनुले सुधार गृह र कारागारभित्र वस्तु प्रवेश गर्ने बाटो, भेटघाट प्रक्रियाको निगरानी र आन्तरिक सुरक्षा जाँच कति प्रभावकारी छन् भन्ने प्रश्न उठाएको छ। क्षमताभन्दा झन्डै चार गुणा बढी बालबिज्याइँकर्ता राखिएको सुधार गृहमा सुरक्षाकर्मीसमेत परिचालित छन्।
यस्तो अवस्थामा गाँजा र मोबाइल भेटिनु सुरक्षा कमजोरीको संकेत मात्रै हो कि निगरानी संयन्त्रमै गम्भीर समस्या छ ? यसको जवाफ खोज्नु र प्रतिबन्धित सामग्री भित्रिने बाटो पहिचान गर्नु अब प्रशासनको जिम्मेवारी बनेको छ।

