पहिले घर भत्काइयो, अहिले खाना रोकियोः बोडेमा रित्तो थाल बजाउँदै सुकुम्बासीको आक्रोश-‘बास नदिई निकाल्ने सरकार मुर्दावाद !’

भक्तपुर– घर भत्किएपछि अस्थायी आश्रयमा राखिएका सुकुम्बासी परिवारलाई सात महिनासम्म पुनर्वासको टुंगो लागेन। अहिले त्यही अस्थायी आश्रयबाट समेत हट्नुपर्ने अवस्था आएपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रित परिवार रित्तो थाल बोकेर सरकारविरुद्ध सडकमा उत्रिएका छन्।

खाना वितरणसमेत रोकिएपछि बालबालिका, महिला र ज्येष्ठ नागरिकसहितका विस्थापितले ‘बास नदिई निकाल्ने सरकार मुर्दावाद’ भन्दै प्रदर्शन गरे। भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा बनाइएको होल्डिङ सेन्टरमा रहेका १९ परिवारका ५९ जना शुक्रबार बिहानैदेखि विरोधमा उत्रिएका हुन्।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले मंसिर ९ गते सूचना टाँसेर शुक्रबार दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न निर्देशन दिएपछि उनीहरू आन्दोलित भएका हुन्। प्रदर्शनमा सहभागीले रित्तो स्टिलका थाल, बटुका र चम्चा अगाडि राखेर थाल ठटाएका थिए। उनीहरूका हातमा ‘व्यवस्था नगरी हटाउन पाइँदैन’, ‘हाम्रो बास खोस्न पाइँदैन, तानाशाही चलाउन पाइँदैन’ र ‘बास नदिई निकाल्ने सरकार मुर्दावाद’ जस्ता नारा लेखिएका प्लेकार्ड थिए।

सरकारले एकातिर होल्डिङ सेन्टर खाली गर्न समयसीमा तोकेको र अर्कोतिर त्यहाँ खाना खुवाउँदै आएको संस्थालाई समेत हट्न निर्देशन दिएको विस्थापितहरूको आरोप छ। उनीहरूका अनुसार बिहीबार साँझ खाना वितरण भएपछि ‘शान्ति सेवा’ नामक संस्थालाई भाँडाकुँडासहित त्यहाँबाट हट्न भनिएको थियो। त्यसपछि शुक्रबार बिहानदेखि सेन्टरमा नियमित खाना वितरण भएन।

भोकै परेका परिवारले आफ्ना सामानसमेत सेन्टरभित्रै छाडेर गेटबाहिर धर्ना दिएका थिए। पछि केही अभियन्ताले चिउरा र दालमोठ ल्याइदिएपछि बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य विस्थापितले त्यही खाएर भोक टारेका थिए।

१५ दिनमा व्यवस्थापनको आश्वासन, सात महिना बित्दा पनि टुंगो छैन
गत वैशाख १२ गते काठमाडौं उपत्यकाका नदी किनारका बस्ती हटाउने क्रममा विस्थापित गरिएका परिवारलाई १५ दिनभित्र उचित व्यवस्थापन गर्ने आश्वासनसहित विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो।

थापाथलीलगायतका बस्तीबाट हटाइएका परिवारलाई काठमाडौंको नागार्जुन तथा भक्तपुरको बोडे र खरिपाटीमा अस्थायी रूपमा राखिएको थियो। तर सात महिना बितिसक्दा पनि स्थायी आवासको व्यवस्था हुन नसकेको विस्थापितहरूको गुनासो छ।

बोडेको होल्डिङ सेन्टरमा रहेका परिवारले आफूहरूको पुनर्वासको टुंगो नलाग्दै अस्थायी आश्रयसमेत खाली गर्न भनिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूको भनाइमा सरकारले पहिले घर भत्काउँदा व्यवस्थापनको आश्वासन दिएको थियो, तर अहिले वैकल्पिक व्यवस्था नगरी फेरि सडकमा पुर्‍याउन खोजिएको छ।

प्रदर्शनका क्रममा स्कुल जाने उमेरका बालबालिका पनि विद्यालय जान सकेनन्। दैनिक ज्यालामजदुरी गरेर गुजारा चलाउने अभिभावकहरू काममा जान पाएनन्। काखमा दूधेबालक बोकेका आमादेखि ज्येष्ठ नागरिकसम्म अनिश्चित भविष्यको चिन्तामा सडक किनारमा बसेका थिए।

१९ परिवारमध्ये सातको जग्गा देखिएको प्रशासनको दाबी
होल्डिङ सेन्टर खाली गराउने निर्णयको पृष्ठभूमिमा भूमि समस्या समाधानसम्बन्धी समितिको पत्र रहेको प्रशासनको भनाइ छ।

प्रशासनको दाबीअनुसार बोडेमा रहेका १९ परिवारमध्ये सात परिवारको नाममा जग्गा देखिएको छ भने बाँकी १२ परिवारको जग्गासम्बन्धी विवरणका आधारमा उनीहरूको व्यवस्थापनको प्रक्रिया अघि बढाउन सकिने अवस्था छ। जग्गाको अभिलेखमा नाम देखिएका परिवारलाई भूमिहीन नमान्ने आधारमा निर्णय गरिएको प्रशासनिक पक्षको भनाइ छ।

तर विस्थापित परिवारले जग्गाको अभिलेखमा नाम देखिँदैमा आफूहरूसँग बसोबासयोग्य जग्गा वा घर भएको प्रमाणित नहुने बताएका छन्। अभिलेखमा नाम देखिएका कतिपय स्थानमा पुगेर हेर्दा आफ्नो नाममा जग्गा नभेटिएको उनीहरूको दाबी छ।

उनीहरूले प्रत्येक परिवारको वास्तविक जग्गा, आवासीय अवस्था र आर्थिक अवस्थाबारे प्रत्यक्ष संवाद तथा स्थलगत छानबिन गरेर मात्रै निर्णय गर्न माग गरेका छन्। अभिलेखमा नाम देखिएको आधारमा मात्रै परिवारलाई भूमिहीनको सूचीबाट हटाउनु न्यायोचित नहुने उनीहरूको भनाइ छ।

छबुँदे मागसहित प्रशासनमा पुगेका थिए विस्थापित
होल्डिङ सेन्टर खाली गर्न जारी गरिएको सूचनाको विरोधमा बोडे, खरिपाटी र इचंगुनारायणका विस्थापित परिवारले बिहीबार प्रमुख जिल्ला अधिकारीसमक्ष छबुँदे मागसहित ज्ञापनपत्र बुझाएका थिए।

उनीहरूले होल्डिङ सेन्टर खाली गराउने सूचना तत्काल फिर्ता लिन र वैकल्पिक आवास तथा उचित व्यवस्थापन सुनिश्चित नभएसम्म कुनै पनि परिवारलाई जबर्जस्ती नहटाउन माग गरेका छन्।

त्यस्तै, भूमिहीन तथा सुकुम्बासीको वास्तविक अवस्था बुझेर निष्पक्ष छानबिन गर्न, १५ दिनभित्र व्यवस्थापन गर्ने पूर्वप्रतिबद्धता कार्यान्वयन गर्न, भूस्वामित्वसहितको आवास उपलब्ध गराउन, भत्काइएका घरटहराको क्षतिपूर्ति दिन र निष्कासनका क्रममा भएका घटनाको छानबिन गर्न पनि उनीहरूले माग गरेका छन्।

ज्ञापनपत्रमा तीनवटै होल्डिङ सेन्टरका ११ जना प्रतिनिधिको नाम समावेश छ। उनीहरूको मुख्य अडान वैकल्पिक र दिगो आवासको सुनिश्चितताबिना कुनै पनि परिवारलाई अस्थायी आश्रयबाट हटाउन नहुने भन्ने छ।

बालबालिका र ज्येष्ठ नागरिकसामु दङ्गा नियन्त्रण प्रहरी
शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका विस्थापितको अगाडि ठूलो संख्यामा दङ्गा नियन्त्रण प्रहरी परिचालन गरिएको थियो। हेलमेट, बुलेटप्रुफ ज्याकेट, ढाल र हतियारसहितका प्रहरी तैनाथ भएपछि रित्तो थाल बोकेर बसेका परिवार र सुरक्षाकर्मी आमनेसामने देखिएका थिए।

प्रशासनले दिएको दिउँसो २ बजेको समयसीमा नजिकिँदै गर्दा पनि विस्थापित परिवारले वैकल्पिक व्यवस्थापन नभएसम्म होल्डिङ सेन्टर नछाड्ने अडान लिएका थिए। प्रहरी टोलीले बिहीबार साँझ माइकिङ गरेर शुक्रबार २ बजेसम्म स्थान खाली गर्न निर्देशन दिएको थियो।

कांग्रेसको आपत्ति, निर्णय फिर्ता लिन माग
यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले वैकल्पिक आवासको सुनिश्चितता नगरी विस्थापित परिवारलाई अस्थायी आश्रयबाट समेत हटाउन खोजिएको भन्दै निर्णय तत्काल फिर्ता लिन माग गरेको हो।

कांग्रेसले घर भत्काउँदा व्यवस्थापन र लालपुर्जाको आश्वासन दिइएको, तर महिनौँसम्म अनिश्चिततामा राखेर अहिले अस्थायी आश्रयसमेत खोस्न खोजिएको जनाएको छ। यस्तो निर्णय संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्मविपरीत रहेको कांग्रेसको ठहर छ।

‘राज्य नागरिकको अभिभावक हो। घरबारविहीन नागरिकलाई आश्रय दिनु राज्यको दायित्व हो, उनीहरूको बाँकी रहेको आश्रयसमेत खोस्नु होइन,’ कांग्रेसको निर्णयमा भनिएको छ।

कांग्रेसले सुकुम्बासी समस्याको समाधान दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन व्यवस्थाबाट खोज्नुपर्ने पनि बताएको छ। समस्या समाधानका लागि कांग्रेसले केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समन्वय तथा सहजीकरण समिति गठन गरेको छ। समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य छन्।

आश्रय खाली गराउने सूचना निकाल्नु मात्रै पर्याप्त छ कि पुनर्वासको जिम्मेवारी पनि ?
बोडेको घटनाले सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानपछि विस्थापित परिवारको व्यवस्थापन कसरी भइरहेको छ भन्ने प्रश्न फेरि उठाएको छ। सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण हटाउने सरकारी दायित्वसँगै विस्थापित नागरिकको आवास, बालबालिकाको शिक्षा र आधारभूत आवश्यकताको सुनिश्चितता पनि राज्यकै जिम्मेवारी हो।

एकातिर प्रशासनले जग्गाको अभिलेखका आधारमा परिवारको योग्यता परीक्षण गरिरहेको छ भने अर्कोतिर विस्थापितहरूले वास्तविक अवस्था बुझेर स्थलगत छानबिन गर्न माग गरेका छन्। यी दुई पक्षबीचको विवाद समाधान नगरी होल्डिङ सेन्टर खाली गराउने निर्णयले समस्या थप जटिल बनाउने जोखिम छ।

१५ दिनभित्र व्यवस्थापन गर्ने आश्वासन पाएका परिवार सात महिनासम्म अस्थायी आश्रयमै बस्न बाध्य हुनु र अहिले त्यही आश्रय छाड्नुपर्ने अवस्था आउनुले सरकारी पुनर्वास योजनाको कार्यान्वयनमाथि गम्भीर प्रश्न उठाएको छ।

घर भत्काउने निर्णय कार्यान्वयन गर्न राज्यले देखाएको तत्परता विस्थापित परिवारको पुनर्वासमा पनि देखिन्छ कि देखिँदैन भन्ने प्रश्नको जवाफ अब सरकारले दिनुपर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट