बोकाको ‘राजखानी’को माला लगाएर टिकटकमा भिडियो बनाउने मासु व्यवसायीलाई १० हजार जरिवाना

काठमाडौँ– बोकाको ‘राजखानी’को माला गलामा भिरेर सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेपछि रुपन्देहीका एक मासु व्यवसायी विवादमा परेका छन्। अस्वाभाविक र असभ्य शैलीमा भिडियो बनाएर टिकटक तथा फेसबुकमा सार्वजनिक गरेपछि चर्को आलोचना खेपेका तिलोत्तमाका व्यवसायीलाई नगरपालिकाले १० हजार रुपैयाँ जरिवाना गरेको छ।

तिलोत्तमा नगरपालिका–२ मा आदीखोले मासु पसल सञ्चालन गर्दै आएका ऋषिराम रानाभाटले बोकाको ‘राजखानी’को माला लगाएर भिडियो बनाएका थिए। उनले उक्त भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि प्रयोगकर्ताहरूले व्यवसायीको व्यवहार र व्यवसायको मर्यादामाथि प्रश्न उठाउँदै आलोचना गरेका थिए।

घटनाबारे गुनासो र आलोचना बढेपछि तिलोत्तमा नगरपालिकाले अनुगमन गरेको थियो। नगर उपप्रमुख जगेश्वरीदेवी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले व्यवसायी रानाभाटलाई सचेत गराउँदै १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको नगर प्रमुख रामकृष्ण खाँणले बताएका छन्।

नगर प्रमुख खाँणका अनुसार व्यवसायी रानाभाटले आफ्नो गल्ती स्वीकार गरेका छन्। उनले जरिवाना तिर्ने र आगामी दिनमा यस्ता गतिविधि नदोहोर्‍याउने प्रतिबद्धतासमेत जनाएका छन्।

नगरपालिकाले मासु पसल सञ्चालन गर्दा खाद्य स्वच्छता र निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ। जनस्वास्थ्यमा असर पुग्ने तथा व्यवसायको मर्यादाविपरीतका गतिविधि नगर्न पनि व्यवसायीलाई सचेत गराइएको छ।

यो घटनामा व्यवसायी संघले पनि चासो देखाएको थियो। यसअघि मासु व्यवसायी संघ रुपन्देहीले अनुगमन गरी रानाभाटलाई जरिवाना गरिसकेको थियो। त्यसपछि नगरपालिकाले समेत अनुगमन र कारबाही गरेको हो।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि सुरु भएको विवाद नगरपालिकाको जरिवानासम्म पुगेको छ। व्यवसायीले गल्ती स्वीकार गर्दै आगामी दिनमा जिम्मेवार र मर्यादित ढंगले व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट