प्रहरी नेतृत्वभित्रै शक्ति संघर्ष चर्कियो ! आईजीपी कार्की र एआईजी केसीबीच बैठकमै चर्काचर्की, अडिओ प्रकरणले थपियो विवाद

काठमाडौँ– नेपाल प्रहरीको सर्वोच्च नेतृत्वलाई लिएर संगठनभित्रको विवाद सतहमा आएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र उनकै ब्याची अतिरिक्त महानिरीक्षक (एआईजी) मनोजकुमार केसीबीच आन्तरिक बैठकमै चर्काचर्की भएको विवरण सार्वजनिक भएको छ। त्यसमाथि आईजीपीको सम्भावित राजीनामाबारे एआईजी केसी र विचौलिया भनिएका नारायण भण्डारीबीच भएको भनिएको टेलिफोन संवादको अडिओ सार्वजनिक भएपछि प्रहरी नेतृत्वभित्रको शक्ति संघर्ष थप पेचिलो बनेको छ।

नेतृत्वलाई विवादमा तान्न संगठनभित्रैबाट चलखेल भइरहेको भन्दै आईजीपी कार्कीले गत बिहीबार बसेको प्रहरी नीति समन्वय समिति (पीसीसी) बैठकमा असन्तुष्टि जनाएका थिए। बैठकमा कार्कीले आफूलाई संगठनभित्रैबाट असहयोग भइरहेको आशय व्यक्त गरेपछि एआईजी केसीले प्रतिवाद गरेका थिए। बैठकमा उनीहरूबीच चर्काचर्की परेको सहभागी एक डीआईजीले जानकारी दिएका छन्।

बैठकमा केही एआईजीले नेतृत्वलाई बदनाम गर्ने गतिविधिमा संलग्न अधिकारीमाथि कारबाही हुनुपर्ने धारणा राखेका थिए। अन्य अधिकारीले भने कुनै व्यक्तिले गरेको गलत कामको जिम्मेवारी उसैले लिनुपर्ने भन्दै त्यसलाई आधार बनाएर समग्र प्रहरी संगठन र नेतृत्वलाई बदनाम गर्न नहुने तर्क गरेका थिए।

केसीले भने आईजीपीविरुद्ध भइरहेका गतिविधिमा आफूलाई शंका गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको बताइएको छ। आफूलाई अनावश्यक रूपमा विवादमा तान्न खोजिएको उनको भनाइ थियो।

बैठकमा सातै प्रदेशका प्रहरी प्रमुख डीआईजी तथा उपत्यकाभित्रका एसएसपीभन्दा माथिल्लो तहका अधिकारीहरू सहभागी थिए। सहभागी स्रोतका अनुसार अधिकांश अधिकारीले आईजीपी कार्की र संस्थागत नेतृत्वको पक्षमा धारणा राखेका थिए। केसीसहित दुई डीआईजीले भने नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका थिए।

‘भोलि १०० प्रतिशत राजीनामा’ भन्ने सूचना एआईजी केसीसम्म कसरी पुग्यो ?
प्रहरी नेतृत्वभित्रको विवाद चर्किएकै बेला एआईजी मनोजकुमार केसी र खगेन्द्र सुनारका निकट सहयोगीका रूपमा चिनिएका नारायण भण्डारीबीच भएको भनिएको टेलिफोन संवादको अडिओ सार्वजनिक भएको छ। नेपाल लिडले प्राप्त गरेको उक्त अडिओमा आईजीपी कार्कीले भोलिपल्ट ‘१०० प्रतिशत राजीनामा दिने’ भन्ने सूचना भण्डारीले केसीलाई सुनाएका छन्।

अडिओमा भण्डारीले ‘त्यो अघि चाहिँ भोलि १०० प्रतिशत राजीनामा दिने भन्ने भयो दाइ’ भनेको सुनिन्छ। त्यसपछि केसीले ‘अँ’ भन्दै प्रतिक्रिया दिएका छन्। कुराकानीको सुरुवातमा भण्डारीले आफू बिहानैदेखि विभिन्न ठाउँमा दौडधुपमा रहेको र एक व्यक्ति काभ्रेतिर गएको जानकारी गराउँछन्। त्यसपछि केसीले त्यस दिन अदालतमा पेशी रहेको विषय उठाउँछन्। भण्डारीले पेशी अघिल्लो दिन नै सरिसकेको जवाफ दिएपछि संवाद प्रहरी नेतृत्व परिवर्तनको चर्चातर्फ मोडिन्छ।

आईजीपीको राजीनामाबारे शतप्रतिशत दाबी गर्ने सूचना भण्डारीले कहाँबाट पाए ? प्रहरी संगठनको सर्वोच्च नेतृत्वसँग सम्बन्धित यस्तो संवेदनशील सूचना एआईजी केसीसँग किन साझा गरिँदै थियो ? अडिओले यी प्रश्न उठाएको छ।

आईजीपीको भेटघाटदेखि गृहमन्त्रीसँगको सम्भावित छलफलसम्म
नेपाल लिडले सार्वजनिक गरेको अडिओमा भण्डारीले आईजीपी कार्की र विश्व अधिकारीबीच भएको भेटघाटको समयसमेत केसीलाई सुनाएको सुनिन्छ। भण्डारीका अनुसार उनीहरू १६ः५५ बजे भेट्न गएको र १७ः५० बजे बाहिरिएका थिए। तर भेटमा के विषयमा कुराकानी भयो भन्ने आफूलाई थाहा नभएको उनले बताएका छन्।

संवादमा गृहमन्त्रीसँगको भेटघाटको प्रसङ्ग पनि आउँछ। भण्डारीले गृहमन्त्रीले माननीयलाई भेट्ने कुरा गरेको र सम्भवतः भोलिपल्ट बिहान ९ बजे केही हुने बताएका छन्। तर उक्त भेट कसका लागि र कुन उद्देश्यले हुन लागेको थियो भन्ने अडिओबाट स्पष्ट हुँदैन।

कुराकानीमा ‘राजन दाइ’ र ‘सुनिल’को प्रसङ्ग पनि आउँछ। त्यसको केही अंश अस्पष्ट भएकाले त्यसको आशय यकिन गर्न सकिने अवस्था छैन। अडिओको अर्को हिस्सामा आईजीपी र अर्का व्यक्ति ह्वाट्सएपमार्फत निगरानीमा रहेको आशयको संवाद सुनिन्छ। भण्डारीले ‘ह्वाट्सएपमा पनि आईजीको मात्र हो। नदेखिए पनि उहाँ पनि निगरानीमा हुनुहुन्छ। भोलिसम्म आफैँ जानुहुन्छ’ भनेको सुनिन्छ। त्यसपछि केसीले प्रतिक्रिया दिएको र राजन नामका व्यक्तिको गतिविधिबारे पनि कुराकानी भएको सुनिन्छ।

संवादको अन्त्यतिर भण्डारीले ‘यता सुधनसँग कुरा भइरहेको छ। त्यो बुझेर म खबर गर्छु हजुरलाई’ भनेका छन्। त्यसपछि केसीले ‘हवस्, हवस्’ भन्दै संवाद टुङ्ग्याउँछन्। यी संवादले प्रहरी नेतृत्व परिवर्तनको चर्चामा बाह्य व्यक्तिको पहुँच र उच्च प्रहरी अधिकारीसँग भइरहेको सूचना आदानप्रदानबारे प्रश्न उठाएका छन्। तर अडिओमा आएका ‘निगरानी’, भेटघाट र राजनीतिक सम्पर्कसम्बन्धी दाबीको स्वतन्त्र पुष्टि भएको छैन।

इनम सापकोटासँगको संवादले पनि तान्यो नेतृत्वलाई विवादमा
प्रहरी नेतृत्वभित्रको विवादमा इनम सापकोटासँगको संवाद पनि जोडिएको छ। प्रहरी हिरासतमा रहेका सापकोटासँग आईजीपी कार्की र एआईजी राजन अधिकारीले संवाद गरेको म्यासेज फेला परेको विषयलाई लिएर उनीहरूलाई विवादमा तान्न खोजिएको आरोप छ।

तर कार्की र सापकोटाबीच भएका भनिएका म्यासेजमा मुद्दा–मामिलासम्बन्धी कुराकानी नभई सामान्य विषयमा संवाद भएको दाबी गरिएको छ। यही विषयलाई आधार बनाएर आफूलाई विवादमा तान्न खोजिएको भन्दै कार्कीले पीसीसी बैठकमा असन्तुष्टि जनाएका थिए।

सापकोटामाथि व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन सेटिङ गरेको आरोप छ। यही प्रकरणसँग जोडेर भट्टलाई नक्खु कारागारबाट सिन्धुपाल्चोक सारिएको छ। भट्टमाथि सीआईबीले अनुसन्धान गरेको थियो। त्यतिबेला सीआईबीको नेतृत्व एआईजी केसीले गरेका थिए।

केसीलाई त्यसपछि सरकारले अपराध अनुसन्धान विभागमा सरुवा गरेको थियो। हाल राजन अधिकारी प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा र इश्वर कार्की मानवस्रोत विभागमा छन्।

अडिओको आधिकारिकता पुष्टि भएको छैन
केसीले आईजीपी कार्की र एआईजी राजन अधिकारीलाई विवादमा तान्न बिचौलियासँग संवाद गरेको अडिओ सार्वजनिक गराएको आरोप पनि उनीमाथि लागेको छ। तर सार्वजनिक भएको अडिओको आधिकारिकता परीक्षण भइसकेको छैन। त्यसैले अडिओमा सुनिएको आवाज, संवादको पूर्ण सन्दर्भ र त्यसको प्रामाणिकताबारे निष्कर्ष निकाल्नुअघि प्राविधिक परीक्षण आवश्यक देखिन्छ।

एआईजी केसी र भण्डारीबीच भएको संवादको अडिओले पनि प्रहरी नेतृत्व परिवर्तनको सूचना कसरी र कुन तहबाट प्रवाह भइरहेको थियो भन्ने प्रश्न उठाएको छ। तर अडिओमा सुनिएका कुराकानीका आधारमा मात्रै कुनै अधिकारीले नेतृत्व परिवर्तन गराउन चलखेल गरेको वा बाह्य व्यक्तिसँग मिलेर काम गरेको निष्कर्ष निकाल्न सकिँदैन।

पूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी भने प्रहरी संगठनमा नेतृत्वविरुद्ध दोस्रो वरीयताका अधिकारी सक्रिय हुने प्रवृत्ति नयाँ नभएको बताउँछन्। ‘नेपाल प्रहरीमा यस्तो पहिल्यैबाट हुने गरेको हो। अहिले मनोज केसीले मात्रै गरेको होइन। अरू प्रहरी अधिकारीहरूले पनि यही बेला मौका छोपेका हुन्छन्। प्रहरीभित्रबाट भन्दा पनि बाहिरबाट भइरहेको चलखेल झन् डरलाग्दो छ। सत्ताले प्रहरीलाई दुरुपयोग गर्न नेतृत्वलाई दबाबमा राख्न यस्तो भइरहेको देखिन्छ,’ मल्लले भने।

प्रहरी नेतृत्वभित्रको असन्तुष्टि, पीसीसी बैठकमा भएको चर्काचर्की, इनम सापकोटासँगको संवाद र आईजीपीको सम्भावित राजीनामाबारे बाह्य व्यक्तिले एआईजीलाई दिएको सूचनाले संगठनको आन्तरिक शक्ति संघर्षलाई सार्वजनिक बहसमा ल्याएको छ।

प्रश्न अब कार्की र केसीबीचको व्यक्तिगत खटपटमा मात्रै सीमित छैन। प्रहरी नेतृत्वसँग सम्बन्धित संवेदनशील सूचना बाह्य व्यक्तिसम्म कसरी पुगिरहेको छ ? संगठनभित्रका अधिकारीहरूबीचको अविश्वास र आरोप–प्रत्यारोपले प्रहरीको निर्णय प्रक्रिया कति प्रभावित भइरहेको छ ? र प्रहरी संगठनभित्रको शक्ति संघर्षमा बाह्य राजनीतिक तथा व्यावसायिक स्वार्थको भूमिका छ कि छैन ? यी प्रश्नको जवाफ आधिकारिक छानबिन र तथ्यमा आधारित स्पष्टीकरणबाट आउनुपर्ने देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट