विद्यालयको हिसाबकिताबमा प्रश्न उठाउँदा शिक्षिकाको सरुवा, विवाद चर्किएपछि दुई शिक्षिकाको जगल्टा लुछालुछ!

काठमाडौँ– विद्यालयको आर्थिक कारोबारमा अनियमितता भएको भन्दै प्रश्न उठाउने एक शिक्षिकाको सरुवा गर्ने निर्णयपछि चर्किएको विवाद अन्ततः दुई शिक्षिकाबीचको कुटाकुटसम्म पुगेको छ। दोलखाको वैतेश्वर गाउँपालिका–८ स्थित क्षत्रवती माध्यमिक विद्यालयमा भएको घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विद्यालयभित्रको विवाद बाहिर आएको हो।

अङ्ग्रेजी विषयकी शिक्षिका नम्रता श्रेष्ठ र एसिडी शिक्षिका सरस्वती पराजुलीबीच भएको हातपातको घटनाले अहिले विद्यालयको शैक्षिक वातावरण, आर्थिक पारदर्शिता र स्थानीय तहको जवाफदेहितामाथि प्रश्न उठाएको छ। घटनालाई दुई शिक्षिकाबीचको व्यक्तिगत मनमुटावका रूपमा मात्र हेर्न नमिल्ने देखिन्छ। किनकि विवादको पृष्ठभूमिमा विद्यालयको आर्थिक हिसाबकिताब, नक्कली हस्ताक्षर प्रयोग गरेर रकम चलाइएको आरोप, शिक्षिका श्रेष्ठको सरुवा निर्णय र विद्यार्थीलाई विवादमा तानिएको दुवै पक्षका परस्पर विरोधी दाबी छन्।

शिक्षिका नम्रता श्रेष्ठले २०७९ माघ २३ गतेदेखि क्षत्रवती माध्यमिक विद्यालयमा अध्यापन सुरु गरेकी थिइन्। उनका अनुसार विद्यालयमा काम गर्न थालेको केही समयपछि आर्थिक तथा प्रशासनिक गतिविधिप्रति असन्तुष्टि बढ्दै गएको थियो। विद्यालयको लेखासम्बन्धी शङ्कास्पद विषयमा प्रश्न उठाउन थालेपछि आफूलाई प्रशासनिक रूपमा असहयोग गरिएको र दबाब सिर्जना गरिएको उनको आरोप छ।

श्रेष्ठका अनुसार विद्यालयको हरहिसाबमा गडबडी देखिएपछि एकाएक बैठक राखेर आफूलाई लेखाको समेत जिम्मेवारी दिइएको थियो। उनले विद्यालयको आर्थिक कारोबारबारे गाउँपालिकालाई जानकारी गराए पनि सुनुवाइ नभएको दाबी गरेकी छिन्। उनको सबैभन्दा गम्भीर आरोप भने आफ्नो नक्कली हस्ताक्षर प्रयोग गरेर विद्यालयको रकम चलाइएको भन्ने छ।

‘विद्यालयले मेरै कीर्ते हस्ताक्षर गरेर पैसा चलाएको प्रमाण पत्ता लगाएर अख्तियारमा उजुरी हालेँ। त्यसपछि म विद्यालय प्रशासनको तारो बनेँ,’ श्रेष्ठको भनाइ छ। आर्थिक पारदर्शिताको विषय उठाएकै कारण आफूलाई निशाना बनाइएको उनको दाबी छ। तर, विद्यालयको आर्थिक कारोबारमा वास्तवमै अनियमितता भएको हो वा नक्कली हस्ताक्षर प्रयोग गरेर रकम निकालिएको हो भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आधिकारिक निष्कर्ष सार्वजनिक भएको छैन।

विद्यालयभित्रको विवादकै बीच गत मंसिर १ गते गाउँपालिका शिक्षा समितिको बैठकले श्रेष्ठलाई क्षत्रवती माध्यमिक विद्यालयबाट वडा नम्बर ७ स्थित कालिका माध्यमिक विद्यालयमा सरुवा गर्ने निर्णय गर्‍यो। श्रेष्ठका अनुसार आफूलाई पूर्वजानकारी नदिई सरुवाको निर्णय गरिएको थियो। विद्यालयको आर्थिक कारोबारमा प्रश्न उठाइरहेकै अवस्थामा अर्को विद्यालयमा पठाउने निर्णय गरिएकाले यसलाई आफूविरुद्धको प्रशासनिक कदमका रूपमा लिएको उनले बताएकी छिन्।

तर, शिक्षा समितिले सरुवाको निर्णय कुन आधारमा गरेको हो भन्ने विषय सार्वजनिक रूपमा स्पष्ट पारेको छैन। आर्थिक अनियमितताबारे प्रश्न उठाएकै कारण सरुवा गरिएको हो वा विद्यालयको शैक्षिक वातावरण र प्रशासनिक व्यवस्थापनसँग सम्बन्धित कारणले निर्णय गरिएको हो भन्ने विषय अझै प्रस्ट हुन सकेको छैन।

सरुवाको निर्णयपछि विद्यालयमा आफूविरुद्ध विद्यार्थी र अभिभावकलाई परिचालन गर्ने प्रयास भएको श्रेष्ठको आरोप छ। उनका अनुसार सरस्वती पराजुलीलगायत केही शिक्षकले विद्यार्थीलाई प्रत्यक्ष भेटेर र फोनमार्फत उनीविरुद्ध बोल्न लगाएका थिए। अभिभावकलाई फोन गरेर ‘नम्रताले विद्यालय बिगारेको’ भन्दै विरोधको वातावरण बनाउन आग्रह गरिएको जानकारी आफूले पाएको उनको दाबी छ।

विद्यार्थीलाई विद्यालयको आन्तरिक विवादमा तानिएको भन्दै आफूले आपत्ति जनाएको श्रेष्ठले बताएकी छिन्। त्यही विषयमा पराजुलीसँग जवाफ माग्ने क्रममा विवाद बढेको र हातपात भएको उनको भनाइ छ। पराजुली कार्यालयबाट बाहिरिन खोजेपछि आफूले स्पष्टीकरण मागेको र सोही क्रममा आफूमाथि पहिले हातपात भएको श्रेष्ठको दाबी छ।

उनले आफूले पनि आत्मरक्षाका क्रममा प्रतिकार गरेको स्वीकार गरेकी छिन्। कुटपिटबाट आफ्नो खुट्टामा नीलडाम बसेको बताउँदै उनले घटनालाई विद्यालयभित्रको बेथितिसँग जोडेर हेर्नुपर्ने जिकिर गरेकी छिन्।

शिक्षिका सरस्वती पराजुलीले भने श्रेष्ठको आरोप अस्वीकार गर्दै विद्यालयको वातावरण बिग्रिएपछि सरुवा गरिएको दाबी गरेकी छिन्। उनका अनुसार श्रेष्ठको व्यवहार र निरन्तरको मनमुटावका कारण विद्यालयको वातावरण प्रभावित भएको थियो। त्यसैलाई ध्यानमा राखेर गाउँपालिकाले सरुवाको निर्णय गरेको हुन सक्ने उनको भनाइ छ।

घटनाको दिन राष्ट्रपति रनिङ सिल्डका लागि विद्यार्थी छनौट कार्यक्रम चलिरहेको र आफू विद्यार्थीलाई अभ्यास गराउन व्यस्त रहेको पराजुलीले बताएकी छिन्। सरुवा भएपछि श्रेष्ठले आफूअनुकूल छात्राहरू जम्मा पारेर आफ्नो विरुद्धमा बोल्न लगाएको उनको आरोप छ। विद्यार्थीलाई आफूले के सिकाएको भनेर सोधिएको विषय प्रधानाध्यापकलाई जानकारी गराएपछि श्रेष्ठले आफूलाई त्यसबारे प्रश्न गरेको उनले बताइन्।

पराजुलीका अनुसार विद्यालय जाने बाटोमै श्रेष्ठले उनलाई रोकेपछि विवाद सुरु भएको थियो। त्यसक्रममा धकेलाधकेल हुँदै हात हालाहाल भएको र पहिले श्रेष्ठले नै हातपात गरेको उनको दाबी छ। शिक्षकहरूले छुट्याएपछि तत्कालका लागि घटना साम्य भए पनि विद्यालय छुट्टी भएपछि घर फर्कने क्रममा आफू पुनः आक्रमणमा परेको पराजुलीले आरोप लगाएकी छिन्।

पराजुलीले श्रेष्ठकी हजुरआमा, आमा र बहिनीले बाटो छेकेर आफूलाई कुटपिट गरेको आरोप लगाएकी छिन्। उनका अनुसार सुरुमा श्रेष्ठकी हजुरआमाले कपाल तानेर भुइँमा लडाउँदै कुटपिट गरेकी थिइन्। त्यसपछि श्रेष्ठकी आमा र बहिनीसमेत कुटपिटमा संलग्न भएको उनको दाबी छ। आफूले सहयोग माग्न जेठाजुलाई फोन गर्न खोज्दा श्रेष्ठकी बहिनीले मोबाइल खोसेर फालिदिएको आरोपसमेत उनले लगाएकी छिन्।

पराजुलीले श्रेष्ठ पनि घटनास्थलमा आएर कुटपिटमा संलग्न भएको र अन्त्यमा ‘यसलाई छोडिम्, देखिस् नि’ भन्दै गएको दाबी गरेकी छिन्। श्रीमान् विदेशमा रहेको र दुई सन्तानको जिम्मेवारी आफैँले सम्हाल्दै आएको बताउने पराजुलीले आफूलाई ज्यानै लिने धम्कीसमेत आएको बताएकी छिन्।

‘मलाई ज्यानै लिने धम्कीसमेत आएको छ। उपचारपछि कानुनी बाटो अपनाउँछु,’ चरिकोटस्थित छो–रोल्पा अस्पतालको शैय्या नम्बर १४ मा उपचाररत उनले बताएकी छिन्। दुवै शिक्षिकाले एकअर्कामाथि हातपातको आरोप लगाएका छन्। घटनाको वास्तविक क्रम, को–को संलग्न थिए र कसले पहिले हातपात ग¥यो भन्ने विषय प्रहरी अनुसन्धानबाट पुष्टि हुन बाँकी छ।

घटनापछि विद्यालय व्यवस्थापन र स्थानीय जनप्रतिनिधिको भूमिकामाथि पनि प्रश्न उठेको छ। वैतेश्वर गाउँपालिका–८ का वडाध्यक्ष शान्तकुमार जिरेलले सामान्य विषयलाई ठूलो बनाउँदा यस्तो अवस्था आएको प्रतिक्रिया दिएका छन्। अब कानुनी निकायले नै घटनाको छिनोफानो गर्ने भएकाले यसबारे थप टिप्पणी गर्न उचित नहुने उनको भनाइ छ।

विद्यालयका प्रधानाध्यापक ध्रुव कार्कीले भने घटनाबारे प्रतिक्रिया दिन चाहेनन्। प्रहरी घटनास्थलमै पुगेर सबै कुरा बुझिसकेको अवस्थामा आफूले थप बोल्न आवश्यक नरहेको उनको बुझाइ छ। गाउँपालिका अध्यक्ष छवि लामाले पनि श्रेष्ठको सरुवाको कारणबारे आफूलाई जानकारी नभएको भन्दै प्रधानाध्यापकलाई नै सोध्न आग्रह गरेका छन्।

तर, विद्यालयभित्र लामो समयदेखि विवाद चलिरहेको अवस्थामा त्यसलाई समाधान गर्न प्रधानाध्यापक र विद्यालय व्यवस्थापनले के प्रयास गरे ? शिक्षा समितिले सरुवाको निर्णय कुन आधारमा गर्‍यो ? आर्थिक अनियमितताबारे उजुरी परेपछि गाउँपालिकाले छानबिन ग¥यो कि गरेन ? यी प्रश्नको जवाफ सम्बन्धित निकायले दिनुपर्ने देखिन्छ।

विद्यालय ज्ञान, अनुशासन र सभ्यता सिकाउने थलो हो। त्यहीँका शिक्षकहरू व्यक्तिगत तथा प्रशासनिक विवादमा हातपातमा उत्रिनु आफैँमा गम्भीर विषय हो। अझ विद्यालयको आर्थिक पारदर्शिताबारे प्रश्न उठेको अवस्थामा त्यसको निष्पक्ष छानबिन नगरी विवादलाई केवल दुई शिक्षिकाबीचको झगडामा सीमित गर्नु उचित हुँदैन।

आर्थिक अनियमितताको आरोप प्रमाणित हुन बाँकी छ, सरुवाको आधार पनि स्पष्ट छैन र कुटपिटको घटनामा दुवै पक्षका दाबी परस्पर विरोधी छन्। त्यसैले सामाजिक सञ्जालमा भाइरल भिडियोका आधारमा मात्रै दोषी निर्धारण गर्न मिल्दैन। अब गाउँपालिका, शिक्षा समिति, विद्यालय प्रशासन र प्रहरीले आ–आफ्नो जिम्मेवारी पूरा गर्छन् कि यो घटनालाई आपसी मनमुटावको संज्ञा दिएर पन्साउँछन् ? वैतेश्वरको शिक्षा प्रशासनसामु गम्भीर प्रश्न खडा भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट