मधेसमा परिवर्तन गर्न नसके अर्को चुनावमा भोट माग्न आउँदिनँः रवि लामिछाने

जनकपुर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेसका जनताले दिएको जनमतअनुसार परिवर्तनको अनुभूति गराउन नसके आगामी निर्वाचनमा भोट माग्न नआउने घोषणा गरेका छन्। छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुरधाम पुगेका उनले जनताको विश्वासमाथि धोका नदिने र आफूले बोलेका कुरा पूरा गर्ने दाबी गरेका हुन्।

शनिबार जनकपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै लामिछानेले मधेसका जनताले रास्वपालाई ठूलो भरोसाका साथ अवसर दिएको उल्लेख गरे। उक्त अवसर कुनै व्यक्ति वा नेताको राजनीतिक स्वार्थ पूरा गर्न नभई मधेसी जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउन प्राप्त भएको उनको भनाइ थियो।

‘यसपटक जनताले रास्वपालाई ठूलो भरोसाका साथ अवसर दिएका छन्। अहिले पाएको जनमतबाट पनि मधेसले परिवर्तनको आशा र अनुभूति गर्न सकेन भने म अर्को पटक यहाँ भोट माग्न आउने छैन,’ उनले भने।

लामिछानेले जनतालाई झुक्याएर भोट माग्ने राजनीति आफूलाई स्वीकार्य नहुने पनि बताए। जति बोल्ने हो त्यति नै गर्नुपर्ने भन्दै उनले जनतासँग गरेका वाचा पूरा गर्नुपर्नेमा जोड दिए। ‘जति बोल्छौँ, त्यति नै गर्छौँ। जनतालाई झुटो आश्वासन दिएर राजनीति गर्दैनौँ। जनताको विश्वास र जनमतको सम्मान गर्दै मधेसी जनताको जीवनमा परिवर्तन ल्याउनु हाम्रो पहिलो जिम्मेवारी हो,’ उनको भनाइ थियो।

उनले जनताको मतको अपमान गर्दै आफ्ना मान्छेलाई टिकट दिलाउने र जनताको बस्तीमा परिवर्तनको अनुभूति गराउन नसक्ने प्रवृत्ति स्वीकार्य नहुने बताए। अहिले प्राप्त जनमतलाई व्यक्तिगत राजनीतिक प्रगतिको माध्यम बनाइए जनताले आगामी निर्वाचनमा समर्थन फिर्ता लिन समय नलगाउने उनको चेतावनी थियो।

तर, लामिछानेको यो अभिव्यक्तिले रास्वपाले मधेसका जनतासामु गरेका वाचा र ती पूरा गर्न सरकारले अहिलेसम्म गरेका कामको हिसाब खोज्ने प्रश्न पनि खडा गरेको छ। परिवर्तनको आश्वासन दिनु र जनताको दैनिक जीवनमा त्यसको परिणाम देखिनु फरक विषय हुन्। मधेसका बस्तीमा शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार र सार्वजनिक सेवामा कस्तो सुधार आयो भन्ने कुराले नै उनको प्रतिबद्धताको वास्तविक परीक्षा गर्नेछ।

लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद वा समस्या नरहेको दाबी पनि गरेका छन्। आफ्नै पार्टीका नेता तथा सांसदले सरकारका कामकारबाहीबारे आलोचना, सल्लाह र सुझाव दिँदा त्यसलाई पार्टी फुटको संकेतका रूपमा व्याख्या गर्न नहुने उनको आग्रह थियो।

उनका अनुसार सरकारका काममा कमजोरी देखिए पार्टीभित्रै प्रश्न उठाउनु र सुधारका लागि सुझाव दिनु रास्वपाको आन्तरिक लोकतन्त्रको अभ्यास हो। पार्टीले पक्ष र विपक्षमा हुने बहसलाई सकारात्मक रूपमा लिने गरेको उनले बताए। ‘सरकारका काममा देखिएका कमजोरीबारे आफ्नै पार्टीभित्र आलोचना, सल्लाह र सुझाव आउनु फुटको संकेत होइन, बलियो आन्तरिक लोकतन्त्रको उदाहरण हो,’ उनले भने।

सरकार आफ्ना प्रतिबद्धता पूरा गर्न तल्लीन भएर काम गरिरहेको दाबी गर्दै लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न आग्रह गरे। जनताले दिएको अवसरलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग नगर्न र जनताको विश्वासलाई ओझेलमा पर्न नदिन उनले पार्टी पङ्क्तिलाई सचेत गराए।

उनले पार्टीभित्र टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने तथा विधि, विधान र प्रक्रियाविपरीत काम गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनीसमेत दिएका छन्। गरिब तथा विपन्न बस्तीमा राजनीतिक आश्वासन मात्रै नभई शिक्षा, स्वास्थ्य र रोजगारी पु¥याउनुपर्ने उनको भनाइ थियो।

यसैबीच, छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई सम्मान गर्दै सरकारले सार्वजनिक बिदा दिएको प्रसङ्ग पनि उनले उल्लेख गरे। छठमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यको महत्व रहने भएकाले पर्वका सबै पक्षलाई ध्यानमा राखेर बिदा दिने निर्णय गरिएको उनको दाबी थियो।

लामिछाने शनिबार पत्नी निकिता पौडेलसहित जनकपुरधाम पुगेका हुन्। उनीहरूले जनकपुरको शिवचोकस्थित नरेश साहको घरमा छठ पर्वको खरना व्रत मनाएका छन्। छठका धार्मिक विधि र परम्परालाई नजिकबाट अनुभव गर्ने उद्देश्यले आफूहरू जनकपुर आएको उनले बताएका छन्। उनीहरू गंगासागरमा हुने छठ पूजाका विभिन्न विधिमा पनि सहभागी हुने कार्यक्रम छ।

लामिछानेको जनकपुर भ्रमण धार्मिक कार्यक्रममा सहभागितामा मात्र सीमित रहेन। उनले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट, शुभकामना आदानप्रदान र मधेसको राजनीतिक तथा विकाससम्बन्धी विषयमा सम्बोधनसमेत गरेका छन्।

उनले मधेसका जनताको आशा र भरोसालाई निराशामा बदल्न नहुने बताउँदै रास्वपाले देशभरका नागरिकको आवाज सुन्ने दाबी गरेका छन्। तर, मधेसका जनताले खोजेको परिवर्तन भाषण, प्रतिबद्धता र चुनावी नाराबाट मात्रै पूरा हुँदैन। नागरिकले खोजेको परिवर्तन उनीहरूको घर, गाउँ, विद्यालय, अस्पताल, रोजगारी र सरकारी कार्यालयमा अनुभूत हुनुपर्छ।

लामिछानेले अर्को निर्वाचनमा भोट माग्न नआउने घोषणा गरे पनि त्यसको वास्तविक अर्थ अहिलेको कार्यकालमा सरकारले गर्ने काम र त्यसको परिणामले नै निर्धारण गर्नेछ। जनतालाई झुटो आश्वासन नदिने उनको दाबी अब आफैँमा सार्वजनिक जवाफदेहिताको कसी बनेको छ। मधेसले परिवर्तन महसुस ग¥यो कि गरेन भन्ने निर्णय अन्ततः नेताको भाषणले होइन, जनताको जीवनमा आएको वास्तविक सुधारले गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट