बालेन्द्रले धम्क्याएको कसलाई हो, निशानामा को ?
काठमाडौँ– प्रधानमन्त्री बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत दिएको एउटा चेतावनीले राजनीतिक तथा सार्वजनिक वृत्तमा नयाँ प्रश्न उब्जाएको छ— प्रधानमन्त्रीले कसलाई उम्किन नदिने संकेत गरेका हुन् ? र, उनीहरूबाट केको हिसाब लिन खोजिरहेका छन्?
आइतबार साँझ फेसबुकमा प्रधानमन्त्री साहले लेखे, ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’
प्रधानमन्त्रीले यो अभिव्यक्ति कसलाई लक्षित गरेर दिएका हुन् भन्ने खुलाएका छैनन्। कुनै व्यक्ति, समूह, घटना वा प्रकरणको नामसमेत उल्लेख छैन। तर प्रधानमन्त्रीको पदमा रहेका व्यक्तिबाट आएको यस्तो सन्देश सामान्य सामाजिक सञ्जाल टिप्पणीभन्दा फरक अर्थमा हेरिएको छ। किनकि यो अभिव्यक्ति सरकारमाथि जवाफदेहिताको प्रश्न उठिरहेका बेला सार्वजनिक भएको हो।
पछिल्लो समय न्युजरूमबाटै पत्रकार पक्राउ गरिएको घटनालाई लिएर सरकारको चर्को आलोचना भइरहेको छ। पत्रकारमाथि भएको धरपकड, पक्राउको निर्णय र त्यसको औचित्यबारे सरकारसँग जवाफ मागिँदै छ। प्रेस स्वतन्त्रता र सरकारको आलोचना गर्ने अधिकारमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्रीको चेतावनीपूर्ण स्टाटस आएको हो।
यही समयक्रमले प्रधानमन्त्रीको अभिव्यक्तिलाई थप अर्थपूर्ण बनाएको छ। के यो पत्रकार पक्राउ प्रकरणको विरोध गर्नेहरूलाई लक्षित सन्देश हो ? सरकारको आलोचना गर्ने व्यक्तिहरूलाई चेतावनी हो ? वा कुनै अर्को प्रकरणमा संलग्न व्यक्तिहरूलाई कारबाहीको संकेत हो ? प्रधानमन्त्रीले स्पष्ट नपारेसम्म यी प्रश्नको उत्तर अनुमानमै सीमित रहन्छ।
प्रधानमन्त्रीको स्टाटसमा उनका प्रमुख सल्लाहकार कुमार बेनले गरेको टिप्पणीले पनि चर्चालाई थप रोचक बनाएको छ। बेनले लेखेका छन्, ‘सही समय भनेको कहिले हो, शनिबार आइतबार हो ?’
बेनको यो टिप्पणी व्यङ्ग्यात्मक शैलीमा आएको देखिन्छ। तर उनले पनि प्रधानमन्त्रीले संकेत गरेको ‘सही समय’ कहिले हो वा कसको गलत समय आउँदै छ भन्ने खुलाएका छैनन्।
प्रधानमन्त्रीले कसैको नाम नलिई ‘एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भनेका छन्। यसले उनी कुनै निश्चित व्यक्तिहरूलाई लक्षित गरिरहेका हुन् कि व्यापक रूपमा चेतावनी दिन खोजिरहेका हुन् भन्ने प्रश्न उठाएको छ। तर लक्षित व्यक्ति वा घटनाबारे कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।
प्रधानमन्त्रीको अभिव्यक्तिमा ‘सही समय’ र ‘गलत समय’ को उल्लेख छ। तर त्यो समय कसका लागि आउँदै छ, त्यसको आधार के हो र त्यसबेला के कारबाही हुनेछ भन्नेबारे केही भनिएको छैन। सरकार प्रमुखको यस्तो अस्पष्ट चेतावनीले स्वाभाविक रूपमा राजनीतिक र सार्वजनिक बहस जन्माउँछ।
सरकारले कुनै कसुरमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्ने हो भने त्यसको आधार, प्रक्रिया र प्रमाण सार्वजनिक हुनुपर्छ। कसैलाई उम्किन नदिने घोषणा मात्र पर्याप्त हुँदैन। कारबाही कानुनअनुसार हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
पत्रकार पक्राउ प्रकरणमा सरकारमाथि उठिरहेका प्रश्नको जवाफ दिनुपर्ने समयमा प्रधानमन्त्रीले दिएको यो चेतावनीले अर्को प्रश्न थपेको छ—सरकार जवाफदेहिताको मागलाई सम्बोधन गर्दै छ कि चेतावनीको भाषामार्फत आफ्नो सन्देश दिइरहेको छ ?
प्रधानमन्त्रीले कसलाई धम्क्याएका हुन् भन्ने कुरा अझै खुलेको छैन। तर उनको स्टाटसले एउटा कुरा स्पष्ट गरेको छ—उनी कसैको ‘गलत समय’ आउने संकेत गरिरहेका छन्। अब प्रश्न त्यति मात्र हो, त्यो समय कसका लागि हो र त्यसको आधार के हो ?

