ममता काफलेको शव टुक्रा–टुक्रा पारेर फोहोरको कन्टेनरमा फालेको खुलासा, धरौटी अस्विकार

काठमाण्डौं– अमेरिकाको भर्जिनियामा कार्यरत नेपाली नर्स ममता काफ्लेको उनका श्रीमान नरेश भट्टले विभत्स हत्या गरी शवलाई टुक्रा–टुक्रा पारेर फरक–फरक ठाउँमा लगेर ब्यवस्थापन गरेको पाइएको छ।

नरेशले जुलाई २९ र ३० मा नै शव ब्यवस्थापन र घरको सरसफाई गरी सिद्याएर वसेको खुलेको छ। ममताको हत्यामा उनले प्रमाण नष्ट गर्न सवै होसियारी अपनाएका थिए। हरेक काम उनले फिङ्गरप्रिन्ट नबस्ने गरी ग्लोभ्स र नेपकिन पेपर प्रयोग गरेको खुलेको छ।

नरेशले घरबाट धेरै वटा पोका कारमा ओसारी झिकेर फोहोरको कन्टेनरमा हाल्दै गरेको सीसीटीभी फुटेज वकिलले इजलासमा पेश गरेका छन्। नरेशले घरबाट १२ पटकसम्म यसरी पोकाहरु कारमा हालेर ओसारेको पाईएको छ। ती सवै पोकामा ममताको शवको टुक्रा भएको वकिलले दावी गरेका छन्।

एकपटक उनले पुराना लुगाहरु राखिने डोनेसन बक्समा समेत एउटा पोको फ्याँकेको पाईएको छ। जसमा बाथरुमबाहिर प्रयोग गरिने रगत लतपत भएको म्याट फेला परेको थियो। ट्रयास ब्यागहरु फ्यालेपछि उनले कन्टेनर उठाउने व्यवसायीहरुलाई फोन गरेर फोहोर उठ्यो कि उठेन भनेर सोधेकोसम्म खुलेको छ।

नरेशले आफ्नी छोरी निमालाई एकजना बेबीसिटर कहाँ छोडेर ममताको शव ब्यवस्थापनको काम गरेका थिए। घरको बेसमेन्टमा भाडामा बसेका ब्यक्तिलाई बोलाएर बेडरुमको पलङ अर्को रुममा सारेको पनि वकिलले वताएका छन्।

नरेशले आफ्नो घर नजिकै कुखुरा फार्मको जानकारी र मान्छेको मस्तिष्कको आकार कस्तो हुन्छ भनेर गुगल सर्च गरेको पनि भेटिएको छ। उनले घटनापछि टेस्ला कार बेचिसकेका थिए। प्रहरीले त्यो कार फेला पारेपछि त्यसैबाट सबैभन्दा ठूलो सुराक फेला परेको जनाईएको छ।

ममतालाई नरेशले राति सुतिसकेपछि बेडरुममै हत्या गरेको र शव टुक्राटुक्रा पारेर थुप्रै झोलामा प्याक गरेको प्रमाणहरुले देखाएका छन्। उनले घटनास्थलमा बगेको रगत बाथरुमबाट बगाइदिएका थिए। अर्को दिन केमिकलहरु ल्याएर कोठाहरु र वाथरुम सफा गरेको पाईएको छ।

श्रीमतीको मृत्यु भएको कति समयपछि अर्को विवाह गर्न सकिन्छ ? र श्रीमतीको नाममा भएको ऋण उनी मरिसकेपछि के हुन्छ भनेर पनि नरेशले केही महिना अघि गुगल सर्च गरेको फेला परेको थियो। यसका आधारमा उनले निकै समयअघि देखि नै ममताको हत्याको योजना बनाएको अनुमान लगाईएको छ।

नरेशविरुद्ध ठोस प्रमाण नभएको भन्दै उनका वकिलहरुले धरौटी अपिल गरेपछि शुक्रबार ‘मोसन हियरिङ’ राखिएको थियो। ममताको शव फेला नपरेकाले उनलाई शव लुकाएको आरोपमा पक्राउ गरी थुनामा राखिएको छ। हत्याको मुद्दा अझै दर्ता भएको छैन।

नरेशका वकिलले कोठाभित्र रगतको टाटा भेटिनुले मात्रै लाश लुकाएको पुष्टि नहुने तर्क गर्दै शंकाकै आधारमा नरेशलाई थुनामा राख्न नमिल्ने जिकिर गरेका थिए। तर, ममता पक्षका वकिलले प्राप्त प्रमाणहरु इजलासमा पेश गरेपछि न्यायाधीशले ४५ मिनेटभित्र धरौटी अपिल खारेज गरिदिएकी थिईन।

नरेशलाई छोड्दा सिंगै नेपाली समुदाय असुरक्षित हुने, भाग्न सक्ने मात्र नभएर उनी स्वयम् पनि असुरक्षित बन्ने भन्दै धरौटी अपिल अस्वीकार गरेकी थिइन्। ममता अन्तिमपटक २७ जुलाईमा आफू काम गर्ने ठाउँमा गएकी थिइन्। त्यसपछि उनी सम्पर्कविहिन छिन्। मनासस पार्क प्रहरी ममता काफ्लेको बारेमा बुझ्न अगस्ट २ मा उनको घरमा पुगेर उनका श्रीमान नरेशसँग कुरा गर्दा उनले त्यतिबेला उनी हराएको रूपमा रिपोर्ट गर्न चाहेका थिएनन्।

अगस्ट ५ मा मात्र नरेशले प्रहरीलाई सम्पर्क गरी ममता काफ्ले हराएको जानकारी दिएका थिए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट