एनभिडियाका सीईओको प्रेम सम्बन्धले विश्व हल्लायो, चिनियाँ जासुसीको आशंकाले जागिरदेखि अमेरिकी सुरक्षासम्म संकटमा जेन्सेन !

काठमाडौँ– विश्वकै शक्तिशाली प्रविधि कम्पनीमध्ये एक एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङ अहिले आफ्नै निजी सम्बन्धका कारण अन्तर्राष्ट्रिय विवादको केन्द्रमा पुगेका छन्। चीनको जासुसी गतिविधिसँग जोडिएको आशंका गरिएकी एक महिलासँगको कथित प्रेम सम्बन्धले उनको व्यक्तिगत जीवनदेखि कम्पनीको नेतृत्व, अर्बौं डलरको व्यापार र अमेरिकी राष्ट्रिय सुरक्षासम्म प्रश्न उठाएको छ।

कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिका लागि आवश्यक अत्याधुनिक चिप उत्पादन गर्ने एनभिडियाका प्रमुख ह्वाङमाथि आफ्नै कम्पनीको सञ्चालक समितिले स्वतन्त्र अनुसन्धान थालेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत यस विषयमा ह्वाङसँग कुराकानी गरेको र उनी ती महिला चिनियाँ जासुस भएकोबारे अनभिज्ञ रहेको बताएको जानकारी दिएका छन्। ट्रम्पले ह्वाङको बचाउ गरे पनि अनुसन्धानको विषय अब अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) सम्म पुगेको छ।

विवादको अर्को पक्ष झन् गम्भीर छ। एनभिडियाका सेयरधनीले कम्पनी र ह्वाङविरुद्ध लगानीकर्तालाई महत्वपूर्ण सूचना लुकाएको आरोपमा मुद्दा दायर गरेका छन्। कम्पनीको सेयर मूल्य घटेपछि लगानीकर्ताको अर्बौं डलर बराबरको बजार सम्पत्ति प्रभावित भएको छ।

६३ वर्षीय ह्वाङले भने पत्नीलाई धोका दिएको स्वीकार गर्दै परिवार र कम्पनीका कर्मचारीसँग माफी मागेका छन्। उनले कम्पनीको अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्। तर, उनको कथित सम्बन्ध कुनै विदेशी गुप्तचर गतिविधिको हिस्सा थियो वा थिएन भन्ने प्रश्नको उत्तर अझै अनुसन्धानकै विषय बनेको छ।

को हुन् विवादको केन्द्रमा रहेकी एलिस ह्वाङ ?
यो प्रकरणको केन्द्रमा रहेकी महिला एलिस ह्वाङ हुन्। उनी सिंगापुरमा मुख्यालय रहेको डेटा सेन्टर कम्पनी मेगास्पिड इन्टरनेसनलकी पूर्वप्रमुख कार्यकारी अधिकृत हुन्। उनको एनभिडियाका सीईओ जेन्सेन ह्वाङसँग कुनै पारिवारिक सम्बन्ध छैन।

अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सको रिपोर्टअनुसार अमेरिकी गुप्तचर निकायहरूले एलिसलाई चीनका लागि सूचना संकलन गर्ने व्यक्तिका रूपमा पहिचान गरेको दाबी गरिएको छ। उनीसँग जेन्सेनको निकट सम्बन्ध रहेको र त्यसबाट एनभिडियाको संवेदनशील प्रविधि तथा सूचनामा पहुँचको सम्भावना सिर्जना भएको आशंका गरिएको छ।

तर, एलिस वास्तवमै चिनियाँ गुप्तचरका लागि काम गर्थिन् कि गर्दिनथिन् भन्ने विषय सार्वजनिक रूपमा प्रमाणित भइसकेको छैन। चीनले पनि आफूमाथि लगाइएको जासुसीको आरोप अस्वीकार गरेको छ। ह्वाङले आफ्नो कर्मचारीलाई पठाएको सन्देशमा विवाहेत्तर सम्बन्ध राखेको स्वीकार गरेका छन्। उनले पत्नी र छोराछोरीलाई चोट पु¥याएको भन्दै दुःख व्यक्त गरेका छन्। तर उक्त सन्देशमा एलिसको नाम उल्लेख गरेका छैनन्।

ह्वाङले कम्पनीका कर्मचारीलाई लेखेका छन्, ’मैले पत्नीप्रति बेइमानी गरेँ। मेरा कारण उनलाई र हाम्रा छोराछोरीलाई चोट पुगेको छ। म यसका लागि गहिरो दुःखी छु।’ उनले आफ्नो व्यक्तिगत व्यवहारले सहकर्मीहरूको विश्वासमा समेत असर पारेको स्वीकार गर्दै कम्पनीको अनुसन्धानलाई समर्थन गर्ने बताएका छन्।

प्रेम सम्बन्ध कसरी बन्यो राष्ट्रिय सुरक्षाको विषय ?
सामान्यतया कुनै कम्पनीका प्रमुखको विवाहेत्तर सम्बन्ध व्यक्तिगत जीवनसँग जोडिएको विषय मानिन्छ। तर एनभिडियाको हकमा यो विवाद केवल पारिवारिक सीमाभित्र रहेन। यसको कारण कम्पनीले उत्पादन गर्ने प्रविधि र अमेरिका–चीनबीचको रणनीतिक प्रतिस्पर्धा हो।

एनभिडिया अहिले एआई प्रविधिका लागि आवश्यक उच्च क्षमताका ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) उत्पादन गर्ने विश्वकै प्रमुख कम्पनी हो। उसका चिपहरू ठूला डेटा सेन्टर, कृत्रिम बुद्धिमत्ता मोडल, सुपरकम्प्युटर र अत्याधुनिक सैन्य तथा अनुसन्धान प्रणालीमा समेत प्रयोग हुन सक्छन्।

अमेरिकाले चीनलाई अत्याधुनिक सेमिकन्डक्टर प्रविधिमा पहुँच सीमित गर्न निर्यात नियन्त्रण लागू गर्दै आएको छ। वासिङ्टनको चिन्ता के हो भने चीनले अमेरिकी प्रविधिको उपयोग गरेर आफ्नै एआई क्षमता र सैन्य प्रविधि तीव्र गतिमा विकास गर्न सक्छ। यही संवेदनशील अवस्थामा एनभिडियाको उच्च नेतृत्वसँग निकट सम्बन्ध राख्ने व्यक्तिमाथि चिनियाँ गुप्तचर गतिविधिमा संलग्न भएको आशंका उठेपछि अमेरिकी सुरक्षा निकायको चासो बढेको हो।

अमेरिकी गुप्तचर निकायहरूको दाबीअनुसार एलिसले बेइजिङका लागि सूचना संकलन गरेको आशंका छ। यदि उनले ह्वाङसँगको सम्बन्धका कारण कम्पनीको गोप्य सूचना, प्रविधिगत योजना, व्यापारिक रणनीति वा अमेरिकी प्रशासनसँग सम्बन्धित संवेदनशील जानकारी प्राप्त गरेकी थिइन् भने त्यसले गम्भीर सुरक्षा जोखिम निम्त्याउन सक्थ्यो। तर, अहिलेसम्म एनभिडियाको गोप्य सूचना वा अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी विवरण बाहिरिएको प्रमाण सार्वजनिक भएको छैन। कम्पनीको सञ्चालक समितिले पनि हालसम्म त्यस्तो कुनै प्रमाण फेला नपरेको जनाएको छ।

मेगास्पिड र चीनसम्म पुग्न सक्ने एनभिडियाका चिप
यस प्रकरणमा मेगास्पिड कम्पनीको भूमिका पनि अनुसन्धानको महत्वपूर्ण पक्ष बनेको छ। एलिस ह्वाङ उक्त कम्पनीको नेतृत्वमा रहँदा एनभिडियाका अत्याधुनिक चिप खरिदसँग सम्बन्धित कारोबार भएको थियो।

द न्युयोर्क टाइम्सका अनुसार मेगास्पिडले पछिल्ला दुई वर्षमा ४ अर्ब ८० करोड डलरभन्दा बढी मूल्यका एनभिडिया चिप खरिद गरेको थियो। उक्त कम्पनीमाथि अमेरिकी निर्यात प्रतिबन्धमा परेका चिप चीनसम्म पु¥याउन भूमिका खेलेको आशंका पनि गरिएको छ। कम्पनीले भने आफ्ना कारोबार गैरकानुनी नभएको दाबी गर्दै आएको छ।

अमेरिकी प्रशासनले चीनलाई अत्याधुनिक एआई चिपको पहुँचबाट टाढा राख्न खोजिरहेको अवस्थामा ठूलो परिमाणमा चिप खरिद गर्ने कम्पनीकी पूर्वप्रमुखसँग एनभिडियाका सीईओको निकट सम्बन्ध रहेको खबरले थप प्रश्न जन्माएको हो। मुख्य प्रश्न एलिसले ह्वाङमार्फत एनभिडियाको प्रविधि वा गोप्य जानकारीमा विशेष पहुँच प्राप्त गरेकी थिइन् कि थिइनन् भन्ने हो। यदि पहुँच प्राप्त गरेकी थिइन् भने त्यसको प्रयोग कसरी भयो र त्यस्तो जानकारी चीनसम्म पुग्यो कि पुगेन भन्ने विषय अनुसन्धानको दायरामा छ।

ट्रम्पले गरे ह्वाङको बचाउ, एफबीआई अनुसन्धानमा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाङसँग आफैँ कुराकानी गरेको खुलासा गरेका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले ती महिलाको कथित जासुसी सम्बन्धबारे ह्वाङसँग सोधेको बताएका थिए। ट्रम्पका अनुसार ह्वाङले आफूलाई ती महिला जासुस भएको कुनै जानकारी नरहेको बताएका थिए।

‘मैले उनलाई सोधेँ– ती महिला जासुस हुन् भन्ने तपाईंलाई थाहा थियो ? उनले मलाई आफूलाई कुनै जानकारी नभएको बताए। म उनको कुरामा विश्वास गर्छु,’ ट्रम्पले भनेका छन्। ट्रम्पले ह्वाङलाई असल र इमानदार व्यक्ति भन्दै उनको प्रविधिगत योगदानको प्रशंसासमेत गरेका छन्। एनभिडियाको अत्याधुनिक ब्ल्याकवेल चिप प्रविधिको जटिलता र क्षमताको चर्चा गर्दै उनले अन्य कम्पनीका लागि त्यसको नक्कल गर्न कठिन रहेको बताएका थिए।

तर, ट्रम्पको बचाउले अनुसन्धान रोकिने संकेत देखिएको छैन। उनले पत्रकारहरूसँग एफबीआईले पनि यस विषयमा अनुसन्धान गरिरहेको जानकारी दिएका छन्। ट्रम्पले ह्वाङको व्यक्तिगत जीवनमा विवाद उत्पन्न भएको स्वीकार गरे पनि अमेरिकी राष्ट्रिय सुरक्षामा वास्तविक क्षति पुगेको प्रमाण आफूले नदेखेको बताएका छन्।

एनभिडियाको सञ्चालक समितिद्वारा स्वतन्त्र छानबिन
ह्वाङसँग जोडिएको विवाद सार्वजनिक भएपछि एनभिडियाको सञ्चालक समितिले घटनाको स्वतन्त्र अनुसन्धान गर्ने निर्णय गरेको छ। कम्पनीले ह्वाङ विदेशी गुप्तचर गतिविधिको निशानामा परेका थिए कि थिएनन् र त्यसक्रममा कम्पनीका गोप्य सूचना तथा प्रविधिमा कुनै जोखिम उत्पन्न भयो कि भएन भन्ने विषय जाँच गरिरहेको छ।

कम्पनीका प्रवक्ताले अहिलेसम्म अमेरिकी राष्ट्रिय सुरक्षा वा एनभिडियाको गोप्य जानकारीमा सम्झौता भएको विश्वास गर्ने कुनै आधार नरहेको बताएका छन्। ह्वाङले पनि अनुसन्धानमा पूर्ण सहयोग गर्ने र अनुसन्धान अवधिभर सीईओको जिम्मेवारी निरन्तर सम्हाल्ने प्रतिबद्धता जनाएका छन्। कम्पनीले उनको नेतृत्वमा कुनै अवरोध नआउने संकेतसमेत दिएको छ। तर अनुसन्धानको निष्कर्षले उनको व्यावसायिक प्रतिष्ठा र कम्पनीको नेतृत्वमाथि कस्तो प्रभाव पार्छ भन्ने विषय महत्वपूर्ण बनेको छ।

सेयरधनी अदालत पुगे, एकै दिन १९० अर्ब डलरको बजार मूल्य घट्यो
विवादको आर्थिक प्रभाव पनि देखिन थालेको छ। एनभिडिया र ह्वाङविरुद्ध कम्पनीका सेयरधनीहरूले अमेरिकाको क्यालिफोर्नियास्थित संघीय अदालतमा सामूहिक मुद्दा दायर गरेका छन्।

सेयरधनीहरूको आरोपअनुसार कम्पनी र त्यसका प्रमुखले ह्वाङको कथित सम्बन्ध तथा त्यससँग जोडिएका सम्भावित राष्ट्रिय सुरक्षा जोखिमबारे लगानीकर्तालाई आवश्यक जानकारी दिएनन्। महत्वपूर्ण सूचना लुकाएर कम्पनीको वास्तविक अवस्था र व्यावसायिक जोखिमबारे भ्रम सिर्जना गरिएको उनीहरूको दाबी छ।

मार्क किस्टेनमाकरको नेतृत्वमा दायर गरिएको मुद्दामा कम्पनी र ह्वाङले लगानीकर्तालाई भ्रमित पारेको आरोप लगाइएको छ। उनीहरूले क्षतिपूर्तिसमेत माग गरेका छन्। नियमित कारोबारका क्रममा एनभिडियाको सेयर मूल्य ४.३ प्रतिशतले घटेको थियो। यससँगै कम्पनीको बजार पुँजीकरणबाट करिब १९० अर्ब अमेरिकी डलर बराबरको मूल्य घटेको विभिन्न वित्तीय रिपोर्टमा उल्लेख छ।

सेयर बजारमा देखिएको गिरावटले यो विवाद व्यक्तिगत प्रतिष्ठाको विषयमा मात्र सीमित नरहेको देखाएको छ। एनभिडियाको नेतृत्वमाथि उठेका प्रश्नले लगानीकर्ताको विश्वास र कम्पनीको भविष्यसँग समेत सम्बन्ध राख्न थालेका छन्।

चीनको कडा प्रतिक्रिया : ‘बदनाम गर्ने प्रयास’
अमेरिकी सञ्चारमाध्यममा चिनियाँ जासुसीको आशंका सार्वजनिक भएपछि चीनले त्यसलाई अस्वीकार गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले एनभिडियाका सीईओसँग जोडिएको कथित जासुसी प्रकरणबारे प्रतिक्रिया दिँदै ती समाचारलाई आधारहीन आशंका र चीनलाई बदनाम गर्ने प्रयासको संज्ञा दिएका छन्।

चीनले आफ्नो देशले एनभिडियाका प्रमुखलाई लक्षित गरी कुनै गुप्तचर गतिविधि सञ्चालन गरेको भन्ने आरोपलाई अस्वीकार गरेको छ। यसरी अमेरिकामा अनुसन्धान अघि बढिरहेका बेला चीनले आरोप अस्वीकार गरेपछि यो प्रकरण दुई देशबीचको प्रविधिगत प्रतिस्पर्धा र कूटनीतिक सम्बन्धसँग पनि जोडिएको छ।

के गुमाउलान् जेन्सेनले एनभिडियाको नेतृत्व ?
एनभिडियालाई आजको अवस्थामा पुर्‍याउने प्रमुख व्यक्तिका रूपमा जेन्सेन ह्वाङ चिनिन्छन्। उनले तीन दशकभन्दा बढी समयदेखि कम्पनीको नेतृत्व गर्दै आएका छन्। गेमिङका लागि ग्राफिक्स चिप उत्पादन गर्ने कम्पनीलाई एआई युगको सबैभन्दा प्रभावशाली प्रविधि कम्पनीमध्ये एक बनाउने यात्रामा उनको निर्णायक भूमिका छ।

उनकै नेतृत्वमा एनभिडियाका चिपहरू विश्वभरका डेटा सेन्टर र एआई अनुसन्धानको आधार बनेका छन्। कम्पनीको बजार मूल्य र विश्वव्यापी प्रभाव विस्तार हुनुमा पनि उनको रणनीतिक निर्णय महत्वपूर्ण मानिन्छ। त्यसैले ह्वाङमाथिको विवादले कम्पनीको नेतृत्व निरन्तरताबारे पनि प्रश्न उठाएको छ। यद्यपि, कम्पनीले उनलाई तत्काल पदबाट हटाउने निर्णय गरेको छैन। बरु अनुसन्धान जारी रहँदा पनि उनी सीईओका रूपमा काम गरिरहने स्पष्ट पारेको छ।

ह्वाङले आफ्ना कर्मचारीलाई लेखेको सन्देशमा व्यक्तिगत गल्ती स्वीकार गर्दै कम्पनी र देशप्रतिको प्रतिबद्धता दोहो¥याएका छन्। उनले एनभिडियाको सुरक्षा र अमेरिकी राष्ट्रिय हितको संरक्षण आफ्नो प्राथमिकता रहेको बताएका छन्। तर, अनुसन्धानले एलिस ह्वाङसँगको सम्बन्ध र सम्भावित गुप्तचर गतिविधिबीच कुनै सम्बन्ध देखाउँछ कि देखाउँदैन भन्ने विषयले उनको भविष्य निर्धारण गर्न सक्छ।

हनी ट्रयापको आशंकादेखि एआईको विश्वशक्तिसम्म
यो प्रकरणको सबैभन्दा संवेदनशील पक्ष भनेको निजी सम्बन्धलाई सम्भावित विदेशी गुप्तचर गतिविधिसँग जोडेर हेरिनु हो। कुनै प्रभावशाली व्यक्तिसँग प्रेम वा यौन आकर्षणका माध्यमबाट निकटता बढाई गोप्य सूचना प्राप्त गर्ने रणनीतिलाई सामान्यतः ‘हनी ट्रयाप’ भनिन्छ।

यस्तो रणनीति गुप्तचर गतिविधिमा प्रयोग हुन सक्ने भए पनि ह्वाङको हकमा एलिसले योजनाबद्ध रूपमा उनलाई जालमा पारेकी थिइन् भन्ने कुरा अहिलेसम्म प्रमाणित भएको छैन। तर, विश्वकै अत्याधुनिक एआई चिप उत्पादन गर्ने कम्पनीको प्रमुखसँग जोडिएको सम्बन्धमा विदेशी गुप्तचरको आशंका उठ्नु आफैँमा अमेरिकी सुरक्षा निकायका लागि गम्भीर चासोको विषय बनेको छ।

अमेरिका र चीनबीच एआई प्रविधिमा प्रभुत्व जमाउने प्रतिस्पर्धा तीव्र भइरहेका बेला एनभिडियाको भूमिका सामान्य व्यावसायिक कम्पनीको भन्दा निकै ठूलो छ। उसका चिपमा विश्वका ठूला प्रविधि कम्पनी, अनुसन्धान संस्था र रणनीतिक क्षेत्र निर्भर छन्। यस्तो अवस्थामा कम्पनीको नेतृत्वसँग जोडिएको कुनै पनि सम्भावित सुरक्षा जोखिमलाई सामान्य निजी विवादका रूपमा मात्र हेर्न सकिँदैन।

अहिले ह्वाङका लागि सबैभन्दा ठूलो चुनौती आफ्नो पारिवारिक सम्बन्धमा आएको संकटभन्दा पनि कम्पनीको प्रतिष्ठा, लगानीकर्ताको विश्वास र अमेरिकी सुरक्षा निकायको आशंकालाई सम्बोधन गर्नु बनेको छ।

एकातिर ट्रम्पले उनको बचाउ गरेका छन्, अर्कोतिर कम्पनीको सञ्चालक समितिले अनुसन्धान गरिरहेको छ र सेयरधनी अदालत पुगेका छन्। चीनले आरोप अस्वीकार गरेको छ भने एफबीआईको अनुसन्धानबारे पनि अमेरिकी राष्ट्रपतिले सार्वजनिक जानकारी दिएका छन्।

अब अनुसन्धानले एलिस ह्वाङको वास्तविक भूमिका, जेन्सेन ह्वाङसँगको सम्बन्ध र एनभिडियाको संवेदनशील सूचनामा कुनै जोखिम पुगेको थियो वा थिएन भन्ने प्रश्नको जवाफ दिनुपर्नेछ। त्यसको निष्कर्षले जेन्सेनको व्यक्तिगत प्रतिष्ठा मात्र होइन, विश्व एआई उद्योगको नेतृत्व र अमेरिका–चीन प्रविधि प्रतिस्पर्धामा समेत प्रभाव पार्न सक्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट