मलंगवाबाट सितापुर जाँदै गर्दा काल बन्यो नहर, मोटरसाइकलसहित खस्दा २३ वर्षीय युवकको ज्यान गयो !

सर्लाही– मलंगवाबाट सितापुरतर्फ जाँदै गरेका दुई युवक सवार मोटरसाइकल पुलबाट अनियन्त्रित भएर नहरमा खस्दा चालकको ज्यान गएको छ भने पछाडि सवार अर्का युवक घाइते भएका छन्।

सर्लाहीको बरहथवा नगरपालिका–१७ कटानीस्थित पुलमा बुधबार साँझ करिब ७ बजे प्रदेश २–०३–००७ प ८५८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई नहरमा खसेको थियो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक बरहथवा नगरपालिका–१ नयाँ बजारका २३ वर्षीय रुपेश पासवान गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि बरहथवास्थित भेनस अस्पताल पु¥याइएको थियो। तर, चिकित्सकले परीक्षण गर्दा उनलाई मृत घोषणा गरेका थिए।

मोटरसाइकलको पछाडि सवार सोही स्थानका २२ वर्षीय सुवेश पासवान पनि दुर्घटनामा घाइते भएका छन्। उनको चिउँडोमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

मलंगवाबाट सितापुरतर्फ गइरहेको मोटरसाइकल पुलमा पुगेपछि कसरी अनियन्त्रित भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। दुर्घटनामा परेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक सुष्मा कठेतको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनाको वास्तविक कारण भने प्रहरी अनुसन्धानपछि खुल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट