श्रीमती भेट्न लमजुङबाट हेटौंडा आएका प्रहरी हवल्दार मृत भेटिए, घटनास्थलमा सुसाइड नोट !
हेटौंडा— मकवानपुरको हेटौंडामा एक प्रहरी सहायक हवल्दार झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। हेटौंडा उपमहानगरपालिका–८ ओमनगरस्थित ओमनगर गेट नजिक मंगलबार बिहान करिब साढे ४ बजे ३६ वर्षीय प्रहरी सहायक हवल्दार अर्जुन गुरुङ मृत फेला परेका हुन्।
गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल स्थायी घर भएका गुरुङ लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत थिए। उनी पत्नीलाई भेट्न सोमबार लमजुङबाट हेटौंडा आएका थिए। उनकी पत्नी दाइलाई टीका लगाउन ओमनगर आएकी थिइन्।
मंगलबार बिहान मर्निङ वाकमा निस्किएका एक व्यक्तिले ओमनगर गेट नजिक गुरुङलाई झुन्डिएको अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खबर गरेका थिए। सूचनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी श्यामबहादुर खत्रीले घटनास्थलमा सुसाइड नोटसमेत फेला परेको जानकारी दिएका छन्। घटनाको कारणबारे अहिले नै निष्कर्षमा पुग्न नसकिने प्रहरीले जनाएको छ।
घटनास्थलमा भेटिएको नोटको विषयवस्तु र अन्य परिस्थितिसहितका पक्षमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। गुरुङको मृत्युको खबरपछि प्रहरी वृत्तमा समेत चासो बढेको छ। घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।

