सोलुखुम्बुमा दुई हेलिकप्टर एकै पटक अबतरण गर्न खोज्दा ठोक्किएर भारतीय नागरिकको मृत्यु, एक घाइते
सोलुखुम्बु– सोलुखुम्बुको खुम्बु क्षेत्रमा अवतरण गर्ने क्रममा दुईवटा हेलिकप्टर एकापसमा ठोक्किँदा भारतीय नागरिकको मृत्यु भएको छ भने न्युजिल्यान्डका एक नागरिक घाइते भएका छन्।
खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचे हेलिप्याडमा मंगलबार बिहान भएको दुर्घटनामा एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकप्टर ठोक्किएका हुन्। दुर्घटनामा एयर डाइनेस्टीको ९एन–एओडी र फिस्टेल एयरको ९एन–एजेआर कलसाइन भएका हेलिकप्टर संलग्न थिए।
प्राप्त विवरणअनुसार दुवै हेलिकप्टर लुक्लाबाट उडान भरेर फेरिचेमा अवतरण गर्ने क्रममा आपसमा ठोक्किएका थिए। दुर्घटनामा फिस्टेल एयरको हेलिकप्टरमा सवार दुई विदेशी नागरिकमध्ये भारतीय नागरिकको मृत्यु भएको हो। सोही हेलिकप्टरमा रहेका न्युजिल्यान्डका नागरिक घाइते भएका छन्।
घाइतेलाई उद्वार गरी लुक्ला पु¥याइएको थियो। थप उपचारका लागि उनलाई काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पताल ल्याउने तयारी भइरहेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार दुर्घटना मंगलबार बिहान ८ बजेर ११ मिनेटमा भएको हो। प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर मौसम तामाङले एक विदेशी नागरिकको मृत्यु भएको र अर्का एक यात्रु घाइते भएको पुष्टि गरेका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार प्रारम्भिक जानकारीमा अवतरणका क्रममा दुवै हेलिकप्टरका रोटर एकापसमा ठोक्किएका थिए।
दुवै हेलिकप्टरमा सवार अन्य यात्रु तथा चालक दलका सदस्यहरूको अवस्थाबारे थप विवरण संकलन भइरहेको छ। दुर्घटनाको वास्तविक कारण र हेलिकप्टरहरू कसरी एकापसमा ठोक्किए भन्ने विषय प्राविधिक अनुसन्धानपछि मात्रै खुल्नेछ।
सगरमाथा क्षेत्रको खुम्बुमा पर्यटक उद्धार तथा ओसारपसारका लागि हेलिकप्टरको नियमित प्रयोग हुँदै आएको छ। दुर्गम हिमाली क्षेत्रमा भएको यो दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

