अर्थ मन्त्रालयको पत्रले हजारौँ शिक्षक अन्योलमा– ‘२०७५ चैत ४ पछि नियुक्त शिक्षकलाई सरकारी दायित्वमा उपदान/पेन्सन दिन मिल्दैन’
काठमाडौँ– २०७५ चैत ४ पछि स्थायी नियुक्त भएका शिक्षकको अवकाशपछिको सुविधा के हुने भन्ने विवाद फेरि चर्किएको छ। अर्थ मन्त्रालयको एउटा पत्रमा उक्त मितिपछि नियुक्त शिक्षकलाई नेपाल सरकारको दायित्व पर्ने गरी उपदान र निवृत्तिभरण दिन नमिल्ने उल्लेख भएपछि देशभरका शिक्षक अन्योलमा परेका छन्।
तर विडम्बना, योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्ने कानुनी व्यवस्था बने पनि शिक्षकको तलबबाट योगदान रकम कट्टा गर्ने र सरकारले आफ्नो हिस्सा थपेर कोषमा जम्मा गर्ने प्रक्रिया अहिलेसम्म सुरु भएको छैन।
अर्थ मन्त्रालयको बजेट महाशाखाले शिक्षा मन्त्रालयलाई पठाएको पत्रमा निवृत्तिभरण कोष ऐन, २०७५ प्रारम्भ भएपछि नेपाल सरकारको दायित्व पर्ने गरी उपदान र निवृत्तिभरण पाउने गरी कुनै कर्मचारी, शिक्षक वा पदाधिकारी नियुक्त नहुने तथा गर्न नपाइने विषयमा २०८३ असार १० गते निर्णय भएको उल्लेख छ।
२०८३ असार १२ गतेको मितिमा जारी उक्त पत्र अहिले सार्वजनिक भएपछि २०७५ चैत ४ पछि स्थायी नियुक्त भएका शिक्षकले अवकाश हुँदा पाउने सुविधाबारे नयाँ बहस सुरु भएको हो। शिक्षकहरूले तलबबाट योगदान रकम नै कट्टा नभएको अवस्थामा पुरानो मितिदेखि योगदानमा आधारित पेन्सन प्रणाली लागू भएको अर्थ लगाउन नमिल्ने बताउँदै आएका छन्।
यसले शिक्षकसामु दुईवटा प्रश्न खडा गरेको छ—पुरानो व्यवस्थाअनुसार पाउँदै आएको उपदान तथा निवृत्तिभरणको सुविधा के हुने र नयाँ योगदानमा आधारित प्रणाली कार्यान्वयन नभएसम्म अवकाश हुने शिक्षकले कुन व्यवस्थाअनुसार सुविधा पाउने?
अर्थको पत्रले बढायो अन्योल
नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र रावलले अर्थ मन्त्रालयले आवश्यक समन्वय नगरी पुरानो मितिको पत्र सार्वजनिक हुँदा अनावश्यक विवाद सिर्जना भएको बताए।
उनका अनुसार शिक्षकको तलबबाट योगदान रकम कट्टा गर्ने प्रक्रिया नै सुरु नभएको अवस्थामा २०७५ चैत ४ देखि योगदानमा आधारित पेन्सन लागू भएको व्याख्या गर्नु उचित हुँदैन। ‘शिक्षकको तलबबाट कोष नै नकाटिएको अवस्थामा पुरानो मितिबाट यो व्यवस्था लागू गर्न खोजियो भनेर विवाद गर्नुको अर्थ छैन,’ रावलले भने, ‘योगदानमा आधारित पेन्सन प्रणाली यो कानुन कार्यान्वयन भएको मितिभन्दा पहिलेबाट लागू हुन सक्दैन।’
उनले शिक्षा र अर्थ मन्त्रालयसँग यस विषयमा समन्वय भइरहेको र अर्थ मन्त्रालयले पुरानो पत्रको आशय स्पष्ट पार्ने गरी अर्को पत्रसमेत जारी गरिसकेको बताए। शिक्षक संघका पूर्वकेन्द्रीय सदस्य कुलप्रसाद लामिछानेले सरकारले शिक्षकले खाइपाइ आएको सुविधा कसरी कटौती गर्ने भन्नेमा बढी ध्यान दिएको आरोप लगाए। योगदानमा आधारित पेन्सन प्रणाली पुरानो व्यवस्थाजस्तो प्रभावकारी नहुने उनको दाबी छ।
‘शिक्षा ऐनलाई आधार मानेर जाँदा कार्यान्वयन गर्नुको विकल्प त हुँदैन, तर पहिले कोष नै नकाटी कसरी पुरानो मितिको बहस हुन्छ र?’ लामिछानेले प्रश्न गरे, ‘मन्त्रालयबाट सार्वजनिक भएका पत्रहरू नै विवादित छन्। यसलाई छिट्टै स्पष्ट पार्नुपर्छ।’
उनका अनुसार कानुन कार्यान्वयनमा आएपछि मात्र त्यसको व्यावहारिक प्रक्रिया सुरु हुनुपर्ने हो। योगदान रकम नै कट्टा नगरी पुरानो मितिबाट पेन्सन प्रणाली लागू भएको व्याख्या गर्नु शिक्षकका लागि न्यायोचित हुँदैन।
निजामतीमा लागू, शिक्षकको तलबबाट अझै कटौती छैन
निवृत्तिभरण कोष ऐन, २०७५ अनुसार निजामती कर्मचारीको हकमा २०७६ साउन १ देखि योगदानमा आधारित पेन्सन प्रणाली कार्यान्वयनमा छ। उक्त प्रणालीमा कर्मचारीको तलबबाट ६ प्रतिशत रकम कट्टा गरी सरकारले पनि त्यति नै रकम थपेर कोषमा जम्मा गर्दै आएको छ।
तर शिक्षकको हकमा भने लामो समयसम्म योगदानमा आधारित पेन्सनको व्यवस्था लागू गर्ने कानुनी आधार नै स्पष्ट थिएन। सुरुमा निवृत्तिभरण कोष ऐनमा शिक्षक सेवालाई समावेश गरिएको थिएन।
पछि २०८१ चैत १८ गते प्रमाणीकरण भएको ऐन संशोधनमार्फत शिक्षक सेवालाई पनि योगदानमा आधारित निवृत्तिभरण प्रणालीमा समावेश गर्ने व्यवस्था गरियो। संशोधनमा शिक्षकका हकमा उक्त व्यवस्था २०८२ वैशाख १ देखि लागू हुने उल्लेख छ।
यससँगै शिक्षकको पेन्सन प्रणाली पनि योगदानमा आधारित हुने कानुनी बाटो खुलेको थियो। तर त्यसअनुसार शिक्षा ऐन तथा नियमावलीमा आवश्यक संशोधन, कोषमा आबद्धता र शिक्षकको तलबबाट योगदान रकम कट्टा गर्ने प्रक्रिया अघि बढ्न सकेको छैन।
शिक्षक सेवा आयोगबाट स्थायी नियुक्तिका लागि सिफारिस हुने र नियुक्ति पाउने क्रम जारी रहे पनि नयाँ प्रणालीअनुसार कर्मचारीको ६ प्रतिशत र सरकारको ६ प्रतिशत रकम जम्मा गर्ने व्यवस्था कार्यान्वयनमा नआउँदा समस्या थपिएको शिक्षकहरूको भनाइ छ।
२०७५ चैत ४ को मितिमै किन विवाद?
निवृत्तिभरण कोष ऐन, २०७५ को दफा ३३ ले ऐन प्रारम्भ भएपछि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह तथा सरकारी स्वामित्व वा नियन्त्रणमा रहेका वा नियमित अनुदान पाउने संस्थाले सरकारको दायित्व पर्ने गरी उपदान र निवृत्तिभरण पाउने गरी कर्मचारी, शिक्षक तथा पदाधिकारी नियुक्त गर्न नपाउने व्यवस्था गरेको छ।
सोही दफाको अर्को व्यवस्थाले त्यस्ता कर्मचारी तथा शिक्षकका लागि कानुन बनाएर योगदानमूलक निवृत्तिभरण प्रणाली लागू गर्न सकिने बाटो पनि खोलेको छ। तर ऐनको उक्त व्यवस्था र शिक्षक सेवासम्बन्धी प्रचलित शिक्षा नियमावलीबीचको सम्बन्ध स्पष्ट नहुँदा २०७५ चैत ४ पछि स्थायी नियुक्त भएका शिक्षकको अवकाश सुविधा अन्योलमा परेको हो।
यसअघि २०८१ पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश ल्याउने निर्णय गरेको थियो। उक्त प्रक्रियाबाट निवृत्तिभरण कोष ऐन संशोधन गरी २०७५ चैत ४ पछि नियुक्त भएका शिक्षकलाई समेत योगदानमा आधारित निवृत्तिभरण कोषमा आबद्ध गराउने प्रस्ताव अघि बढाइएको थियो।
तर शिक्षकहरूले आफूहरूलाई जानकारी र पर्याप्त छलफल नगरी पुरानो मितिदेखि नयाँ प्रणालीमा लैजान खोजिएको भन्दै विरोध गरेका थिए। शिक्षक आन्दोलन र सरकारसँग भएको सहमतिपछि उक्त प्रस्तावको कार्यान्वयन अघि बढ्न सकेन।
पछि २०८१ चैत १८ को संशोधनले शिक्षक सेवालाई समेट्दै २०८२ वैशाख १ लाई लागू हुने मिति तोकेको भए पनि व्यवहारमा योगदान रकम जम्मा गर्ने प्रक्रिया सुरु नहुँदा विवाद समाधान हुन सकेको छैन।
शिक्षकको मागः नियुक्तिको मिति र सुविधा स्पष्ट गरियोस्
पोखराका शिक्षक कृष्णप्रसाद आचार्यले २०७५ सालपछि नियुक्त स्थायी शिक्षकको पेन्सनसम्बन्धी व्यवस्था कानुनी रूपमा स्पष्ट पार्नुपर्ने बताए। उनका अनुसार २०८२ वैशाख १ अघि नियुक्त भएका स्थायी शिक्षकलाई पुरानै व्यवस्थाअनुसार पेन्सन वा उपदानको सुविधा सुनिश्चित गर्नुपर्छ। त्यसपछि नियुक्त हुने शिक्षकका हकमा मात्र योगदानमा आधारित पेन्सन प्रणाली लागू गरी कोषमा नियमित रकम जम्मा गर्ने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।
आचार्यका अनुसार योगदानमा आधारित प्रणालीमा कर्मचारीको ६ प्रतिशत र सरकारको ६ प्रतिशत गरी कुल १२ प्रतिशत रकम कोषमा जम्मा हुने व्यवस्था छ। २० वर्ष सेवा अवधि पूरा भएपछि मासिक निवृत्तिभरण पाउने व्यवस्था रहेको उल्लेख गर्दै उनले शिक्षकको तलबबाट रकम कट्टा नै नभएको अवस्थामा पुरानो मितिबाट नयाँ प्रणाली लागू भएको मान्न नसकिने बताए।
उनले राज्यको आर्थिक दायित्व कम गर्ने उद्देश्यले सरकारले पुरानो उपदान तथा निवृत्तिभरण प्रणालीको सट्टा योगदानमा आधारित व्यवस्था अघि सारेको भए पनि त्यसको संक्रमणकालीन व्यवस्थापन स्पष्ट हुनुपर्ने बताए।
किताबखानाको स्पष्टीकरणः २० वर्ष सेवा गरेपछि पेन्सनको व्यवस्था
यसैबीच राष्ट्रिय किताबखानाले शिक्षकको पेन्सन गणना, सेवा अवधि र ग्रेड रकमबारे छुट्टै स्पष्टीकरण जारी गरेको छ। प्रचलित कानुनी व्यवस्था, आधिकारिक अभिलेख र यथार्थ तथ्य नबुझी टिप्पणी भइरहेको भन्दै किताबखानाले निवृत्तिभरण निर्धारणको प्रक्रिया स्पष्ट पारेको हो।
किताबखानाका अनुसार शिक्षा नियमावली, २०५९ को नियम ११३(१) बमोजिम नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा स्थायी नियुक्ति पाई कम्तीमा २० वर्ष सेवा गरेका शिक्षकले मासिक निवृत्तिभरण पाउने व्यवस्था छ।
निवृत्तिभरण गणनाको सूत्र यस्तो छः
जम्मा गणना हुने नोकरी वर्ष × आखिरी महिनाको तलब ÷ ५०
नियमावलीअनुसार निवृत्तिभरणको न्यूनतम रकम समान पदमा कार्यरत शिक्षकको सुरु तलबको आधाभन्दा कम र अधिकतम रकम सुरु तलब स्केलभन्दा बढी हुन नहुने व्यवस्था छ। सूत्रबाट आउने रकम न्यूनतम सीमाभन्दा कम भएमा नपुग रकम थप गरी न्यूनतम सीमा कायम गरिन्छ।
किताबखानाले दिएको उदाहरणअनुसार २० वर्ष सेवा गरेका प्राथमिक तृतीय श्रेणीका शिक्षकको सूत्रअनुसार १७ हजार ३७१ रुपैयाँ २० पैसा निवृत्तिभरण निस्किए पनि सुरु तलब ३६ हजार १९२ रुपैयाँको आधा अर्थात् १८ हजार ९६ रुपैयाँ पु¥याउन ७२४ रुपैयाँ ८० पैसा थप गरिन्छ।
सेवा अवधि गणनामा भने सबै समय स्वतः जोडिँदैन। नियम ११४ अनुसार असाधारण बिदा, बेतलबी बिदा, स्वीकृति नलिई अनुपस्थित रहेको अवधि तथा स्थायी सेवामा विच्छेद भएको अवधि कट्टा गरिने किताबखानाले जनाएको छ।
त्यस्तै, एक शैक्षिक सत्र पूरा गरेपछि पाउने तलब वृद्धि अर्थात् ग्रेड रकम अवकाश हुँदाका बखत लागू आधिकारिक अभिलेख र स्वीकृत तलब प्रतिवेदनबाट पुष्टि भएअनुसार अन्तिम महिनाको तलबमा गणना हुने स्पष्ट पारेको छ।
छुट प्राविधिक ग्रेडका विषयमा सर्वोच्च अदालतको २०७६ वैशाख १५ को आदेश र शिक्षा मन्त्रालयको २०८२ भदौ २ को निर्णय कार्यान्वयनसम्बन्धी पत्रअनुसार तोकिएको योग्यता, नियुक्ति समय, तालिम र प्रमाणका आधारमा मात्र योग्य शिक्षकले सुविधा पाउने किताबखानाको भनाइ छ।
कुनै शिक्षकको पेन्सन रकममा फरक परेको देखिएमा आवश्यक विवरण र कागजातसहित सम्पर्क गरे परीक्षण तथा सुधारको प्रक्रिया अपनाउन सकिने पनि किताबखानाले जनाएको छ।
पत्रको व्याख्या मात्रै होइन, शिक्षकको अवकाश सुविधाको ग्यारेन्टी चाहियो
अर्थ मन्त्रालयको पत्र, निवृत्तिभरण कोष ऐनको व्यवस्था र शिक्षा नियमावलीमा रहेको पेन्सनसम्बन्धी प्रावधानबीच स्पष्टता नहुँदा शिक्षकहरू अन्योलमा परेका छन्। एकातिर पुरानो व्यवस्थाअनुसार उपदान वा पेन्सन पाउने आधारबारे विवाद छ भने अर्कोतिर नयाँ प्रणालीअनुसार योगदान रकम जम्मा गर्ने प्रक्रिया पनि सुरु भएको छैन।
विशेषगरी २०७५ चैत ४ पछि नियुक्त र २०८२ वैशाख १ अघि नियुक्त शिक्षकको हकमा कुन कानुनी व्यवस्था लागू हुने भन्ने विषय स्पष्ट पार्नुपर्ने देखिएको छ। अर्थ मन्त्रालयको पत्रले उठाएको प्रश्नको शिक्षा मन्त्रालयले कानुनी आधारसहित स्पष्ट जवाफ दिनुपर्ने शिक्षकहरूको माग छ।
शिक्षकहरूको मुख्य माग पुरानो मितिको पत्रको आशय स्पष्ट पार्नु, शिक्षा ऐन तथा नियमावलीलाई आवश्यक संशोधन गर्नु र योगदानमा आधारित पेन्सन लागू हुने मिति तथा त्यसअघिका नियुक्त शिक्षकको अवकाश सुविधाबारे ठोस निर्णय गर्नु हो।
सरकारले नयाँ पेन्सन प्रणाली लागू गर्ने कानुन बनाउने तर त्यसअनुसार रकम कट्टा र जम्मा नगर्ने, पुरानो व्यवस्थाको सुविधा पनि स्पष्ट नगर्ने हो भने अवकाशको मुखमा पुगेका शिक्षकको आर्थिक सुरक्षामाथि नै प्रश्न उठ्नेछ। त्यसैले यो विवाद केवल पेन्सन गणनाको प्राविधिक विषय होइन, राज्यले आफ्ना शिक्षकलाई अवकाशपछि दिने सुविधाको दायित्व कसरी पूरा गर्छ भन्ने प्रश्न पनि हो।

लोकप्रिय
ताजा अपडेट
पहिले घर भत्काइयो, अहिले खाना रोकियोः बोडेमा रित्तो थाल बजाउँदै सुकुम्बासीको आक्रोश-‘बास नदिई निकाल्ने सरकार मुर्दावाद !’

