सम्पत्ति शुद्धीकरण अनुसन्धानमा अभिषेक गिरीलाई प्रहरीको दोस्रो ताकेता, घरमै सूचना टाँसियो, भारतमा लुकेको आशंका
विराटनगर– सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि बयान दिन उपस्थित नभएपछि मोरङ प्रहरीले विवादास्पद पृष्ठभूमिका अभिषेक गिरीको घरमै सूचना टाँसेको छ। हुलाकमार्फत पत्र पठाएर सात दिनभित्र उपस्थित हुन आग्रह गर्दा पनि सम्पर्कमा नआएपछि प्रहरीले अनुसन्धानको कानुनी प्रक्रिया अघि बढाउँदै घरमा सूचना टाँसेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङले गत कात्तिक १९ गते गिरीलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको थियो। पत्रमा आफ्नो पक्षका दसीप्रमाण तथा आवश्यक कागजातसहित सात दिनभित्र प्रहरी कार्यालयमा उपस्थित हुन भनिएको थियो। तर, तोकिएको समय बितिसक्दा पनि उनी उपस्थित नभएपछि शुक्रबार उनको घरमा सूचना टाँस गरिएको हो।
प्रहरीका अनुसार हुलाकमार्फत पठाइएको पत्र बुझ्ने व्यक्ति नभेटिएपछि घरमै सूचना टाँस्नुपरेको हो। गिरी पक्राउ पर्ने सूचना पाएपछि सम्पर्कविहीन भएको र भारतमा बसेको प्रहरी स्रोतको दाबी छ। उनी पछिल्लो समय विराटनगरबाहिर रहँदै आएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर लेखनाथ दाहालका अनुसार बयानका लागि पहिलोपटक पत्राचार गर्दा पनि उपस्थित नभएपछि प्रहरीले दोस्रो चरणको कानुनी प्रक्रिया अपनाएको हो। अनुसन्धानका क्रममा बयान र आवश्यक कागजात उपलब्ध गराउने अवसरबाट गिरी स्वयं वञ्चित भइरहेको उनको भनाइ छ।
अब सार्वजनिक सूचना जारी गर्ने तयारी
घरमा सूचना टाँस गर्दा पनि गिरी उपस्थित नभए सार्वजनिक सूचना जारी गर्ने प्रहरीको तयारी छ। सार्वजनिक सूचनामार्फत पनि उपस्थित हुन आग्रह गर्दा अटेर गरे अनुसन्धानलाई उपलब्ध प्रमाणका आधारमा निष्कर्षमा पु¥याइने प्रहरीको भनाइ छ।
प्रहरीले गिरीको बयान लिन नसकेको अवस्थामा पनि अनुसन्धान रोक्नेभन्दा उपलब्ध दसीप्रमाण, कागजात र अन्य तथ्यका आधारमा अनुसन्धान प्रतिवेदन तयार पार्ने प्रक्रिया अघि बढाउन खोजेको छ। त्यसपछि प्रतिवेदन सरकारी वकिलसमक्ष पेस भई कानुनअनुसार अभियोजनको प्रक्रिया अघि बढ्न सक्नेछ।
यसरी प्रहरीले बयानका लागि बोलाउँदा उपस्थित नभएको अवस्थालाई आधार बनाएर अनुसन्धानको प्रक्रिया अगाडि बढाउन खोजेको हो। घरमा सूचना टाँसिनु आफैँमा पक्राउ पुर्जी वा कसुर प्रमाणित भएको अवस्था भने होइन।
कारागारभित्रको असुली आरोपबाट सुरु भएको अनुसन्धान
मोरङ कारागारका कैदीबन्दीको रासन भत्ता तथा श्रमको पारिश्रमिकबाट रकम असुली गरेको आरोप सार्वजनिक भएपछि अभिषेक गिरीविरुद्ध विभिन्न कसुरमा अनुसन्धान अघि बढेको थियो।
गत असार १३ गते जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई पक्राउ गरेको थियो। कारागारभित्र रहेका कैदीबन्दीलाई दिइने रकममा अनियमितता तथा असुली भएको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। कारागारबाहिर रहेर पनि भित्रको गतिविधिमा प्रभाव र नियन्त्रण कायम गरेको हुन सक्ने प्रहरीको निष्कर्षपछि उनीमाथि अनुसन्धान केन्द्रित भएको थियो।
असार २३ गते मोरङ अदालतको आदेशपछि उनी छुटेका थिए। तर, सोही दिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्को कसुरमा अनुसन्धानका लागि उनलाई पुनः नियन्त्रणमा लिएको थियो। त्यसपछि साउन २१ गते मोरङ प्रहरीले पनि उनलाई नियन्त्रणमा लिएको थियो। उजुरीकर्तासँग मिलापत्र भएपछि उनी छुटेका थिए।
यसबीच प्रहरीले उनीविरुद्ध आपराधिक लाभ तथा संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो। प्रहरीले उनको आर्थिक कारोबार, सम्पत्तिको स्रोत र सम्भावित आपराधिक गतिविधिबाट आर्जित सम्पत्तिबारे अनुसन्धान गरिरहेको जनाएको छ।
निर्माण व्यवसायीको सम्पत्ति हडपेको आरोपसमेत
गिरीमाथि मोरङ कारागारमा असुलीको धन्दा चलाएको, निर्माण व्यवसायीलाई प्रभावमा पारेर उनीहरूको सम्पत्ति तथा सवारीसाधन नियन्त्रणमा लिएकोलगायतका आरोप पनि लागेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले यसअघि सार्वजनिक गरेको विवरणमा निर्माण व्यवसायीलाई विभिन्न व्यक्तिसँगको चिनजान र पहुँचका आधारमा ठेक्का दिलाउने विश्वास दिलाएर काम पूरा नगरेको, निर्माणमा प्रयोग हुने सवारीसाधन कब्जामा लिएको र केही सवारीसाधन बिक्री गरेको आरोप उल्लेख गरेको थियो। त्यस्तै, पीडितलाई डरत्रासमा पारी काठमाडौंस्थित घरजग्गा आफ्नो नाममा पास गराएको तथा अरूबाट प्राप्त गर्नुपर्ने रकम आफ्नै नाममा लिन दबाब दिएको आरोपमा पनि अनुसन्धान भएको थियो।
राजनीतिक सक्रियतादेखि सामाजिक संस्थासम्म
गिरी नेपाली कांग्रेसको राजनीतिमा समेत सक्रिय भएका थिए। उनी पार्टीको १५औँ महाधिवेशनको तयारीका क्रममा सार्वजनिक रूपमा देखिन नसकेको स्रोतहरूको भनाइ छ। पक्राउ पर्ने डरका कारण उनी सार्वजनिक गतिविधिबाट टाढिएको दाबी गरिएको छ।
आपराधिक लाभ, अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा कैद भुक्तान गरेर छुटेका गिरीले सामाजिक गतिविधिमा पनि आफूलाई सक्रिय देखाउँदै आएका थिए। आफ्नै नेतृत्वमा स्थापना गरेको गिरी फाउन्डेसनमार्फत विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएका उनीमाथि भने कारागारभित्रको असुली, निर्माण व्यवसायीको सम्पत्ति नियन्त्रण र आपराधिक लाभ लिएको आरोप जोडिँदै आएको छ।
अहिले प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई निष्कर्षमा पु¥याउन खोजिरहेको छ। बयानका लागि पत्राचार, घरमा सूचना टाँस र त्यसपछि सार्वजनिक सूचना जारी गर्ने तयारीले अनुसन्धानको प्रक्रिया अघि बढेको देखिए पनि गिरी उपस्थित हुन्छन् वा प्रहरी उपलब्ध प्रमाणका आधारमा प्रतिवेदन बुझाउने चरणमा पुग्छ भन्ने विषय भने आगामी दिनमा स्पष्ट हुनेछ।

