परदेशले खोस्यो द्रोणको जीवन, दसैँको टीकाकै दिन मृत्युको खबर, तिहारको भाइटीकामा शव घर आइपुग्ने !
विराटनगर— रोजगारीका लागि युरोपेली मुलुक पोल्यान्ड पुगेका मोरङको उर्लाबारीका द्रोणप्रसाद गौतमको शव तिहारको भाइटीकाका दिन नेपाल आइपुग्ने भएको छ। बडादसैँको टीकाकै दिन परदेशमा उनको मृत्यु भएको थियो। परिवारले दसैँमा मृत्युको खबर सुन्नुपरेको थियो भने भाइटीकाको दिन उनको शव घर आइपुग्ने भएको छ।
मोरङको उर्लाबारी नगरपालिका–स्कुलडाँडा घर भएका ५० वर्षीय गौतम गत अक्टोबर २१ मा पोल्यान्डको कार्चेव सहरमा सुतेकै अवस्थामा मृत भेटिएका थिए। रोजगारीको सिलसिलामा सन् २०२३ अक्टोबर २ मा पोल्यान्ड पुगेका उनी स्थानीय सुपरड्रप कम्पनीमा सोलानो एजेन्सीमार्फत मासु प्रशोधन तथा उत्पादनसम्बन्धी काम गर्दै आएका थिए।
गौतमसँगै काम गर्ने उनका बहिनी ज्वाइँ मोरङको रंगेली निवासी राजेश अधिकारीका अनुसार दसैँको टीकाको दिन कम्पनीले बिदा दिएको थियो। सबैजना मिलेर दसैँ मनाएपछि गौतम साँझ करिब ६ बजेतिर केहीबेर आराम गर्ने भन्दै कोठामा गएका थिए। तर, साढे ८ बजेतिर बोलाउन जाँदा उनी अचेत अवस्थामा भेटिए।
‘शारीरिक रूपमा दाजु स्वस्थ हुनुहुन्थ्यो। दसैँमा सबै मिलेर रमाइलो गरेका थियौँ। एकछिन सुत्छु भनेर कोठामा जानुभएको थियो। साढे ८ बजेतिर बोलाउन जाँदा चिसो भइसक्नुभएको थियो,’ अधिकारीले भने।
घटनाबारे तत्काल प्रहरीलाई खबर गरिएको थियो। प्रहरीसँगै आएको एम्बुलेन्सका चिकित्सकले गौतमको मृत्यु भइसकेको बताएका थिए। त्यसपछि प्रहरीले आवश्यक मुचुल्का तयार गरी शव नियन्त्रणमा लिएको थियो। चिकित्सकले मृत्युको कारण स्पष्ट नगरे पनि आफन्तले हृदयाघात भएको हुनसक्ने अनुमान गरेका थिए। यद्यपि, मृत्युको आधिकारिक कारण भने सार्वजनिक भएको छैन।
गौतमको शव हाल पोल्यान्डको ओतोकोस्थित जेनेरल अस्पतालमा राखिएको थियो। उनको मृत्युको खबरले नेपालमा रहेकी पत्नी पुष्पा गौतम शोकमा परेकी छिन। नेपाली राजदूतावास जर्मनीका अनुसार गौतमको शव मंगलबार नोभेम्बर १० मा कतार एयरवेजको उडानबाट पोल्यान्डको वारसास्थित चोपिन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल पठाइनेछ।
जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका तृतीय सचिव दीपेन्द्रप्रसाद साहका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजे वारसाबाट उड्ने विमान कतारको दोहा हुँदै नोभेम्बर ११ अर्थात् भाइटीकाको दिन बिहान ८ बजेर २० मिनेटमा काठमाडौं आइपुग्ने तालिका छ।

