आनी छोइङको नियुक्ति विरुद्ध सर्वोच्चमा चुनौती, नागरिकता, शैक्षिक योग्यता र आर्थिक कारोबारमाथि प्रश्न
काठमाडौँ— लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनी छोइङ डोल्मा मुक्तान लामाको नियुक्ति कानुनी विवादमा तानिएको छ। उनको नियुक्ति गैरकानुनी, विधि र प्रक्रियाविपरीत भएको दाबीसहित राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
नुवाकोटकी सफलता बोगटी, हुम्लाका विरजन विश्वकर्मा र बझाङका सुनिलबहादुर सिंहले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्। निवेदकहरूले आनीको नियुक्ति बदर गर्न माग गर्दै उत्प्रेषणयुक्त परमादेशलगायत आदेश जारी गर्न अदालतसँग माग गरेका छन्।
रिटको पेसी बुधबारका लागि तोकिएको छ। यससँगै सरकारको निर्णयबाट लुम्बिनी विकास कोषको नेतृत्वमा पुगेकी आनीको नियुक्तिको वैधानिकता अब न्यायिक परीक्षणको विषय बनेको छ।
रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष र नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा मुक्तान लामालाई विपक्षी बनाइएको छ।
निवेदकहरूले आनीको नागरिकताको वैधानिकता, शैक्षिक योग्यता तथा विगतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भएको विषयलाई नियुक्तिसँग जोडेर प्रश्न उठाएका छन्। उनीहरूका अनुसार विवादित विषयको निरुपण नभई सार्वजनिक पदमा नियुक्ति गर्नु विधि र प्रक्रियाविपरीत हो।
रिट निवेदनमा सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरूको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७१ को पालना नभएको जिकिरसमेत गरिएको छ। उक्त मापदण्डअनुसार कोषको उपाध्यक्ष बन्न कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था रहेको भन्दै निवेदकहरूले आनीको शैक्षिक योग्यतामाथि प्रश्न उठाएका छन्। उनले सार्वजनिक अन्तर्वार्तामा आफू पाँच कक्षासम्म मात्रै पढेको बताएको विषयलाई पनि रिटमा आधार बनाइएको छ।
नागरिकताको विषयमा पनि निवेदकहरूले प्रश्न उठाएका छन्। आनीका अभिभावक तिब्बतबाट आएको उल्लेख उनको आत्मकथा ‘सिङ्गिङ फर फ्रिडम’ मा रहेको भन्दै उनीहरूले नेपाली नागरिकता प्राप्तिको आधार र त्यससम्बन्धी अभिलेखबारे अदालतबाट परीक्षण हुनुपर्ने माग गरेका छन्।
त्यस्तै, विगतमा आनीको आर्थिक कारोबारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान भएको विषय पनि रिटमा उठाइएको छ। निवेदकहरूले अनुसन्धानको अवस्था र त्यसको निष्कर्ष स्पष्ट नभएको अवस्थामा नियुक्ति गरिएको भन्दै सम्बन्धित निकायबाट आवश्यक विवरण माग गरी कानुनी वैधता परीक्षण गर्न आग्रह गरेका छन्।
तर रिटमा उठाइएका यी विषय आरोप तथा निवेदकहरूको जिकिर हुन्। अदालतबाट तिनको सत्यता र नियुक्तिको वैधानिकताबारे कुनै अन्तिम फैसला भइसकेको छैन।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। लुम्बिनी विकास कोष ऐन, २०४२ को व्यवस्थाअनुसार गरिएको उक्त नियुक्तिको विरोध निर्णय सार्वजनिक भएलगत्तै सुरु भएको थियो।
नियुक्तिको विरोधमा लुम्बिनी बचाउ महाअभियानसहित विभिन्न समूहले सार्वजनिक रूपमा खबरदारी र प्रदर्शन गरेका थिए। नागरिकता, आर्थिक पारदर्शिता र नियुक्तिका लागि आवश्यक योग्यता तथा प्रक्रियालाई लिएर उनीहरूले सरकारसँग जवाफ माग्दै आएका थिए।
आनीले भने आफूविरुद्ध उठेका प्रश्न निराकरण भइसकेको बताउँदै विरोधको औचित्यमाथि प्रश्न उठाएकी थिइन्। तर नियुक्तिको विरोध र सार्वजनिक बहस रोकिएन।
यसैबीच, नियुक्तिको करिब एक महिनापछि मंसिर २ गते आनी लुम्बिनी पुगेर पदबहाली गरेकी थिइन्। कोषले पूर्णता पाएपछि मात्रै लुम्बिनी आउने अडानमा रहेकी उनी पदभार सम्हाल्न पुगेपछि विवाद थप चर्किएको थियो।
राष्ट्रिय जेनजी नागरिक अभियानले यसअघि पनि नियुक्ति प्रक्रिया र विवादित विषयबारे सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो। पटक–पटक खबरदारी गर्दा पनि सरकारले नियुक्ति निर्णय फिर्ता नलिएपछि कानुनी उपचारका लागि सर्वोच्च पुगेको अभियानको भनाइ छ।
अब सर्वोच्च अदालतले रिटमा उठाइएका प्रश्नलाई कसरी हेर्छ भन्ने चासो बढेको छ। विशेषगरी नियुक्तिमा लागू हुने शैक्षिक योग्यता, नागरिकताको वैधानिकता र आर्थिक अनुसन्धानको अवस्थाबारे अदालतले माग गर्ने विवरण तथा दिने आदेशले विवादको दिशा निर्धारण गर्न सक्छ।
लुम्बिनी विकास कोष भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको संरक्षण, विकास र प्रवद्र्धन गर्ने जिम्मेवारी पाएको संस्था हो। यस्तो महत्वपूर्ण संस्थाको नेतृत्वमा गरिएको नियुक्तिमाथि नागरिकता, योग्यता र आर्थिक पारदर्शितासम्बन्धी प्रश्न उठेपछि विवाद केवल व्यक्तिको नियुक्तिमा सीमित नरही सार्वजनिक पदमा नियुक्तिको मापदण्ड र जवाफदेहितासँग पनि जोडिएको छ।
सरकारको निर्णयलाई चुनौती दिँदै परेको रिटमाथि बुधबार हुने सुनुवाइले नियुक्ति विवादमा पहिलो न्यायिक धारणा दिने अपेक्षा गरिएको छ।
लोकप्रिय
ईभी दुर्घटनामा १४ जनाको मृत्युको भयावह खुलासा! ११ सिटको ईभीमा २० यात्रु, ४८ घण्टामा साढे ३३ घण्टा ड्राइभिङ

