फिल्मको प्रचार कि प्रहरीको तमासा? ‘ककाकिकी’को हाइप बढाउन नक्कली पक्राउ
काठमाडौँ– फिल्मको चर्चा बटुल्न कलाकारलाई प्रहरीको भ्यानमा कोचेर लगियो। दर्शक र सञ्चारकर्मीले वास्तविक पक्राउ ठाने। सामाजिक सञ्जालमा प्रहरीको धरपकडको भिडियो फैलियो। दिनभर फिल्मका कलाकार पक्राउ परेको चर्चा चलिरह्यो। तर, त्यो कुनै वास्तविक प्रहरी कारबाही थिएन, फिल्म ‘ककाकिकी’को प्रचारका लागि रचिएको दृश्य थियो।
हाइप सिर्जना गर्ने नाममा वास्तविक प्रहरी धरपकडको भ्रम फैलाउने यो शैलीले अन्ततः फिल्मको प्रचारभन्दा बढी विवाद निम्त्याएको छ। ट्रेलर सार्वजनिक कार्यक्रममा प्रहरीको पोसाक र भ्यान प्रयोग गरेर निर्देशकदेखि स्थापित कलाकारसम्मलाई नियन्त्रणमा लिएको जस्तो देखाइएको घटनापछि निर्माण टिमले जिल्ला प्रहरी परिसर काठमाडौँलाई स्पष्टीकरण दिनुपरेको छ।
हास्यप्रधान फिल्म ‘ककाकिकी’को ट्रेलर सार्वजनिक कार्यक्रम शनिबार चलिरहेको थियो। करिब एक घण्टा लामो कार्यक्रमको अन्त्यतिर सञ्चालक तथा फिल्म पत्रकार गोपीकृष्ण चापागाईंले सञ्चारकर्मीलाई अन्तिम प्रश्न सोध्न आग्रह गरिरहेका थिए। एक पत्रकारले प्रश्न राख्दै गर्दा अचानक चार–पाँच जना प्रहरी हलभित्र प्रवेश गरे।
प्रहरीको प्रवेशसँगै कार्यक्रमको माहोल एकाएक बदलियो। उपस्थित सञ्चारकर्मी र दर्शकले के भइरहेको छ भन्ने बुझ्न नपाउँदै प्रहरीले कार्यक्रम रोक्न लगायो। त्यसपछि निर्देशक बिक्की अग्रवाल, अभिनेत्री गौरी मल्ल, कलाकार मनोज गजुरेल, शिशिर वाङ्देललगायतलाई समातेर बाहिर निकालियो।
कलाकारहरूलाई हलबाट तल झारेर बाहिर राखिएको प्रहरी भ्यानमा राखियो। केहीबेर अघिसम्म फिल्मको ट्रेलर, कथा र कलाकारबारे चर्चा भइरहेको कार्यक्रममा अचानक प्रहरीको धरपकड देखिएपछि उपस्थितहरू आश्चर्यमा परे।
निर्देशक र स्थापित कलाकारलाई एकैपटक प्रहरीले नियन्त्रणमा लिएर लगेको दृश्यले स्वाभाविक रूपमा प्रश्न जन्मायो—आखिर फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा प्रहरीले किन पक्राउ गर्यो ? के फिल्मको निर्माण वा प्रचारसँग जोडिएको कुनै विवाद थियो ? कलाकारमाथि कुनै उजुरी परेको थियो ?
कार्यक्रममा उपस्थित सञ्चारकर्मीलाई यो दृश्य काल्पनिक वा प्रचारात्मक हो भनेर पूर्वजानकारी दिइएको थिएन। त्यसैले घटना वास्तविक पक्राउजस्तै देखियो। भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा पनि कलाकार पक्राउ परेको चर्चा फैलियो। प्रहरीको धरपकडको दृश्यलाई वास्तविक घटनाका रूपमा बुझ्नेहरू बढे।
तर, वास्तविकता अर्कै थियो। कलाकारलाई पक्राउ गरिएको थिएन। त्यो फिल्मको कथासँग जोडेर तयार पारिएको प्रचारात्मक प्रस्तुति थियो।
पक्राउको दृश्यलाई नै प्रचार सामग्री बनाइयो
निर्माण टिमले फिल्मको कथामा पात्रहरूलाई प्रहरीले नियन्त्रणमा लिएर लैजाने दृश्य रहेको र त्यसैलाई ट्रेलर सार्वजनिक कार्यक्रममा जीवन्त बनाइएको जनाएको छ। फिल्मको कथावस्तु दर्शकसम्म पुर्याउने र एकैपटक सबैको ध्यान तान्ने उद्देश्यले प्रहरी प्रवेश गराएर कलाकारलाई भ्यानमा राखेर लैजाने दृश्य तयार पारिएको थियो।
फिल्मको प्रचारका लागि गरिएको यो प्रयोग सामान्य ट्रेलर प्रदर्शन, पोस्टर सार्वजनिक वा कलाकारको अन्तर्वार्ताभन्दा फरक थियो। दर्शकलाई वास्तविक घटनाजस्तो लाग्ने गरी कार्यक्रमकै बीचमा प्रहरीको प्रवेश, धरपकड र भ्यानमा राखेर लैजाने दृश्य प्रस्तुत गरियो।
तर, प्रचारात्मक दृश्य हो भन्ने जानकारी नदिइएकाले त्यहाँ उपस्थित सञ्चारकर्मी र दर्शक नै अनजानमा उक्त नाटकका दर्शक बने। सामाजिक सञ्जालमा भिडियो फैलिएपछि वास्तविक पक्राउको हल्ला फैलिनु पनि त्यही पूर्वजानकारीको अभावको परिणाम थियो।
निर्माण टिमले तत्काल स्पष्ट पार्न नसक्दा दिनभर नै फिल्मका कलाकार पक्राउ परेको चर्चा चलिरह्यो। प्रचारका लागि रचिएको दृश्यलाई वास्तविक घटना ठान्ने अवस्था सिर्जना भएपछि प्रहरीको भूमिकामाथि पनि प्रश्न उठ्न थाले।
प्रहरीलाई स्पष्टीकरण, पत्रमै देखियो विरोधाभास
विवाद चर्किएपछि निर्माण कम्पनी ‘माया इन्टरटेनमेन्ट स्टुडियो’को लेटरप्याडमा निर्देशक बिक्की अग्रवालले हस्ताक्षर गरेको हस्तलिखित स्पष्टीकरण सार्वजनिक भयो। जिल्ला प्रहरी परिसर काठमाडौंलाई सम्बोधन गरिएको पत्रमा उनले फिल्मको कथावस्तुअनुसार कलाकारलाई नियन्त्रणमा लिएको दृश्य तयार पारिएको उल्लेख गरेका छन्।
अग्रवालले प्रहरीसँग आवश्यक समन्वय र अनुमति लिएरै उक्त प्रस्तुति गरिएको दाबी गरेका छन्। तर, पत्रमा आगामी दिनमा यस्ता प्रचारात्मक गतिविधि सञ्चालन गर्दा सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक स्पष्टता अपनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
यहीँ निर्माण टिमको स्पष्टीकरणमा प्रश्न उठ्छ। प्रहरीसँग पूर्वसमन्वय र अनुमति लिइएको थियो भने कार्यक्रमपछि प्रहरी परिसरमै स्पष्टीकरण दिनुपर्ने अवस्था किन आयो ? अनुमति लिएरै गरिएको प्रस्तुति थियो भने आगामी दिनमा थप स्पष्टता अपनाउने प्रतिबद्धता किन जनाउनुप¥यो ?
निर्माण पक्षले पत्रमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्रीका कारण कलाकारलाई वास्तविक रूपमा पक्राउ गरिएको भन्ने आशयका समाचार तथा सामग्री फैलिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ। आफ्नो प्रस्तुतिलाई फिल्मको प्रचारात्मक दृश्यका रूपमा बुझ्नुपर्ने उसको तर्क छ।
तर, भ्रम फैलिनुको कारण केवल सञ्चारमाध्यम वा सामाजिक सञ्जाल थिएनन्। कार्यक्रममै पूर्वजानकारी नदिई वास्तविक प्रहरी कारबाहीजस्तो दृश्य प्रस्तुत गर्नु र त्यसबारे तत्काल स्पष्ट नपार्नुले पनि अन्योल बढाएको थियो।
चर्चाको लोभमा प्रहरीको छवि दाउमा
फिल्मको प्रचारमा नयाँ प्रयोग गर्नु आफैँमा गलत होइन। कथावस्तु, पात्र र दृश्यलाई दर्शकसम्म पुर्याउन निर्माण टिमले सिर्जनात्मक उपाय अपनाउन सक्छ। तर, प्रचारको नाममा वास्तविक राज्य संयन्त्रको प्रतीक मानिने प्रहरीको पोसाक, धरपकड र प्रहरी भ्यानलाई प्रयोग गरेर वास्तविक कारबाहीको भ्रम सिर्जना गर्नु सामान्य सिर्जनात्मक प्रयोग मात्रै होइन।
प्रहरीको पोसाक र भ्यान सर्वसाधारणका लागि राज्यको कानुन कार्यान्वयन गर्ने निकायसँग जोडिएका प्रतीक हुन्। ती प्रतीकलाई मनोरञ्जनात्मक प्रचारमा प्रयोग गर्दा त्यसको सन्दर्भ स्पष्ट हुनुपर्छ। नत्र वास्तविक प्रहरी कारबाही र काल्पनिक दृश्यबीचको सीमारेखा मेटिन सक्छ।
यस घटनामा सञ्चारकर्मीसमेत पूर्वजानकारीबिना वास्तविक पक्राउको दृश्य ठानेर अन्योलमा परे। प्रहरी संगठनको भूमिकामाथि प्रश्न उठ्यो। सामाजिक सञ्जालमा फैलिएको भिडियोले वास्तविक घटनाको भ्रम सिर्जना ग¥यो। त्यसैले प्रश्न केवल फिल्मको प्रचार रणनीतिको होइन, सार्वजनिक कार्यक्रममा प्रस्तुत गरिने दृश्यको जिम्मेवारी र मर्यादाको पनि हो।
विशेषगरी स्थापित कलाकारहरू नै यस्तो प्रस्तुतिमा सहभागी हुँदा उनीहरूको सार्वजनिक छवि र निर्माण टिमको विश्वसनीयतामाथि पनि प्रश्न उठ्नु स्वाभाविक हो। गौरी मल्ल, मनोज गजुरेल र शिशिर वाङ्देलजस्ता परिचित कलाकारको सहभागिताले दृश्यलाई थप वास्तविक देखाएको थियो।
मंसिर ११ देखि प्रदर्शनमा
‘ककाकिकी’ हास्यप्रधान फिल्म हो। यसको ट्रेलर सार्वजनिक कार्यक्रममै गरिएको नक्कली पक्राउको दृश्यले फिल्मको कथावस्तु र कलाकारभन्दा बढी प्रचार रणनीतिलाई चर्चामा ल्याएको छ। निर्माण टिमले यसलाई फिल्मको कथासँग जोडिएको सिर्जनात्मक प्रस्तुति भने पनि पूर्वजानकारी नदिई वास्तविक घटनाको भ्रम सिर्जना गर्नुले आलोचना निम्त्याएको छ।
फिल्म मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। दर्शकलाई हलसम्म तान्न अपनाइएको यो असामान्य प्रचार शैलीले फिल्मबारे चर्चा त बढाएको छ, तर त्यो चर्चासँगै निर्माण पक्षले आफ्नो विश्वसनीयताबारे उठेका प्रश्नको जवाफ पनि दिनुपर्ने अवस्था बनेको छ।
फिल्मको प्रचारमा सनसनी सिर्जना गर्न सकिन्छ, तर त्यसका लागि प्रहरीको वास्तविक छवि, सार्वजनिक सुरक्षा संयन्त्र र सञ्चारकर्मीको विश्वासलाई प्रयोग गरेर भ्रम फैलाउनु कति उचित हो ? दर्शकलाई चकित पार्ने नाममा वास्तविक घटनाको भ्रम सिर्जना गर्नु प्रचारको सिर्जनात्मकता हो कि सस्तो लोकप्रियताको जोखिमपूर्ण बाटो ?
‘ककाकिकी’को नक्कली पक्राउ प्रकरणले नेपाली फिल्म क्षेत्रमा प्रचारको नाममा अपनाइने शैली र त्यसको सामाजिक जिम्मेवारीबारे बहसको विषय खडा गरेको छ। अन्ततः फिल्मको सफलता प्रचारमा कति ठूलो हल्ला मच्चाइयो भन्नेबाट होइन, दर्शकले पर्दामा कस्तो कथा र मनोरञ्जन पाए भन्नेबाट तय हुनेछ।

