आजदेखि सरकारी कार्यालय चार बजे नै बन्द, तीन महिनासम्म घट्यो कार्यालय समय
काठमाडौँ– सरकारी कार्यालय पुग्ने सेवाग्राहीले आजदेखि एक घण्टा कम समयमै सेवा लिनुपर्ने भएको छ। हिउँद सुरु भएसँगै सरकारले सरकारी कार्यालयको समय घटाएको छ। अब सरकारी कार्यालयहरू अपराह्न ४ बजे नै बन्द हुनेछन्।
सरकारको निर्णयअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्। यसअघि कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुला रहँदै आएका थिए।
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार यो व्यवस्था तीन महिनासम्म लागू हुनेछ। हिउँदमा साँझ छिट्टै अँध्यारो हुने भएकाले कार्यालय समय एक घण्टा घटाइएको हो।
सरकारी कार्यालयको समय घटे पनि सातामा पाँच दिन नै कार्यालय सञ्चालन हुनेछन्। गत चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई कारण देखाउँदै सुरु गरिएको दुईदिने बिदालाई सरकारले निरन्तरता दिँदै आएको छ।
यससँगै अब सेवाग्राहीले सरकारी कामकाजका लागि बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्मको समयलाई ध्यान दिनुपर्नेछ। माघ १५ गतेपछि भने कार्यालय समय पुनः परिवर्तन हुनेछ।

