सप्तरीमा २ दर्जनवढि जंगली हात्तीको आतंकः दुई युवक घाइते, एक दर्जनभन्दा बढी घरमा क्षति

राजविराज— सप्तरीका अग्निसाइर कृष्णासवरन र रुपनी गाउँपालिकामा जंगली हात्तीको बथानले मंगलबार बिहानैदेखि आतंक मच्चाएको छ। धानबाली खान खेतमा पसेका हात्ती धपाउन खोज्दा दुई युवक घाइते भएका छन् भने एक दर्जनभन्दा बढी घरमा क्षति पुर्‍याएको छ। सयौँ किसानले लगाएको धान, कोदो, केरा र तरकारी बालीसमेत नष्ट भएको छ।

अग्निसाइर कृष्णासवरन गाउँपालिका–२, गुम्बा टोलमा बिहान खेतमा धान खाइरहेको हात्ती धपाउन पुगेका ३५ वर्षीय गजेन्द्र साह आक्रमणमा परे। हात्तीको आक्रमणबाट उनको हात भाँचिनुका साथै शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ।

वडाध्यक्ष पशुपतिप्रसाद चौधरीका अनुसार हात्तीको आक्रमणपछि अचेत भएर खेतमै ढलेका साहलाई स्थानीयले उद्वार गरी गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पुर्‍याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि निजी अस्पताल पठाइएको छ।

त्यस्तै, रुपनी गाउँपालिका–६ का ४७ वर्षीय शिवशंकर यादव पनि गाउँमा पसेको हात्ती धपाउने क्रममा आक्रमणमा परेका छन्। उनको घुँडा र हातमा चोट लागेको छ।

हात्तीले गुम्बा टोलकी ७३ वर्षीया दशनी देवीको घरसमेत तोडफोड गरेको छ। घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायतका सामान नष्ट भएका छन्। घर भत्काउने क्रममा भित्र सुतिरहेकी सात वर्षीया नातिनी आकृतिलाई परिवारले मुस्किलले जोगाएको दशनी देवीले बताइन्।

‘घर तोडेर हात्तीले सबै खाद्यान्न खाइसकेको छ। फर्निचर पनि पूर्ण रूपमा तोडफोड गरेको छ। १० लाखभन्दा बढीको क्षति भएको छ,’ उनले भनिन्, ‘हात्तीले घर तोड्न लाग्दा घरमै सुतेकी सात वर्षीया नातिनी आकृतिलाई जसोतसो जोगायौँ।’

रुपनी गाउँपालिका–६ मा पनि हात्तीले घर, गोठ र खेतबारीमा ठूलो क्षति पुर्‍याएको छ। शुभलाल यादवको धानबाली खाएर नष्ट गरेको हात्तीले स्थानीय शैलेन्द्रकुमार यादवको खेतमा समेत क्षति पुर्‍याएको छ। ज्ञानबहादुर थापा मगरको तीनकोठे घर, चन्द्रबहादुर पोखरेलको घर तथा घरभित्र रहेका दराज र भाँडाकुँडा तोडफोड गरेको छ।

त्यसैगरी ज्ञानबहादुर आले, प्रेम लायो, लालबहादुर राई, मिरा तामाङ मगर र तनुकलाल चौधरीका घर तथा दिलकुमारी चौधरी र सूर्यनारायण महतोका गोठमा समेत हात्तीले क्षति पुर्‍याएको छ। घरमा राखिएका खाद्यान्न, लत्ताकपडा र विद्युतीय उपकरणसमेत नष्ट भएका छन्।

वडासदस्य सूर्यनारायण मेहताका अनुसार रुपनी–६ मा मात्रै घर, गोठ र घरभित्रका सामानमा गरी २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। हात्तीले सयौँ किसानले लगाएको धान, कोदो, केरा र तरकारी बालीमा समेत क्षति पुर्‍याएको उनले बताए। गाउँमा रहेको भिक्षु कुटीमा पनि हात्तीले तोडफोड गरेको छ।

अग्निसाइर कृष्णासवरन–२ मा दशनी देवीको घरमा भएको क्षतिसमेत जोड्दा दुई गाउँपालिकामा घरायसी तथा संरचनागत क्षति ठूलो देखिएको छ। तर सबै क्षेत्रको क्षतिको आधिकारिक विवरण र एकीकृत मूल्यांकन भने सार्वजनिक भएको छैन।

डिभिजन वन कार्यालय सप्तरीका प्रमुख डिभिजनल वन अधिकृत मनोज ठाकुरका अनुसार हात्तीको बथानलाई ड्रोनबाट निगरानी गरी कोशीटप्पु वन्यजन्तु आरक्षतर्फ धपाउने प्रयास भइरहेको छ। तर करिब २५ देखि ३० वटाको संख्यामा रहेको बथानलाई नियन्त्रणमा लिन कठिन भइरहेको छ।

‘हामी पनि केही सातादेखि प्रयासमै छौँ। तर कोशी नदीमा पानीको बहाव बढी रहेका कारण र बथानमा छावा पनि रहेकाले हात्तीले नदी पार गरेन,’ ठाकुरले भने, ‘२५–३० वटाको संख्यामा हात्ती रहेकाले पनि लखेट्न कठिनाइ भइरहेको छ।’

सीडीओ श्यामकृष्ण थापाले हात्तीलाई प्राकृतिक उपाय अपनाएर बस्तीबाट धपाउने प्रयास भइरहेको बताए। हात्तीले निरन्तर क्षति पुर्‍याइरहेकाले दीर्घकालीन रूपमा नियन्त्रण र सुरक्षाका उपाय आवश्यक रहेको उनको भनाइ छ।

‘जंगली हात्तीले गर्दै आएको क्षति कम गर्न घेराबेराको आवश्यकता देखिएको छ। त्यसका लागि हामीले प्रदेश सरकारलाई पत्राचारसमेत गरेका छौँ, तर अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन,’ उनले भने, ‘स्थानीय सरकारसँग पनि समन्वय गरिरहेका छौँ।’

हात्तीको बथान बस्ती र खेतबारीमा प्रवेश गर्दा स्थानीयको ज्यान जोखिममा परेको छ। हात्ती धपाउन जाने स्थानीय आफैँ आक्रमणमा परिरहेका छन् भने घर र अन्नबालीमा भएको क्षतिले किसानको जीविकोपार्जनसमेत प्रभावित बनेको छ।

वन कार्यालयले केही सातादेखि बथानलाई कोशीटप्पुतर्फ फर्काउने प्रयास गरिरहेको बताए पनि हात्तीको आवागमन रोकिएको छैन। तत्काल बस्तीको सुरक्षा, घाइतेको उपचार, क्षतिको यकिन विवरण संकलन र प्रभावित परिवारलाई राहत उपलब्ध गराउने विषयमा सम्बन्धित निकायको प्रभावकारी पहल आवश्यक देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट