सुरुमा सरकार देखेर कर्मचारीलाई दसैँ आएजस्तो, व्यवसायी भजन गोविन्दम् गाउँदै थिए, अहिले ‘चेत खुल्यो’ : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी संगठन सरकारको हस्तक्षेपका कारण दुई भागमा विभाजित भएको आरोप लगाएका छन्। प्रहरीभित्र केहीले सरकारको कारबाहीको सामना गर्नुपरेको र केही भने त्यस्तो अवस्था हेरेर बस्न बाध्य भएको उनको टिप्पणी छ।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एमाले बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारको कार्यशैली, प्रहरीमाथिको हस्तक्षेप र राजनीतिक पूर्वाग्रहप्रति असन्तुष्टि जनाएका हुन्। ‘अहिले पुलिस दुई भागमा बाँडिएको छ। एउटा मार खानेमा परेको छ, अर्को हेरेर बसेको छ। खुसी हुनेहरूले भोलि मार खान्छन् फेरि,’ ओलीले भने।

उनले प्रहरी संगठनमाथि सरकारले अनावश्यक हस्तक्षेप गरिरहेको आरोप लगाए। प्रहरीको सेवा, सुविधा, पोशाक र कार्य वातावरण सुधारका लागि एमाले नेतृत्वले विगतमा योगदान गरेको दाबी गर्दै उनले अहिले प्रहरीको व्यवहार देखेर आफू आश्चर्यचकित भएको बताए।

ओलीले आफूलाई पक्राउ गर्ने र त्यसविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका एमाले नेता तथा कार्यकर्तामाथि बल प्रयोग गर्ने क्रममा प्रहरीको भूमिका राजनीतिक पूर्वाग्रहबाट प्रभावित भएको आरोप लगाए। उनका अनुसार प्रहरीमाथि आक्रमण गर्ने, हतियार खोस्ने र बर्दी उतार्नेसम्मका गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुको सट्टा उनीहरूकै आदेशमा एमाले नेता तथा कार्यकर्तामाथि निर्मम बल प्रयोग गरिएको थियो।

‘पुलिस मार्ने, त्यसरी पुलिसका हतियार खोस्ने, बर्दी उतार्ने, पुलिस कुट्ने, नाङ्गै बनाएर छोड्ने, नालीमा फालिदिनेहरूलाई मालिक मानेर त्यस्ताका आदेशमा हामीमाथि निर्मम प्रहार गरे,’ उनले भने।

सरकार बनेकै दिन आफूलाई पक्राउ गरेर राजनीतिक प्रतिशोध साँधिएको ओलीको आरोप थियो। उनले प्रहरीलाई आगामी दिनमा राजनीतिक दबाब र प्रभावबाट मुक्त भएर काम गर्न आग्रह गर्दै आफूहरूले त्यस्तो व्यवहारको पुनरावृत्ति नहुने अपेक्षा गरेको बताए।

प्रहरीसँगै कर्मचारी, उद्यमी तथा व्यवसायीसमेत सरकारको कार्यशैलीबाट असन्तुष्ट रहेको ओलीको दाबी थियो। सुरुमा कर्मचारी र व्यवसायीले सरकारप्रति उत्साह देखाए पनि पछिल्लो समय सम्पत्ति शुद्धीकरण अनुसन्धानलगायतका विषयले उनीहरूलाई असहज बनाएको उनको टिप्पणी थियो।

‘एकपटक कर्मचारीलाई दसैँ आएजस्तो भयो, अब बल्ल चेत आउँदैछ। एकपटक उद्यमी, व्यवसायीहरू पनि एक तालले भजन गोविन्दम् जस्तो गर्दै गएका थिए। पछि तिनीहरूलाई सम्पत्ति शुद्धीकरण छानबिन भनेर थाल्यो, तमाशा,’ उनले भने।

इनम सापकोटाको सम्बन्धमाथि ओलीको प्रश्न
ओलीले विवादित बिचौलिया भनिएका इनम सापकोटाको विषय पनि उठाएका छन्। सापकोटाको सम्पर्क, सम्बन्ध र कारोबार सरकार पक्षसँग जोडिएको देखिने दाबी गर्दै उनले सरकारले नै उनलाई बिचौलियाका रूपमा प्रयोग गरिरहेको आरोप लगाए। ‘अहिले एउटा के बाबु निस्किया छ, इनम सापकोटा। जताबाट हेर्‍यो, त्यो उनीहरूकै सम्पर्क, सम्बन्ध, कारोबारी, बिचौलिया जे देखिन्छ,’ ओलीले भने।

उनले इनम सापकोटा प्रकरण प्रहरी संगठनभित्रको नेतृत्व विवादसँग मात्रै सम्बन्धित हो वा अन्य विषयमा पनि उनको भूमिका छ भन्ने प्रश्नसमेत उठाए। ‘यो केका विरुद्ध ? अब यही दानबहादुरमा सिद्धियो इनम कि अरू कुरामा पनि काम लाग्छ, थाहा छैन,’ उनले भने। ओलीको यो टिप्पणी प्रहरी नेतृत्व परिवर्तन र इनम सापकोटासँग जोडिएका विवादबीच आएको हो।

सरकारविरुद्ध आन्दोलन र निर्वाचनको तयारी गर्न निर्देशन
ओलीले वर्तमान सरकारका गतिविधिलाई अवैधानिक क्रियाकलाप, आगजनी र तोडफोडबाट उत्पत्ति भएको भन्दै सरकारको चर्को आलोचना गरे। उनले सरकारका गलत काम रोक्न एमालेले आन्दोलन र निर्वाचनको तयारी सँगसँगै अघि बढाउनुपर्ने बताए।

‘एमाले सकियो भन्नेलाई जवाफ आन्दोलन र चुनावबाट दिनुपर्छ,’ उनले कार्यकर्तालाई निर्देशन दिँदै भने। उनले एमाले देशको सबैभन्दा सही विचार बोकेको, सङ्गठित, प्रभावशाली र कर्मठ पार्टी भएको दाबी गर्दै पार्टीलाई कमजोर ठान्नेहरूलाई आन्दोलन र निर्वाचनबाट जवाफ दिनुपर्ने बताए।

सरकारले राज्यका निकायलाई राजनीतिक रूपमा प्रयोग गरेको, छानबिनका नाममा अनावश्यक विवाद सिर्जना गरेको र विभिन्न पदबाट व्यक्तिहरूलाई हटाउने काम गरेको ओलीको आरोप थियो। उनले पार्टीका नेता तथा कार्यकर्तालाई सरकारका गतिविधिको विरोधमा जनतामाझ जान र पार्टीको संगठनलाई सक्रिय बनाउन निर्देशन दिए।

आफ्नै पार्टीका कार्यकर्तालाई ‘भोट बदले कारबाही’को चेतावनी
सरकारको आलोचना र आन्दोलनको तयारीसँगै ओलीले आफ्नै पार्टीभित्रको अनुशासनको विषय पनि कडाइका साथ उठाएका छन्। एमालेमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिने तथा पार्टीविरुद्ध गतिविधि गर्ने नेता–कार्यकर्तालाई कारबाही गर्ने उनले चेतावनी दिए।

पार्टीको सदस्यता र जिम्मेवारी नछाड्ने तर निर्वाचनमा अन्य दललाई मत दिने प्रवृत्ति बेइमानी भएको उनको भनाइ थियो। ‘पार्टीमा बस्ने भए पार्टीको पक्षमा उभिनुपर्छ। पार्टी बदल्दिनँ, भोट बदल्छु भन्ने बेइमान कुरा एमाले भएर सुहाउँदैन। भोट बदल्नुभन्दा पहिले पार्टी बदल्नु राम्रो हो,’ ओलीले भने।

उनले पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताले आफ्नै पार्टीविरुद्ध जालझेल, षड्यन्त्र र तिकडम गर्ने गरेको भन्दै अब त्यस्तो प्रवृत्ति सह्य नहुने बताए। पार्टीविरुद्ध गतिविधि गरेको वा अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए सम्बन्धित व्यक्तिलाई स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी देखिए कारबाही गर्न उनले निर्देशन दिए।

‘अब उप्रान्त यस्तो हुँदा जिल्लाले जिल्लामै कारबाही गर्नुस्, त्यहीँबाट कारबाही गरेर सिफारिस पठाउनुस्। स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र तथ्य पाइएमा कारबाही गरिहाल्ने गर्नुपर्छ,’ ओलीको निर्देशन थियो।

उनले पार्टीभित्रका अन्तर्विरोध र मनमुटाव आपसी छलफलबाट समाधान गरी एकताबद्ध भएर अघि बढ्न पनि आग्रह गरे। जिल्ला, पालिका र वडा तहसम्म बैठक तथा छलफल आयोजना गरेर संगठनलाई निर्वाचन केन्द्रित बनाउनुपर्ने उनको भनाइ थियो।

स्थानीय निर्वाचनमा केन्द्रित हुन निर्देशन
ओलीले स्थानीय तहको निर्वाचन नजिकिँदै गएको उल्लेख गर्दै पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सक्रिय हुन निर्देशन दिए। पार्टीभित्रका असमझदारी अन्त्य गरेर जनतामाझ पुग्न र पार्टीको विचार, सदाचार तथा इमानदारी स्थापित गर्न उनले आग्रह गरे।

गत फागुन २१ को निर्वाचनमा पार्टीका संगठित सदस्यको संख्याभन्दा कम मत प्राप्त भएको विषयमा पनि उनले असन्तुष्टि जनाएका थिए। पार्टीका सदस्य र समर्थकले निर्वाचनमा पार्टीलाई अपेक्षित मत नदिएको अवस्थाको समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।

सरकारविरुद्ध आन्दोलनको तयारी गर्न कार्यकर्तालाई निर्देशन दिएका ओलीले पार्टीभित्र भने अनुशासन उल्लङ्घन गर्नेहरूलाई तत्काल कारबाही गर्नुपर्ने सन्देश दिएका छन्। प्रहरी संगठनमा सरकारको हस्तक्षेप भएको उनको आरोप र आफ्नै पार्टीमा मत परिवर्तन गर्नेहरूलाई कारबाही गर्ने चेतावनीले उनको सम्बोधनमा सरकारमाथिको राजनीतिक प्रहारसँगै पार्टीभित्रको अनुशासन कडाइ गर्ने सन्देश पनि देखिएको छ।

बैठकमा एमाले सचिव तथा बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले आगामी स्थानीय तहको निर्वाचनको तयारी र मङ्सिर २ र ३ गते काठमाडौंमा आयोजना हुने भेलाबारे छलफल हुने जानकारी दिएका थिए। शनिबार सुरु भएको बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठक आइतबारसम्म सञ्चालन हुने जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट