सिरहामा चकलेट दिएर साढे ३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

लहान– बालबालिकाको भविष्य निर्माण गर्ने जिम्मेवारी बोकेको विद्यालयकै एक शिक्षक साढे तीन वर्षीया बालिकामाथि यौन हिंसा गरेको आरोपमा पक्राउ परेका छन्। अझ गम्भीर पक्ष, आरोपी पक्राउ परिसकेपछि पनि पीडित परिवारलाई जाहेरी फिर्ता लिन आर्थिक प्रलोभन र धम्की दिइरहेको आरोप छ।

सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलस्थित विश्वशान्ति एकेडेमीमा कार्यरत करिब २५ वर्षीय सौगात लुइँटेललाई प्रहरीले जबर्जस्ती करणीसम्बन्धी कसुरमा पक्राउ गरेको हो। उनी विद्यालयको दैनिक प्रशासनिक जिम्मेवारीसमेत सम्हाल्दै अध्यापन गराउँदै आएका थिए।

पीडित परिवारले प्रहरीमा दिएको जाहेरीअनुसार आरोपीले गत कात्तिक ८ देखि १२ गतेसम्म विद्यालयको टिफिन समयमा बालिकालाई कार्यालयमा लगेर चकलेट दिँदै पटकपटक यौन दुव्र्यवहार गरेका थिए।

परिवारका अनुसार बालिकाले सुरुमा आफूले भोगेको घटनाबारे बताउन सकेकी थिइनन्। पिसाब गर्न गाह्रो हुने र संवेदनशील अंगमा घाउ देखिने समस्या देखिएपछि परिवारले सुरुमा छालासम्बन्धी समस्या हुन सक्ने ठानेको थियो।

केही दिन विद्यालय नपठाउँदा समस्या कम हुने तर पुनः विद्यालय पठाउँदा दोहोरिने गरेको आफन्तको भनाइ छ। गत कात्तिक १७ गते बालिकालाई अस्पताल पु¥याएर स्वास्थ्य परीक्षण गराउँदा स्वास्थ्यकर्मीले यौन हिंसाको आशंका व्यक्त गरेपछि परिवारले बालिकासँग सोधपुछ गरेको थियो।

त्यसक्रममा बालिका रुँदै शिक्षकले आफूमाथि दुर्व्यवहार गरेको बताएकी थिइन्। त्यसपछि परिवारले प्रहरीमा जाहेरी दिएको थियो। प्रहरीले गत मंगलबार लुइँटेललाई पक्राउ गरी सिरहा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।

पीडित बालिकाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण र उपचार गराइ परिवारको जिम्मा लगाइएको सिरहा प्रहरीले जनाएको छ। सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले पीडित परिवारको जाहेरी दर्ता गरी घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

तर आरोपी पक्राउ परेपछि पनि पीडित परिवारको तनाव सकिएको छैन। विद्यालय सञ्चालकले केही राजनीतिक दलका नेतामार्फत जाहेरी फिर्ता लिन दबाब दिइरहेको र आर्थिक प्रलोभनसमेत देखाइएको पीडित परिवारको गुनासो छ।

पीडितकी एक आफन्तका अनुसार घटना सार्वजनिक भएपछि र प्रहरीमा किटानी जाहेरी दर्ता भइसकेपछि पनि आरोपीलाई जोगाउन विभिन्न प्रयास भइरहेका छन्। परिवारको आरोपमा, राजनीतिक पहुँच प्रयोग गरेर घटनालाई मिलाउन खोजिएको छ। आर्थिक प्रलोभनसँगै धम्कीसमेत दिइएको उनीहरूको दाबी छ।

अब यो घटनामा प्रहरी अनुसन्धानले आरोपको सत्यता र जिम्मेवार व्यक्तिको भूमिका स्थापित गर्नुपर्नेछ। त्योसँगै पीडित परिवारमाथि दबाब र धम्की दिइएको हो भने त्यसको समेत निष्पक्ष छानबिन हुन आवश्यक छ।

बालबालिका सुरक्षित हुनुपर्ने विद्यालयमै भएको यो घटनामा न्याय माग्ने परिवार नै दबाबमा परेको हो भने प्रश्न आरोपी शिक्षकमा मात्रै सीमित रहँदैन, विद्यालय व्यवस्थापन र प्रभाव प्रयोग गर्ने भनिएका व्यक्तिहरूसम्म पुग्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट