पत्नी हत्या मुद्दामा नरेश भट्टको सनसनीपूर्ण खुलासा : ‘१३ वर्षमै माओवादीले अपहरण गरेर यौन दुर्व्यवहार गरे’
काठमाडौँ– अमेरिकामा पत्नी ममता भट्टको हत्या अभियोग खेपिरहेका नेपाली मूलका नरेश भट्टले अदालतमा आफ्नो बाल्यकालका पीडादायी अनुभव सार्वजनिक गरेका छन्। आफू १३–१४ वर्षको किशोरावस्थामा माओवादी विद्रोही समूहबाट अपहरणमा परेको र उनीहरूको नियन्त्रणमा रहँदा शारीरिक, यौन तथा मानसिक दुव्र्यवहार भोग्नुपरेको उनको दाबी छ।
अमेरिकाको भर्जिनियास्थित अदालतमा जारी सुनुवाइका क्रममा आफ्नै प्रतिरक्षामा साक्षीका रूपमा उपस्थित भएका नरेशले बाल्यकालमा भोगेको उक्त घटनाले अहिलेसम्म पनि आफ्नो मानसिक अवस्थामा असर पारिरहेको बताएका हुन्। ती घटनाबारे कुरा गर्दा अहिले पनि असहज महसुस हुने गरेको उनको भनाइ थियो।
नरेशका अनुसार माओवादी विद्रोही समूहले उनलाई अपहरण गरी दुईदेखि तीन साताभन्दा बढी समयसम्म नियन्त्रणमा राखेको थियो। त्यस अवधिमा आफूले विभिन्न प्रकारका दुव्र्यवहार भोगेको उनले अदालतमा सुनाए। प्रतिरक्षा पक्षले उनको मानसिक स्वास्थ्य र विगतका आघातलाई घटनासँग जोडेर प्रस्तुत गर्ने क्रममा यी प्रसंग अदालतसमक्ष आएका हुन्।
उनले बाल्यकालका अन्य पीडादायी घटनासमेत सुनाएका थिए। आफ्नी फुपूले आत्मदाह गरेको घटना देखेको र भाइ हराउँदा त्यसका लागि आफूलाई दोषी ठान्ने गरेको उनले बताए। बाल्यकालदेखि नै आफूले मानसिक रूपमा कठिन अनुभवहरू भोग्दै आएको देखाउन नरेशले यी घटनाको प्रसंग उठाएका थिए।
मनोवैज्ञानिकको मूल्याङ्कनमा पीटीएसडी
नरेशको प्रतिरक्षा पक्षले अदालतमा मनोवैज्ञानिक डा. ब्यारी रोजेनफेल्डलाई विशेषज्ञ साक्षीका रूपमा प्रस्तुत गरेको थियो। रोजेनफेल्डले नरेशको मनोवैज्ञानिक मूल्याङ्कनपछि उनी पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) बाट प्रभावित रहेको निष्कर्ष सुनाएका छन्।
पीटीएसडी गम्भीर आघातजन्य घटना भोगेपछि विकसित हुन सक्ने मानसिक स्वास्थ्यसम्बन्धी अवस्था हो। यस्तो अवस्थाका व्यक्तिमा विगतका पीडादायी घटनाको सम्झना बारम्बार आउने, दुःस्वप्न देखिने, निद्रामा समस्या हुने, सामान्य अवस्थामा पनि झस्किने र दोषबोध महसुस गर्नेजस्ता लक्षण देखिन सक्छन्।
मनोवैज्ञानिक रोजेनफेल्डले नरेशमा देखिएका लक्षण बढाइचढाइ गरिएको संकेत परीक्षणबाट नदेखिएको दाबी गरेका थिए। उनको पीटीएसडीसम्बन्धी निष्कर्षका लागि पर्याप्त आधार रहेको पनि उनले अदालतमा बताएका थिए।
नरेशले पत्नी ममताको शव भेटेपछि आफू अत्यन्त आत्तिएको, शरीर अनियन्त्रित रूपमा काँपेको र स्पष्ट रूपमा सोच्न नसकेको बयान दिएका छन्। रोजेनफेल्डका अनुसार पीटीएसडीबाट प्रभावित व्यक्तिमा गम्भीर तनावको अवस्थामा यस्तो प्रतिक्रिया देखिन सक्छ। त्यसबेला व्यक्तिले सामान्य अवस्थामा जस्तो स्पष्ट निर्णय गर्न नसक्ने सम्भावना पनि रहन्छ।
तर, मनोवैज्ञानिकले नरेशको व्यवहारका सबै पक्षलाई पीटीएसडीसँग जोडेर व्याख्या गर्न नसकिने स्पष्ट पारेका छन्। विशेषगरी ममताको शव टुक्र्याउने र विभिन्न ठाउँमा लगेर फाल्ने कार्यलाई पीटीएसडीले स्वतः व्याख्या नगर्ने उनको भनाइ थियो।
नरेशले घटनाका बेला वास्तवमा के सोचिरहेका थिए भन्ने कुरा आफूले मनोवैज्ञानिक परीक्षणबाट निश्चित गर्न नसक्ने र उनको बयान सत्य हो वा होइन भन्ने निर्णय गर्ने अधिकार जूरीको भएको पनि रोजेनफेल्डले बताएका थिए।
मानसिक स्वास्थ्यको अवस्था र कानुनी जिम्मेवारी फरक विषय
अदालतमा पीटीएसडीको प्रसंग उठ्नु नरेशको प्रतिरक्षा रणनीतिको महत्वपूर्ण पक्ष बनेको छ। प्रतिरक्षा पक्षले घटनाका बेला उनी गम्भीर मानसिक आघातको अवस्थामा रहेको र त्यसले सोच्ने तथा निर्णय गर्ने क्षमतामा असर पारेको तर्क गर्न खोजेको देखिन्छ।
तर, पीटीएसडीको निदान हुनु र कानुनी रूपमा अपराधको जिम्मेवारी लिन नसक्ने अवस्था हुनु एउटै कुरा होइन। भर्जिनियाको कानुनी व्यवस्थाअनुसार मानसिक रोगको निदान मात्रैका आधारमा अभियुक्तले आपराधिक जिम्मेवारीबाट उन्मुक्ति पाउँदैनन्।
मानसिक अस्वस्थताको प्रतिरक्षा स्थापित गर्न अपराध भएको समयमा अभियुक्तको मानसिक अवस्थाले आफ्नो कार्यको प्रकृति वा त्यसको गलतपन बुझ्ने क्षमतामा कस्तो असर पारेको थियो भन्ने कानुनी मापदण्ड पूरा हुनुपर्छ। त्यसैले नरेशमा पीटीएसडी रहेको मनोवैज्ञानिकको निष्कर्षले मात्रै हत्या अभियोगबाट छुटकारा पाउने अवस्था सिर्जना गर्दैन।
यद्यपि, मानसिक स्वास्थ्यसम्बन्धी प्रमाणले घटनाका बेला उनको व्यवहार र मानसिक अवस्थाबारे जूरीले मूल्याङ्कन गर्दा भूमिका खेल्न सक्छ। दोषी ठहर भएको अवस्थामा पनि यस्ता परिस्थितिले सजाय निर्धारणमा कस्तो प्रभाव पार्ने भन्ने प्रश्न उठ्न सक्छ। तर त्यसको परिणाम अदालतको निर्णयमा निर्भर हुनेछ।
ममताको मृत्यु आत्महत्याबाट भएको नरेशको दाबी
अदालतमा बयान दिने क्रममा नरेशले पत्नी ममताको मृत्यु हत्या नभई आत्महत्याका कारण भएको दाबी गरेका छन्। उनका अनुसार सन् २०२४ जुलाई ३० को बिहान घरको सुत्ने कोठामा ममतालाई अचेत अवस्थामा भेटेका थिए।
ममतालाई बचाउने प्रयास गरे पनि सफल नभएपछि आफू आत्तिएको उनको भनाइ छ। उनले त्यसपछि के गर्ने भन्नेबारे स्पष्ट निर्णय गर्न नसकेको दाबी गरेका छन्। तर, ममताको शव व्यवस्थापन गरेको तथ्य भने नरेशले अदालतमा स्वीकार गरेका छन्। उनले शवलाई टुक्र्याएर विभिन्न फोहोर फाल्ने ठाउँमा लगेर फालेको बयान दिएका छन्। पत्नी हराएको भन्दै प्रहरीलाई जानकारी गराएका उनले यसअघि ममताको अवस्थाबारे आफूलाई जानकारी नभएको बताएका थिए।
यही घटनाक्रम नरेशविरुद्धको अभियोगमा महत्वपूर्ण प्रश्न बनेको छ। ममताको मृत्यु कसरी भयो, शव टुक्र्याएर विभिन्न ठाउँमा किन फालियो र त्यसबेला नरेशको वास्तविक मानसिक अवस्था कस्तो थियो भन्ने विषयमा अभियोजन र प्रतिरक्षा पक्षका तर्क तथा प्रमाणलाई अदालतले मूल्याङ्कन गर्नुपर्नेछ।
नरेशले आफूले पत्नीको हत्या नगरेको दाबी गर्दै आएका छन्। प्रतिरक्षा पक्षले उनको बाल्यकालको आघात र पीटीएसडीलाई अदालतमा प्रस्तुत गरिरहेको छ भने शव टुक्र्याएर फालिएको घटनाले उनको बयान र व्यवहारमाथि थप प्रश्न खडा गरेको छ। अन्ततः नरेश दोषी हुन् वा होइनन् भन्ने निर्णय अदालतको प्रमाण मूल्याङ्कन र जूरीको निष्कर्षबाट हुनेछ।
अदालतमा बाल्यकालको पीडा मात्रै होइन, वैवाहिक सम्बन्धका विषय पनि उठे
सुनुवाइका क्रममा नरेशले पत्नी ममतासँगको सम्बन्ध पछिल्ला महिनाहरूमा राम्रो नरहेको स्वीकार गरेका छन्। दुवैबीच एकअर्काप्रति राम्रो व्यवहार हुन छाडेको उनको भनाइ थियो। तर आफूले ममतामाथि कहिल्यै शारीरिक हिंसा नगरेको उनले दाबी गरेका छन्।
यसको विपरीत, अभियोजन पक्षले ममतामाथि घरेलु हिंसा भएको दाबीलाई समर्थन गर्ने प्रमाण प्रस्तुत गरेको छ। ममताका दाई महेश काफ्लेले अदालतमा बयान दिँदै बहिनीले मृत्यु हुनुभन्दा केही महिनाअघि आँखामा चोट लागेको जस्तो देखिने तस्बिर आफूलाई पठाएको बताएका थिए। महेशका अनुसार ममताले उक्त चोट नरेशबाट लागेको बताएकी थिइन्।
त्यस्तै, नरेशका एक पारिवारिक साथीले ममता हराएको केही सातापछि उनले ममताका गहना र आफ्नो विवाहको औँठीसमेत आफूलाई दिएको बयान दिएका थिए।
शव नभेटिए पनि अभियोजन पक्षले पेस गर्यो फरेन्सिक प्रमाण
यस प्रकरणमा ममताको शव अहिलेसम्म फेला परेको छैन। त्यसैले अभियोजन पक्षले घटनास्थलबाट प्राप्त रगत, डीएनए, विद्युतीय आरा, निगरानी क्यामेराका दृश्य तथा अन्य परिस्थितिजन्य प्रमाणलाई महत्व दिएको छ।
फरेन्सिक विज्ञले दम्पतीको सुत्ने कोठाको कार्पेटमा भेटिएको अधिकांश रगत ममताकै भएको सम्भावना अत्यन्त बलियो रहेको अदालतमा बताएका छन्। कार्पेटको तल्लो भागमा रगत भेटिनु तर माथिल्लो भागमा अपेक्षित दाग नदेखिनुले कार्पेट सफा गरिएको हुन सक्ने संकेत पनि विज्ञले गरेका थिए।
त्यस्तै, ममताको रगत विद्युतीय आरामा भेटिएको डीएनए तथा रगतको नमुनासँग मिल्ने सम्भावना अत्यन्त बलियो रहेको फरेन्सिक विश्लेषणमा उल्लेख गरिएको छ। अभियोजन पक्षका अनुसार नरेशले ममताको मृत्यु हुनुभन्दा केही महिनाअघि नै उक्त आरा खरिद गरेका थिए।
छिमेकका सीसीक्यामेरामा नरेशले पञ्जा लगाएर विभिन्न फोहोर फाल्ने स्थानमा झोला पुर्याएको दृश्यसमेत अभियोजन पक्षले अदालतमा प्रस्तुत गरेको थियो।
अभियोजन पक्षको प्रश्नमा नरेशले स्वीकारे—‘मैले झुट बोलेको थिएँ’
नरेशको पछिल्लो बयान यसअघि प्रहरी र सञ्चारमाध्यममा दिएका अभिव्यक्तिभन्दा फरक देखिएको छ। ममता हराएपछि उनले आफूलाई उनको अवस्थाबारे जानकारी नभएको र उनी अन्यत्र गएको हुन सक्ने बताएका थिए। तर अहिले अदालतमा उनले ममताको मृत्यु भएको र शव टुक्र्याएर फालेको स्वीकार गरेका छन्।
अभियोजन पक्षका वकिल म्याथ्यु स्वीटले बयानका क्रममा नरेशको पुरानो र नयाँ भनाइबीचको विरोधाभास उठाउँदै उनलाई झुट बोलेको आरोप लगाएका थिए। वकिलले ‘तपाईं झुटो हुनुहुन्छ’ भन्दा नरेशले ’हो’ भनेर जवाफ दिएका थिए। उनको जवाफपछि अदालतमा उपस्थित केही व्यक्तिले ताली बजाएका थिए।
नरेशले भने ममताको हत्या नगरेको र उनको मृत्यु आत्महत्याका कारण भएको आफ्नो दाबी दोहो¥याएका छन्। नोभेम्बर ९ मा प्रतिरक्षा पक्षले आफ्नो साक्षी प्रस्तुत गर्ने काम पूरा गरेको थियो। त्यसपछि अभियोजन पक्षले प्रतिरक्षा पक्षका दाबीको जवाफ दिन थप साक्षी प्रस्तुत गर्ने प्रक्रिया अघि बढाएको छ। नरेशमाथि प्रथम तहको हत्या, मृत शरीरको अपमान तथा शव लुकाएको अभियोग छ। उनले सबै अभियोगमा आफूलाई निर्दोष बताउँदै आएका छन्।
अब जूरीले दुवै पक्षका प्रमाण, विशेषज्ञको बयान र घटनाक्रमको मूल्याङ्कन गरेर निष्कर्ष निकाल्नेछ। ममताको शव नभेटिएको अवस्थामा पनि उपलब्ध फरेन्सिक र परिस्थितिजन्य प्रमाणले हत्याको अभियोग प्रमाणित गर्न सक्छ कि सक्दैन भन्ने यस मुद्दाको महत्वपूर्ण कानुनी प्रश्न बनेको छ।
लोकप्रिय
ताजा अपडेट
जनताको भोट लिएर जनतालाई नै विपक्षी ठान्ने सांसद, बिचौलियासँग भेट्दै हिँड्ने न्यायाधीश ! जनप्रतिनिधिदेखि न्यायालयसम्म जवाफदेहितामाथि प्रश्न !
ठेलागाडा व्यापारीको विषयले दुई सांसदबीच घम्साघम्सी, ज्ञानेन्द्र शाहीको चेतावनीपछि आशिका तामाङको कडा जवाफ !

