पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, बिरामी आमाको बहाना बनाएर १३ लाख ७० हजार ठगेको जाहेरी !

लहान– पूर्वमन्त्री तथा नेकपाका नेता मातृका प्रसाद यादवका नाति सन्तुलनकुमार यादव ठगीसम्बन्धी कसुरमा पक्राउ परेका छन्। बिरामी आमाको उपचार गर्नुपर्ने समस्या देखाएर एक व्यक्तिबाट पटक–पटक गरी १३ लाख ७० हजार ७५० रुपैयाँ लिएको र फिर्ता नगरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

करिब २५ वर्षीय सन्तुलन पूर्वमन्त्री यादवकी छोरी सङ्गीता देवी यादवका छोरा हुन्। मिर्चैया नगरपालिका–६ निवासी उनलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरी ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार मिर्चैया नगरपालिका–६ कै अली भनिने गुलाम गौसले दिएको जाहेरीका आधारमा यादवलाई पक्राउ गरिएको हो। जाहेरीमा यादवले आफ्नी आमा बिरामी रहेको र उपचारका लागि रकम आवश्यक परेको भन्दै पटक–पटक पैसा मागेको उल्लेख छ।

पीडित गौसले खल्ती एप, बैंक ट्रान्सफर तथा नगदमार्फत यादवलाई कुल १३ लाख ७० हजार ७५० रुपैयाँ दिएको प्रहरीको भनाइ छ। रकम लिएपछि यादवले फिर्ता गर्ने आश्वासन दिए पनि लामो समयसम्म नदिएको भन्दै पीडित प्रहरीको सम्पर्कमा पुगेका थिए।

गौसले पटक–पटक रकम फिर्ता माग्दा यादवले ‘आज–भोलि’ भन्दै टार्दै आएको तर हालसम्म रकम नदिएको जाहेरीमा उल्लेख गरिएको छ। यही उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

एक जनाको जाहेरी, अरूबाट पनि लाखौँ ठगीको आरोप
प्रहरीका अनुसार यादवमाथि गुलाम गौसबाट रकम लिएको आरोप मात्रै छैन। अन्य व्यक्तिहरूबाट समेत लाखौँ रुपैयाँ ठगी गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले यादवविरुद्ध एक जनाको जाहेरी परेको भए पनि अन्य व्यक्तिहरूबाट समेत ठगी भएको आरोप रहेको बताए।

उनका अनुसार यादवलाई ठगीसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ। थप पीडित र आर्थिक कारोबारबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

पक्राउबारे सार्वजनिक जानकारी दिन किन ढिलाइ ?
यादवलाई प्रहरीले पक्राउ गरेको समय र त्यसबारे सार्वजनिक भएको जानकारीबीच अन्तर देखिएको छ। स्रोतका अनुसार प्रहरीले उनलाई गत आइतबार नै पक्राउ गरेको थियो। तर पक्राउबारे तत्काल सार्वजनिक नगरिएको र राजनीतिक दबाबका कारण विवरण सार्वजनिक गर्न आनाकानी गरिएको स्रोतको दाबी छ।

यस विषयमा प्रतिक्रिया लिन इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुखसँग सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी पालले भने मिर्चैया प्रहरीले यादवलाई पाँच दिनअघि नै पक्राउ गरेको भए पनि आफूलाई पक्राउसम्बन्धी विवरण त्यस दिन मात्रै प्राप्त भएको बताए।

मातृका यादवले दबाब दिएको स्रोतको दाबी
यस घटनामा पूर्वमन्त्री मातृका प्रसाद यादवको नामसमेत जोडिएको छ। स्रोतले पूर्वमन्त्री यादवले आफ्ना नातिलाई छुटाउन राजनीतिक दबाब बढाइरहेको दाबी गरेको छ। तर यस दाबीको स्वतन्त्र पुष्टि भएको छैन।

यस विषयमा पूर्वमन्त्री यादवको आधिकारिक प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

यद्यपि, नातेदारको राजनीतिक पहुँच वा पारिवारिक सम्बन्धभन्दा बाहिर रहेर प्रहरीले अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउनुपर्ने विषय अहिले चासोको केन्द्रमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट