भारतबाट पटाका तस्करी रोक्न प्रहरीको दौडधुप, व्यापारी पछ्याउँदा मोटरसाइकल दुर्घटनामा परी सई घाइते

विराटनगर– भारतबाट लुकिछिपी पटाका भित्र्याउने क्रम रोक्न खटिएको प्रहरी टोली नै दुर्घटनामा परेको छ। सुनसरीमा भारतबाट पटाका बोकेर आउँदै गरेको स्कुटरलाई नियन्त्रणमा लिन पछ्याउने क्रममा प्रहरीको मोटरसाइकल दुर्घटनामा पर्दा एक प्रहरी सहायक नायव निरीक्षक (सई) घाइते भएका छन्।

शुक्रबार दिउँसो करिब ४ बजे सुनसरीको बर्जु गाउँपालिका–२ स्थित बनरुवा घाटमा भएको दुर्घटनामा सई रामकुमार माझी घाइते भएका हुन्। पटाका बोकेको स्कुटरलाई पछ्याउने क्रममा उनी सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

झापाको कनकाई नगरपालिका–९ घर भएका ३६ वर्षीय माझी प्रहरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र सुनसरीमा दरबन्दी भई हाल प्रहरी चौकी अमडुवामा कार्यरत थिए।

दुर्घटनामा उनको दाहिने काँधको हड्डी भाँचिएको छ। घाइते माझीलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको छ। सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार उनको अवस्था सामान्य छ।

प्रहरीले पछ्याएको स्कुटरमा भने भारतबाट ल्याइएका विभिन्न प्रकारका पटाका फेला परेका छन्। को २८ प २६७६ नम्बरको स्कुटरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्कुटर चालक मोरङको बूढीगंगा गाउँपालिका–३ का १७ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ। उनको साथबाट विभिन्न प्रकारका पटाका बरामद भएको छ।

प्रहरीका अनुसार किशोरले ती पटाका भारतबाट ल्याएका थिए। बरामद पटाका र किशोरमाथि थप अनुसन्धान भइरहेको छ।

सीमावर्ती क्षेत्रबाट पटाका भित्र्याउने प्रयास भइरहेको यो घटनाले चाडपर्व तथा उत्सवका समयमा प्रतिबन्धित विस्फोटक सामग्रीको ओसारपसार नियन्त्रणमा चुनौती रहेको देखाएको छ। स्कुटरमा पटाका बोकेर आएका किशोरको भूमिका, पटाकाको स्रोत र यसको गन्तव्यबारे अनुसन्धानबाट थप तथ्य खुल्न बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट