मधेशमा सरोज यादवको सत्तारोहणभित्रको दाउपेचः साढे ३ बजेसम्म एमालेसँगै सरकार बनाउने जसपाको आश्वासन, त्यसपछि यू–टर्न

जनकपुर— मधेश प्रदेशको सत्ता राजनीतिमा अन्तिम समयसम्म चलेको दाउपेचले नयाँ सरकार गठनको प्रक्रिया नै फरक मोडमा पु¥याएको छ। एमालेसँग मिलेर सरकार बनाउने आश्वासन दिइरहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले अन्तिम घडीमा साथ छाडेको एमालेको आरोप छ। जसपा भने विगतमा एमालेले आफूहरूमाथि गरेको राजनीतिक व्यवहारको जवाफ उसकै शैलीमा दिएको दाबी गर्छ।

यही राजनीतिक रस्साकस्सीबीच जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव दोस्रोपटक मधेश प्रदेशको मुख्यमन्त्री बनेका छन्। प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा संविधानको धारा १६८ को उपधारा (३) अनुसार नियुक्त भएका यादवले आइतबार पद तथा गोपनीयताको शपथ लिएर पदभारसमेत सम्हालेका छन्।

तर उनको सत्तारोहणसँगै राजनीतिक विवाद सकिएको छैन, बरु नयाँ चरणमा प्रवेश गरेको छ। शपथग्रहण समारोहमा आफ्नै पार्टीका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल र निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादवसमेत अनुपस्थित रहे। अन्य दलका प्रमुख नेताहरू पनि समारोहमा देखिएनन्। जसपाका पूर्वमुख्यमन्त्री लालबाबु राउत मात्रै उपस्थित थिए।

प्रदेशसभामा आफ्नो दलको मात्रै बहुमत नभएकाले सरोज यादवले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ। एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को असन्तुष्टि तथा जसपाभित्रै देखिएको असहजताका कारण उनको सरकारको भविष्य सुरुदेखि नै अनिश्चित बनेको छ।

यो सत्ता परिवर्तन केवल संविधानको धारा १६८ को उपधारा (२) अनुसार गठबन्धन सरकार बन्न नसकेपछि उपधारा (३) अनुसार ठूलो दलको नेता मुख्यमन्त्री नियुक्त भएको सामान्य घटनाक्रम मात्रै होइन। यसभित्र एमाले र जसपाबीचको पुरानो अविश्वास, एकअर्कामाथि लागेको राजनीतिक धोका र अन्तिम समयसम्म चलेको शक्ति सन्तुलनको खेल जोडिएको छ।

साढे ३ बजेसम्म एमालेसँगै सरकार बनाउने आश्वासन !
तत्कालीन मुख्यमन्त्री कृष्णप्रसाद यादवको सचिवालयको दाबीअनुसार सरकार गठनको सातदिने समयसीमाभित्र कांग्रेस, एमाले र नेकपाले बहुमतसहितको दाबी पेस गर्न नसक्नुको मुख्य कारण दलहरूबीचको अस्पष्ट सहमति र अन्तिम समयको राजनीतिक चलखेल थियो।

सचिवालयका अनुसार अघिल्लो सरकार ढाल्नेदेखि नयाँ सरकार गठनको प्रयाससम्म जसपा र एमालेबीच समझदारी थियो। तर जसपाको मूल नेतृत्व एमालेसँग सहकार्य गर्न चाहिरहेको थिएन। जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँग कुनै हालतमा सहकार्य नगर्ने बताएपछि एमाले सशंकित बनेको थियो।

यद्यपि, जसपाका नेता सरोज यादव र तत्कालीन अर्थमन्त्री सञ्जय यादवले सरकार गठनको दाबी पेस गर्ने समयसीमा सकिने दिन दिउँसो ३ बजेर ३० मिनेटसम्म पनि एमालेसँगै जाने आश्वासन दिइरहेको निवर्तमान मुख्यमन्त्रीको सचिवालयको दाबी छ।

‘साढे ३ बजेसम्म सञ्जयजी र सरोजजी एमालेसँगै हुनुहुन्थ्यो । दाबी पेस गर्न सँगै जाने भनिरहनुभएको थियो,’ सचिवालयका एक सदस्यले भनेका छन्, ‘तर, साढे ३ बजेपछि अचानक परिस्थिति अर्कै बन्यो । अब हामी केही गर्न सक्दैनौँ भनेर उहाँहरूले छोडिदिनुभयो । उहाँहरूको आन्तरिक योजना नै म्याद समाप्त पार्ने रहेछ ।’

जसपाले साथ छाडेपछि मात्रै एमाले र नेकपाका नेताहरू कांग्रेससँग सहमति खोज्न पुगेको सचिवालयको भनाइ छ। त्यसक्रममा एमालेका सरोज यादव र नेकपाका युवराज भट्टराईले कृष्णप्रसाद यादवकै नेतृत्वमा तीन दल मिलेर सरकार बनाउन आग्रह गरेका थिए।

तीन दलबीचको छलफलमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग फोनवार्तासमेत गराइएको र तीन दल मिलेर सरकार बनाउन निर्देशन आएको भन्दै प्रस्ताव अघि बढाइएको सचिवालयको दाबी छ।

तर, समय निकै घर्किसकेको थियो। जसपाको साथबिना एमाले, कांग्रेस र नेकपाबीचको समीकरणले पनि समयमै सरकार गठनको औपचारिक दाबी पेस गर्न सकेन।

३ः५४ मा म्याद थपको निवेदन, सरकार बनाउने कि समय बढाउने ?
तीन दलबीच सहमतिको प्रयास भएपछि तत्कालीन मुख्यमन्त्री कृष्णप्रसाद यादवले सहमति हुने अवस्था बने म्याद थप्न आग्रह गर्न सुझाव दिएका थिए।

त्यसअघि उनले आफ्ना प्रेस सल्लाहकार सुरेश यादव र मुख्यन्यायाधिवक्ता सुनिल रञ्जन सिंहलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णको मनस्थिति बुझ्न पठाएका थिए। प्रदेश प्रमुखसँग करिब एक घण्टा छलफल भएको निवर्तमान मुख्यमन्त्रीको सचिवालयका सदस्यले बताएका छन्।

प्रदेश प्रमुखले सरकार बन्ने विश्वसनीय आधार भए मात्रै समय थप्न सकिने धारणा राखेको सचिवालयको भनाइ छ। बहुमत प्राप्त गर्ने तीन वा सोभन्दा बढी दलका नेताहरूले औपचारिक अनुरोध गरे म्याद थप्ने आधार बन्न सक्ने उनको आशय रहेको बताइएको छ।

त्यसपछि कांग्रेस, एमाले र नेकपाका नेताहरू म्याद थपको आग्रह लिएर प्रदेश प्रमुखको कार्यालय पुगे। लिखित निवेदन मागिएपछि दिउँसो ३ बजेर ५४ मिनेटमा प्रेस सल्लाहकार सुरेश यादवले हतारहतार निवेदन तयार पारेर हस्ताक्षर गराई बुझाएका थिए।

तर, निवेदनको समय र त्यसको राजनीतिक अर्थलाई लिएर पनि प्रश्न उठेको छ। तीन दलका नेताहरू प्रदेश प्रमुखसमक्ष पुगिसकेको अवस्थामा सरकार गठनको दाबी नै पेस गर्न सकिने विकल्प हुँदाहुँदै म्याद थपको निवेदन किन दिइयो भन्ने प्रश्न निवर्तमान मुख्यमन्त्रीको सचिवालयले उठाएको छ।

‘दुईवटै डुंगामा खुट्टा राखेर फाइदा लिन खोज्दा कसैको हातमा केही लागेन,’ सचिवालयका एक सदस्यको टिप्पणी छ।

यसरी सरकार गठनका लागि दिइएको समयसीमा सकिँदै जाँदा दलहरूबीचको सहमति निष्कर्षमा पुग्न सकेन। अन्ततः धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्ने प्रक्रिया असफल भयो।

एमालेको आरोपः जसपाले ‘डबल क्रस’ गर्‍यो
जसपाको रणनीतिका कारण उपधारा (२) अनुसार सरकार गठन हुन नसकेको एमालेको आरोप छ। मधेश प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार जसपासँग सरकार गठनका दुई विकल्प थिए—एमाले, नेकपा र जसपा मिलेर सरकार बनाउने वा जसपा, कांग्रेस र जनमतबीच सहमति गर्ने।

तर जसपाले जानाजान प्रक्रिया उपधारा (३) तर्फ धकेलेको उनको आरोप छ। ‘जसपाले हामीसँग डबल क्रस गर्‍यो । कांग्रेसलाई पनि तपाईंसँग सरकार बनाउँछौँ भनिराख्या थियो, यता हामीसँग पनि मान्छे नै बसेका थिए तीन घण्टा, रेकर्ड नै छ,’ उनले भनेका छन्, ‘जसपाले गुमराहमा नराखेको भए धारा १६८ (२) को सरकार बन्थ्यो ।’

कांग्रेस, एमाले र नेकपा तीनै दल उपधारा (३) मा जान तयार नभएको उल्लेख गर्दै उनले जसपाको कदमलाई राजनीतिक चटकको संज्ञा दिएका छन्। यसअघि आफू उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त हुँदा जसपाले आन्दोलन गरेको, गमला फोरेको र प्रदेश प्रमुखको कार्यालय तोडफोड गरेको स्मरण गर्दै अहिले जसपा आफैँ त्यही संवैधानिक व्यवस्थाअनुसार सरकारमा पुग्नु विरोधाभासपूर्ण भएको उनको टिप्पणी छ।

यद्यपि, विश्वासको मत दिने वा नदिने विषयमा पार्टी र केन्द्रीय नेतृत्वसँग छलफल गरेर मात्रै निर्णय लिइने उनले बताएका छन्।

एमालेका अर्का एक नेताका अनुसार समर्थन फिर्ता लिने दिन असोज ३० गते नै नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संसदीय दलका नेता युवराज भट्टराई तथा जसपाका सरोज यादव र सञ्जय यादवबीच छलफल भएको थियो।

त्यसै दिन साँझ जसपा अध्यक्ष उपेन्द्र यादव र सरोज यादवले एमाले अध्यक्ष ओलीसँग भेटेर धारा १६८ (२) अनुसारकै सरकार बनाउने सहमति गरेको ती नेताको दाबी छ। उक्त भेटको तस्बिरसमेत सार्वजनिक भएको थियो।

उनका अनुसार पार्टी एकीकरणका क्रममा जितेन्द्र सोनल उपेन्द्र यादवको पक्षमा उभिएपछि महन्थ ठाकुर सरोज यादवको पक्षमा खुलेका थिए। उपेन्द्र यादव एमालेसँग सरकार बनाउन तयार नभए महन्थ ठाकुरको सल्लाह र सहयोगमा जसपाका १२ सांसदको हस्ताक्षरसहित सरोज यादव एमालेको समर्थनमा सरकार बनाउन तयार रहेको र उक्त हस्ताक्षर ओलीसमक्ष बुझाइएको एमाले नेताको दाबी छ।

ती १२ सांसदमध्ये नौ जनाको नामसमेत उनले खुलाएका छन्। उनका अनुसार सरोज यादव, सञ्जय यादव, अनिरुद्धप्रसाद सिंह, रानी तिवारी, रमेश पटेल, शारदाशंकर कलवार, बच्चा राउत अहिर, ललिता दास विद्रोही र रूपा यादव हस्ताक्षर गर्ने सूचीमा थिए। यो कुरा उपेन्द्र यादवलाई समेत जानकारी रहेको उनको दाबी छ।

समयसीमा सकिने दिन दिउँसो १ बजेदेखि करिब तीन घण्टासम्म जसपाका नेताहरूले आफ्नो निवासमै कुराएर समय बिताएको एमाले नेताको आरोप छ। सुरुमा जसपाका नेता तथा पूर्वअर्थमन्त्री सञ्जय यादवका पीए सञ्जय यादव एमाले नेता सरोज यादवको निवास पुगेका थिए। आफ्नो गाडी उपेन्द्र यादव बसेको घरनजिकै माटो भरिएको बाटोमा फसेको भन्दै उनले समय बिताएको ती नेताको दाबी छ।

करिब डेढ घण्टापछि दिउँसो २ बजेतिर पूर्वअर्थमन्त्री सञ्जय यादव स्वयं आएर अर्को एक घण्टा छलफलमा बसेका थिए। ‘हामीले इमान्दारितापूर्वक विश्वास गर्‍यौँ, तर उहाँहरूले घरमै कुराएर घेरिरहनुभयो । उहाँहरू तीन घण्टा हाम्रो निवासमा बसेको सीसीटीभी फुटेज नै सुरक्षित छ,’ उनले भनेका छन्।

समय घर्किँदै गएपछि एमाले संसदीय दलका नेता सरोज यादवले सञ्जय यादवलाई अर्थ मन्त्रालयस्थित नेकपा नेता युवराज भट्टराईको क्वार्टरमा लगेका थिए। तर, त्यहाँ पुगेको केही मिनेटमै दिउँसो ३ बजेर ४५–४६ मिनेटतिर सञ्जय यादव बाहिरिएको ती नेताको भनाइ छ।

त्यसपछि कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कृष्णप्रसाद यादव त्यहाँ पुगे। उनले एमालेका सरोज यादवलाई नै मुख्यमन्त्री बन्न सहयोग गर्ने प्रस्ताव राखे। तर एमालेका सरोज यादवले कांग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष ओलीसँग शीर्ष तहमा कुरा गराउन आग्रह गरे।

समयमै दुवै नेतासँग संवाद हुन नसकेपछि म्याद थपको निवेदन लिएर तीन दल प्रदेश प्रमुखको कार्यालय पुगेका थिए।

जसपाको प्रतिवादः एमालेकै खेलमा एमालेलाई मात
एमालेले लगाएको ‘डबल क्रस’ को आरोप जसपाले अस्वीकार गरेको छ। जसपाका एक नेताका अनुसार एमालेले विगतमा पटक–पटक गरेको राजनीतिक गद्दारीको जवाफ दिन उसकै खेलमा उसैलाई मात दिइएको हो।

एमाले अध्यक्ष ओलीसमक्ष १२ सांसदको हस्ताक्षर बुझाइएको र पार्टी फुट्न लागेको भन्ने चर्चा निराधार रहेको उनको दाबी छ। ‘१२ सांसद लिएर गए, छाप लगाइदिए भन्नेजस्ता कुरामा कुनै सत्यता छैन,’ उनले भनेका छन्।

सञ्जय यादव र उनका पीएले एमालेका सरोज यादवलाई तीन घण्टा कुराएको प्रसंगमा पनि जसपाले एमालेकै नेताहरू आफ्नो रणनीतिमा फसेको दाबी गरेको छ। ‘उनीहरू अर्काको सरकार ढाल्न भनेर केपी ओलीकहाँ गएका थिए, तर आफैँले खनेको खाल्डोमा आफैँ परे,’ जसपाका ती नेताको भनाइ छ।

एमालेसँग सहकार्य नगर्नुको कारण विगतको राजनीतिक व्यवहार भएको उनको दाबी छ। ओली नेतृत्वको सरकारका बेला जसपा विभाजन गरिएको, लुम्बिनी प्रदेशमा चारमध्ये दुई सांसदलाई पार्टीको सहमतिविना मन्त्री बनाएर विवाद निम्त्याइएको र मधेशमा समेत जसपाको काँधमा चढेर वाम गठबन्धन बनाउने प्रयास गरिएको उनले आरोप लगाएका छन्।

‘एमालेले एक सयपटक हामीसँग गद्दारी गरेको छ, मधेशमा एमालेको नामसमेत सुन्न नचाहने अवस्था छ,’ उनले भनेका छन्, ‘अनि हामी एमालेसँग मिलेर सरकार बनाउन जान्थ्यौँ ? उनीहरूकै खेलमा उनीहरूलाई नै मात दिइएको हो।’

कांग्रेस नेतृत्वको सरकारले जसपासँग सल्लाह नगरी उसका मन्त्रीलाई बर्खास्त गरेर अपमानित गरेपछि समर्थन फिर्ता लिएको उनको स्पष्टीकरण छ। जसपाले अहिलेको सरकार पनि आफ्नै सर्त र न्यूनतम साझा कार्यक्रमका आधारमा अघि बढ्ने बताएको छ। विश्वासको मत नपाए प्रदेशसभा विघटनको अवस्था आए त्यसको जिम्मेवारी कांग्रेस र एमालेले लिनुपर्ने जसपाका ती नेताको भनाइ छ।

जसपाभित्रै असन्तुष्टि
सरोज यादव मुख्यमन्त्री बनेपछि जसपाभित्रको आन्तरिक असन्तुष्टि पनि सतहमा आएको छ। पूर्वलोसपा समूहका नेता जितेन्द्र सोनल शपथग्रहण समारोहमा अनुपस्थित रहे। उनी किनारा पारिएको विषयलाई लिएर पार्टीभित्रै प्रश्न उठेको छ।

जसपाका एक नेताका अनुसार सोनलको विगतको राजनीतिक हैसियत र संसदीय दलभित्रको समर्थनका आधारमा उनलाई मुख्यमन्त्रीको दाबेदार मान्न नसकिने अवस्था थियो। उनका अनुसार यसअघि मुख्यमन्त्री बनेका सोनलले २१ दिनभित्र विश्वासको मत लिन नसकेपछि पद छाड्नुपरेको थियो। पूर्वलोसपामा नौ जना सांसद हुँदा पनि उनी संसदीय दलको नेता नरहेको र महन्थ ठाकुरकै हस्ताक्षरबाट हटाएर अभिराम शर्मालाई दलको नेता बनाइएको उनको दाबी छ।

पार्टी एकीकरणपछि पाँच सांसद आउँदा पनि रमेश पटेल कुर्मीले सोनलसँग जान नसक्ने भन्दै लिखित राजीनामा बुझाएको र त्यसपछि जैनुल राइनलाई दलको नेता बनाइएको उनले बताए। एकीकृत पार्टीका २८ सांसदको नेतृत्व गर्ने आधार सोनलसँग नरहेको र एकता प्रक्रियामा ६०–४० को अनुपात तय भइसकेकाले पूर्वलोसपा समूहबाट मुख्यमन्त्रीको दाबी स्वाभाविक नभएको उनको तर्क छ।

तर सोनलनिकट समूहले भने सरोज यादवको चयनलाई नै प्रश्न उठाएको छ। उनीनिकट एक नेताका अनुसार सरोज यादव मुख्यमन्त्री नियुक्त हुनुअघिसम्म अध्यक्ष उपेन्द्र यादव स्वयं उनी पार्टीमा नटिक्ने र एमालेमा जान सक्ने आशंका गरिरहेका थिए। ‘उपेन्द्रजी ४ गते बिहान १० बजेसम्म पनि भनिराख्नुभएको थियो कि ऊ यहाँ रहँदैन, एमालेमा गइहाल्छ,’ ती नेताले भनेका छन्, ‘तर, त्यसपछि पनि उहाँलाई नै मुख्यमन्त्री बनाइयो । यसको कारण के हुन सक्छ भन्ने प्रश्नको उत्तर हामी खोजिरहेका छौँ।’

सरोज यादवसँग १२ सांसदको समर्थन रहेको चर्चालाई उनले प्रोपगन्डाको संज्ञा दिएका छन्। उनका अनुसार सरोजसँग सात–आठ जना मात्रै सांसद थिए र उनीहरू पनि मुख्यमन्त्री बनाउन नभई अघिल्लो सरकार ढाल्नका लागि मात्रै सक्रिय भएका थिए।

यसरी एमालेसँगको राजनीतिक दाउपेचसँगै जसपाभित्रको शक्ति सन्तुलनले पनि नयाँ मुख्यमन्त्री चयनलाई प्रभावित गरेको देखिन्छ। शपथग्रहणमा सोनलको अनुपस्थितिले पार्टीभित्रको असन्तुष्टिको संकेत दिएको छ।

महासचिव सुरेन्द्र झाको फरक तर्कः प्रतिशोध होइन, संवैधानिक दायित्व
जसपाका महासचिव डा. सुरेन्द्रकुमार झाले भने पार्टीले प्रतिशोधको भावनाबाट सरकारको नेतृत्व नलिएको बताएका छन्। प्रदेशसभाको पूर्ण कार्यकाल सञ्चालन, सुशासन र संघीयताको संरक्षणका लागि ठूलो दलको संवैधानिक दायित्व निर्वाह गर्न सरकारको नेतृत्व लिएको उनको भनाइ छ।

झाका अनुसार अध्यक्ष उपेन्द्र यादव सुरुमा मधेश सरकारको नेतृत्व लिन चाहँदैनथे। अग्रगामी मोर्चामा, विशेषगरी जनमत पार्टीको अगुवाइमा, सरकारमा नजाने निर्णय भएकाले अध्यक्षको झुकाव पनि संघर्षतर्फ थियो।

कोरिया भ्रमणबाट फर्किएपछि अध्यक्ष यादवले पार्टीका पदाधिकारीसँग बैठक गरेका थिए। त्यसपछि संविधानबमोजिम सरकारको नेतृत्व लिनुपर्ने अवस्था आए त्यसका लागि पनि तयार रहनुपर्ने निष्कर्षमा पार्टी पुगेको महासचिव झाको भनाइ छ।

‘मधेश प्रदेशमा जसपा प्रतिपक्षमा रहँदा सशक्त प्रतिपक्ष बन्छ र सरकारको नेतृत्व गर्दा पनि सशक्त रूपमै प्रस्तुत हुन्छ । यदि जसपा रक्षात्मक बन्यो भने मधेशमा पार्टीको महत्व समाप्त हुन्छ भन्ने निष्कर्षसहित दुवै विकल्प खुला राख्ने निष्कर्ष निस्कियो,’ झाले भनेका छन्।

गठबन्धन राजनीतिमा कुनै पनि दलको एकल बहुमत नभएको अवस्थामा अरूको समर्थनमा सरकार नै नबनाउने भन्नु गैरराजनीतिक हुने तर्क आफूले राखेपछि अध्यक्ष उपेन्द्र यादव सहमत भएको उनले बताए। मुख्यमन्त्री सरोज यादवको चयन पनि संसदीय दलभित्रको समर्थन र उनको राजनीतिक भूमिकाका आधारमा भएको झाको दाबी छ।

सभामुख रामचन्द्र मण्डललाई पदमुक्त गराउने, मनीष सुमनसहित चार सांसदको पद जोगाउने र राप्रपाका समानुपातिक सांसदसम्बन्धी प्रकरणमा सरोजले सक्रिय भूमिका खेलेको उनले बताए। वर्तमान सरकार प्रदेशसभाको बाँकी कार्यकालसम्म चल्ने र सुशासन दिने उद्देश्यले बनेको दाबी गर्दै झाले सबै दललाई विश्वासको मत दिन आग्रह गरेका छन्।

३० दिनभित्र विश्वासको मतः सरोज यादवका लागि अंकगणित सहज छैन
संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका सरोज यादवले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बने पनि जसपासँग एक्लै सरकार टिकाउन पुग्ने मत छैन।

मधेश प्रदेशसभामा कुल १०७ सदस्य रहे पनि प्रतिनिधिसभा निर्वाचनका क्रममा चार प्रदेशसभा सदस्यले राजीनामा दिएपछि हाल कायम सदस्य संख्या १०३ छ। विश्वासको मतका लागि कम्तीमा ५३ मत आवश्यक पर्ने देखिन्छ। जसपा नेपालसँग एक सदस्य निलम्बनमा रहेकाले हाल २७ मत मात्रै प्रयोग गर्न पाउने अवस्था छ। यसले मुख्यमन्त्रीलाई बहुमत जुटाउन थप २६ मत आवश्यक पर्ने राजनीतिक अंकगणित देखाउँछ।

अग्रगामी मोर्चामा सहभागी जनमत पार्टीले जसपालाई विश्वासको मत दिन्छ कि दिँदैन भन्ने स्पष्ट छैन। जनमतका अध्यक्ष डा. सीके राउतले निर्वाचनसम्म आफ्नो पार्टी कुनै पनि दलको सरकारमा सहभागी नहुने घोषणा गरिसकेका छन्। जनमतले विश्वासको मत दिए पनि जसपालाई थप समर्थन आवश्यक पर्छ। मोर्चामा आबद्ध नेपाल संघीय समाजवादी पार्टीको एक मत जोड्दा पनि बहुमत पुग्न अन्य दलको साथ चाहिन्छ। त्यसैले सरोज यादवका लागि एमाले, कांग्रेस वा नेकपामध्ये कम्तीमा कुनै एक दलको समर्थन जुटाउनु महत्वपूर्ण हुनेछ।

तर अहिले नै यी दलको समर्थन सुनिश्चित देखिएको छैन। एमालेले जसपामाथि धोका दिएको आरोप लगाएको छ भने कांग्रेस र नेकपाले पनि विश्वासको मतबारे पार्टीभित्र छलफल गरेर मात्रै निर्णय गर्ने संकेत दिएका छन्।

मुख्यमन्त्री यादवले भने आफूले विश्वासको मत जुटाउने तयारी गरिरहेको बताएका छन्। उनले एक सातापछि नै विश्वासको मत लिने तयारी रहेको सार्वजनिक रूपमा बताएका छन्।

मधेशमा सरकार फेरबदलको लामो शृंखला
मधेश प्रदेशसभाको दोस्रो कार्यकालमा सरकार फेरबदल निरन्तर राजनीतिक अस्थिरताको विषय बनेको छ। सरोज यादव दोस्रोपटक मुख्यमन्त्री बनेसँगै चार वर्ष नपुग्दै प्रदेशमा छैटौँ सरकार गठन भएको छ। यसअघि जसपा, जनमत, लोसपा, एमाले र कांग्रेसका नेताहरूले प्रदेश सरकारको नेतृत्व गरिसकेका छन्।

२०७९ मंसिर ४ गतेको निर्वाचनपछि २०७९ पुस २७ गते सरोजकुमार यादव पहिलोपटक मुख्यमन्त्री बनेका थिए। तर २०८१ जेठ २१ गते उनको नेतृत्वको सरकार ढल्यो। त्यसपछि जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री बने।

जेनजी आन्दोलनका क्रममा राजीनामा घोषणा गरेका सिंहले पछि पद नछाडे पनि आफ्नै दलको साथ गुमाएपछि २०८२ असोज २८ गते राजीनामा दिएका थिए। त्यसपछि कांग्रेस र एमालेबाहेकका दलको समर्थनमा लोसपाका जितेन्द्र सोनल मुख्यमन्त्री बने। तर उनले विश्वासको मत पाउन सकेनन्।

सोनलले राजीनामा दिएपछि तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। होटलमा शपथ गराइएको उक्त नियुक्ति विवादित बनेर सर्वोच्च अदालतसम्म पुगेको थियो। सर्वोच्चको आदेशपछि यादवले विश्वासको मत लिनुपर्ने अवस्था आयो र बहुमत जुटाउन नसक्ने देखेपछि राजीनामा दिए।

त्यसपछि २०८२ मंसिर १९ गते कांग्रेस नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो। तर एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि उनी पनि अल्पमतमा परे र २०८३ कात्तिक २८ गते राजीनामा दिए। त्यसपछि फेरि जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री बनेका हुन्।

यसरी मधेशमा सरकार फेरबदल केवल दलहरूबीचको समीकरण परिवर्तनको परिणाम मात्रै बनेको छैन, एउटै दलभित्रको नेतृत्व प्रतिस्पर्धा, संघीय राजनीतिको प्रभाव र प्रदेशस्तरका नेताहरूको व्यक्तिगत रणनीतिले पनि सरकारको आयु निर्धारण गरिरहेको छ।

सत्ता हातमा, तर स्थायित्वको परीक्षा बाँकी
सरोजकुमार यादवको दोस्रो सत्तारोहणले जसपालाई मधेश प्रदेश सरकारको नेतृत्वमा फर्काएको छ। तर सरकार गठनको प्रक्रियामै देखिएको अविश्वास, एमालेसँगको टकराव, कांग्रेस र नेकपाको अनिश्चितता तथा जसपाभित्रको असन्तुष्टिले उनको राजनीतिक यात्रा सहज देखिँदैन।

एमालेले जसपालाई ‘डबल क्रस’ गरेको आरोप लगाएको छ। जसपाका केही नेताले एमालेकै राजनीतिक शैलीमा जवाफ दिएको दाबी गरेका छन्। पार्टी महासचिवले भने यसलाई प्रतिशोध नभई संवैधानिक दायित्व निर्वाहको निर्णय भनेका छन्। एउटै घटनालाई लिएर दल र नेताहरूका फरक–फरक व्याख्या सार्वजनिक भइरहेका छन्।

अब निर्णायक प्रश्न भनेको सरोज यादवले ३० दिनभित्र विश्वासको मत कसरी जुटाउँछन् भन्ने हो। जसपाले अन्य दलको समर्थन पाउन सके सरकार अघि बढ्न सक्छ। तर एमाले, कांग्रेस र नेकपामध्ये कुनै दलको समर्थन नजुटे उनको मुख्यमन्त्री पद फेरि संकटमा पर्न सक्छ।

मधेशमा मुख्यमन्त्री फेरिए पनि राजनीतिक अस्थिरताको चक्र भने रोकिएको छैन। सरोज यादवको दोस्रो कार्यकाल प्रदेशलाई स्थायित्व दिने सरकार बन्ने हो वा सत्ता समीकरणको अर्को अस्थायी अध्याय मात्रै बन्ने हो, त्यसको पहिलो जवाफ प्रदेशसभामा हुने विश्वासको मतले दिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट