छठको खुसी बोकेर घर फर्किएकाहरूको लखन्देही किनारमा सामूहिक अन्तिम बिदाइ, एउटै गाउँका १३ चिता एकैसाथ बल्दा सुन्दरपुरमा चित्कार!

सर्लाही– छठपर्व मनाउन काठमाडौंको कर्मभूमिबाट जन्मभूमि फर्किंदै गरेका उनीहरूको यात्रा मकवानपुरको भीमफेदीमा पुगेर कहिल्यै नफर्किने गरी टुंगियो। घरमा आफन्तसँग भेट्ने, छठको अघ्र्य दिने र पर्वको खुसी साटासाट गर्ने सपना बोकेर हिँडेका उनीहरू शुक्रबार राति लखन्देही नदी किनारमा एकैसाथ अन्तिम बिदाइ भए।

एउटै गाउँका १३ जनाको शवलाई धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार सामूहिक अन्त्येष्टि गरिँदा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर शोक र चित्कारले भरियो। मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहान भएको विद्युतीय हाइस दुर्घटनाले सुन्दरपुरका १३ जनाको ज्यान लिएको थियो।

दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। मृतकमध्ये चालक रविशंकरकुमार मण्डलको शव उनको गाउँ कविलासी नगरपालिका–८ लगिएको थियो। सुन्दरपुरका १३ जनाको शव भने पोस्टमार्टमपछि शुक्रबार राति गाउँ ल्याइएको थियो।

हेटौँडा अस्पतालबाट तीनवटा शववाहनमा राखेर ल्याइएका शव लखन्देही नदी किनारमा पुर्‍याइँदा आफन्त र गाउँलेको भीड लागेको थियो। छठको रौनकमा रमाउनुपर्ने गाउँमा एकैपटक १३ जनाको अन्तिम संस्कारको तयारी हुँदै थियो। शव चितामाथि राख्ने क्रममा आफन्तहरू भक्कानिएर रोए। कतिपय बेहोस भएर ढले। परिवारका सदस्यलाई सम्हाल्न आफन्त र छिमेकीलाई समेत कठिन भयो। अन्तिम बिदाइका लागि पुगेका पाँचवटा छिमेकी गाउँका मानिससमेत त्यो दृश्यले स्तब्ध बने।

शव गाउँ ल्याउँदा आफन्तले सहन नसक्ने अवस्था देखिएपछि अन्त्येष्टि स्थलनजिकै एम्बुलेन्स रोक्न लगाएर परिवारका सदस्यलाई अर्को सवारीमा ल्याई अन्तिम दर्शन र बिदाइको व्यवस्था मिलाइएको थियो। एम्बुलेन्सबाट शव निकाल्नासाथ आफन्तको रुवाबासी सुरु भयो। कसैले आफ्ना सन्तान गुमाएका थिए, कसैले जीवनसाथी, कसैले दाजुभाइ र कसैले परिवारका धेरै सदस्य एकैपटक गुमाएका थिए।

यो दुर्घटनाले सबैभन्दा ठूलो बज्रपात अवधेश यादवको परिवारमा पारेको छ। उनले गर्भवती श्रीमती पुनम यादव, तीन छोरी र दुई भाइ गरी एकैपटक परिवारका छ सदस्य गुमाएका छन्। पुनम आठ महिनाकी गर्भवती थिइन्। उनीहरूका छोरीहरू अनु, दीक्षा र दीपिकाको पनि दुर्घटनामा मृत्यु भयो। अवधेशका भाइ विकेश र सुधेशसमेत घर फर्किने क्रममा दुर्घटनामा परे।

परिवारका सदस्यको शव अगाडि हुँदा अवधेशले आफूलाई सम्हाल्न सकेनन्। दागबत्ती दिन अघि बढ्दा पटकपटक भक्कानिएर रोकिए। आठ महिनाको गर्भमा रहेको शिशुसमेत गुमाएका उनको पीडा शब्दमा व्यक्त गर्न कठिन थियो। परिवारका छ सदस्य गुमाएकी अवधेशकी आमा निर्मला देवी यादवसमेत शोक सहन नसकेर बेहोस भइन्। उनको अवस्था असहज भएपछि स्लाइन चढाएर उपचार गर्नुपरेको थियो।

अवधेशको परिवारमा अहिले आमा र डेढ वर्षका छोरा मात्रै बाँकी छन्। दुर्घटनामा घाइते भएका ती बालकको काठमाडौंमा उपचार भइरहेको छ। अवधेशका बुबाको आठ वर्षअघि भारतको चण्डीगढमा काम गर्ने क्रममा निधन भएको थियो। परिवारको सहारा बनेका सदस्यहरू एकैपटक गुमेपछि घरको भविष्यसमेत अनिश्चित बनेको छ।

दुर्घटनामा गुड्डु यादव र उनकी श्रीमती गायत्री देवी यादवको पनि मृत्यु भयो। उनीहरूसँगै गाडीमा रहेका पाँच वर्षीय छोरा सक्षम र तीन वर्षीय छोरा सुजन भने बाँच्न सफल भए। दुर्घटनाका बेला बुबाले दुवै छोरालाई गाडीबाट बाहिर फालेका कारण उनीहरू जोगिएको सक्षमले बताएका छन्। उपचारपछि घर फर्किएका सक्षम अहिले हजुरबुवासँग छन् भने सुजनको अस्पतालमा उपचार भइरहेको छ। बुबाआमा गुमाएका यी दुई बालकले अब बाल्यकालमै अभिभावकविहीन जीवनको सामना गर्नुपर्ने भएको छ।

काठमाडौंको जडीबुटी क्षेत्रमा तरकारी व्यापार गरेर परिवार चलाउँदै आएका राकेश राय र उनका १४ वर्षीय छोरा रोहनको पनि दुर्घटनामा मृत्यु भयो। परिवारका सदस्य गुमाएका निरसु रायका लागि यो पीडा असह्य बनेको छ। त्यस्तै, २५ वर्षीय रामदुलार रायको पनि दुर्घटनामा ज्यान गयो। उनी दाइ देवेन्द्र रायसँगै घर फर्किरहेका थिए। रामदुलारले ज्यान गुमाए पनि उनका दाइ भने बाँच्न सफल भए।

सुन्दरपुरका अन्य परिवारले पनि आफ्ना प्रियजन गुमाएका छन्। एउटै गाउँका धेरै घरमा एकैपटक परेको विपत्तिले कसैको घरबाट अभिभावक खोसेको छ, कसैका बालबालिकालाई टुहुरो बनाएको छ। छठका लागि घर फर्किने बाटो कुरिरहेका परिवारका सदस्यले अन्ततः आफ्ना आफन्तको शव पर्खिनुपर्‍यो।

चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवका अनुसार छठ तराई–मधेशका परिवारका लागि केवल धार्मिक पर्व मात्र होइन, टाढा रहेका आफन्त भेट्ने र परिवारसँग खुसी साट्ने अवसर पनि हो। यही पर्व मनाउन घर फर्किएका मानिसको असामयिक मृत्युले सुन्दरपुरका परिवारको खुसी खोसेको उनले बताएका छन्। गाउँमा छठको चहलपहल हराएको छ। मृतकका घरमा चुल्हो बल्न सकेको छैन भने गाउँलेहरू शोकमा डुबेका छन्।

दुर्घटनापछि पीडित परिवारले राहत र क्षतिपूर्तिको सुनिश्चितता नभएसम्म शव नबुझ्ने अडान लिएका थिए। उनीहरूले प्रत्येक मृतक परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, घाइते बालबालिकाको निःशुल्क उपचार गर्नुपर्ने, उनीहरूको शिक्षा र पालनपोषणको जिम्मेवारी राज्यले लिनुपर्ने तथा मृतकका परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउनुपर्ने माग राखेका थिए। दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने र भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको माग थियो।

सरकारले गठन गरेको दुर्घटना छानबिन समितिसँग भएको छलफलपछि पीडित परिवारले शुक्रबार शव बुझेका हुन्। मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा रहेको समितिले पीडितका माग सात दिनभित्र सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुर्‍याएर पहल गर्ने आश्वासन दिएको थियो। गाडीधनी र बिमा कम्पनीबाट प्राप्त हुने क्षतिपूर्तिमा थप रकम उपलब्ध गराउन पहल गर्ने तथा अभिभावक गुमाएका बालबालिकाको शिक्षा र पालनपोषणको जिम्मेवारी राज्यले लिने विषयमा पनि छलफल भएको थियो।

तर, पीडित परिवारले राखेका सबै माग तत्काल कार्यान्वयन हुने गरी ठोस लिखित सम्झौता भने भएको छैन। प्रशासनको सातदिने आश्वासनपछि आफन्तले शव बुझेका हुन्। त्यसैले लखन्देही किनारमा १३ जनाको अन्तिम संस्कार भइरहँदा पीडित परिवारको अर्को चिन्ता उनीहरूले उठाएका माग कहिले र कसरी पूरा हुन्छन् भन्ने पनि थियो।

मधेश प्रदेश सरकारले दुर्घटनामा मृत्यु भएका प्रत्येक परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। घाइतेको उपचार प्रादेशिक अस्पतालमा निःशुल्क गर्ने व्यवस्था मिलाउने निर्णयसमेत प्रदेश सरकारले गरेको जनाएको छ। चक्रघट्टा गाउँपालिकाले पनि मृतक परिवारलाई जनही ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ। उता, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मृतकका परिवारले पाउने क्षतिपूर्ति तथा बिमा रकम उपलब्ध गराउन सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय सुरु गरेको जनाएको छ।

दुर्घटनामा घाइते भएका छ जनामध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने तीन जनालाई थप उपचारका लागि काठमाडौं र भरतपुरका अस्पतालमा पठाइएको थियो। घाइते बालबालिकाको उपचार, शिक्षा र पालनपोषणको दीर्घकालीन जिम्मेवारी कसले लिने भन्ने विषय भने पीडित परिवारका लागि अझै महत्वपूर्ण छ।

यसैबीच, दुर्घटनाको कारण पत्ता लगाउन मकवानपुर प्रशासनले छानबिन समिति गठन गरेको छ। बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौं–कुलेखानी–भीमफेदी सडकखण्डअन्तर्गत चिसापानीगढीमा मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय हाइस सडकबाट करिब ७ सय मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु र छ जना घाइते भएका थिए। चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक आशंका प्रहरीले गरेको छ। यद्यपि दुर्घटनाको वास्तविक कारण छानबिनबाट खुल्न बाँकी छ।

दुर्घटनापछि काठमाडौंको बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने सार्वजनिक सवारीसाधनका लागि प्रशासनले टाइमकार्ड लागू गरेको छ। राति ८ बजेसम्म फर्पिङ प्रहरी चेकपोस्ट पुग्नुपर्ने र बिहान ५ बजेपछि मात्रै बल्खुबाट यात्रुवाहक सवारी सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ। सवारीसाधनको यान्त्रिक अवस्था जाँच गरेर मात्रै सञ्चालन गर्न पनि प्रशासनले निर्देशन दिएको छ।

तर, टाइमकार्ड लागू गर्नु मात्रै सडक दुर्घटनाको समाधान होइन। चालकको अवस्था, सवारीसाधनको प्राविधिक परीक्षण, यात्रु सुरक्षा, सडकको अवस्था र जोखिमपूर्ण रुटमा निगरानीजस्ता विषयमा प्रभावकारी व्यवस्था आवश्यक छ। भीमफेदीको दुर्घटनाले एउटा गाउँका १३ परिवारलाई शोकमा डुबाएको छ। लखन्देही किनारमा एकै रात बलिएका १३ चिताले फेरि प्रश्न उठाएका छन—यात्रुको ज्यानको सुरक्षा कसको जिम्मेवारी हो, र यस्ता दुर्घटनापछि दिइने आश्वासन कहिले व्यवहारमा बदलिन्छ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट