ममता काफ्ले बेपत्ता प्रकरणमा यसरी जोडियो ‘नरेश भट्ट र अमेरिकी महिला नाडिया’को सम्वन्ध
काठमाण्डौं– अमेरिकाको भर्जिनिया युनिभर्सिटीको प्रिन्स विलियम मेडिकल सेन्टरमा कार्यरत काभ्रेकी नेपाली नर्स २८ वर्षीया ममता काफ्ले बेपत्ता भएको डेढ महिना बितिसकेको छ। तर, उनको नत सासको टुङ्गो लागेको छ, नत लासको।
पति नरेश भट्टलाई पक्राउ गरी लाश वेपत्ता पारेको अभियोगमा मुद्दा चलाएर प्रहरीले ममताको खोजतलास जारी राखेको छ। यसैक्रममा यो प्रकरणमा एक अमेरिकी युवती ‘नाडिया नभारो’ चर्चामा आएकी छिन्।
नरेश र उनको सम्वन्धलाई लिएर अहिले विभिन्न शंका/उपशंका सुरु भएका छन्। नाडिया ममताकी मिल्ने साथी पनि हुन। नाडियामाथि प्रश्न उठ्नुका विभिन्न कारण छन्। त्यस मध्ये प्रहरीले पत्ता लगाएको नरेशको गोप्य फेसबुक एकाउण्ट एक हो। नरेशले लामो समयदेखि एउटा गोप्य फेसबुक अकाउन्ट चलाउँदै आएका थिए।
उक्त फेसबुक अकाउन्टमा सीमित व्यक्तिहरू मात्रै नरेशसँग जोडिएका छन्। ती मध्ये नाडिया पनि एक हुन। यो विषयमा मनसास पार्क प्रहरीले नाडियाको बयान पनि लिएको थियो। उनले आफूले ममतालाई सोधेर नै उक्त अकाउन्टबाट आएको फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेको दाबी गरेकी छिन्।
‘धेरै समय अगाडि मलाई फ्रेन्ड रिक्वेस्ट आएको थियो। सुरुमा मैले चिनिनँ। भित्र हेर्दा ममताको फोटो देखेँ। त्यसपछि उनलाई सोध्दा मेरो श्रीमानको हो एड गर्दा हुन्छ भनेपछि फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेको हुँ’ उनले भनेकी छिन्–‘अरू साथीहरू पनि त्यसमा जोडिएका थिए। तर, ममता बेपत्ता भएपछि सबैले अनफ्रेन्ड गरेछन् क्यार। मैले चाहिँ त्यो बिर्सिसकेको थिएँ।’
आफूले १ पटक पनि नरेशसँग एक्ला एक्लै कुराकानी नगरेको नाडियाको दाबी छ । ‘मैले हरेक पटक ममतामार्फत मात्रै उसित कुराकानी गरेको छु। छुट्टै कुराकानी कहिले पनि गरेको छैन।’– उनले भनेकी छिन्।
एक कुराकानीमा नाडियाले आफूलाई नरेशले फलो गरेको संकेत भने गरेकी थिइन्। ‘उसले मलाई पटक–पटक फोन गरेको थियो। एक पटक म आफ्नो कारमा कतै जाँदै थिएँ, उसले फर्किन भन्यो। तर मैले अस्वीकार गरेँ। त्यसपछि उ रिसले चुर भएर चिच्याएको थियो’– नाडियाले भनेकी छिन्।
उनी प्रति शंका गर्नुपर्ने कारणहरु मध्ये ‘गो फण्ड मी’ अभियान पनि हो। ममता बेपत्ता भएपश्चात् उनले खोजी अभियान सञ्चालन गर्दै ‘गो फन्ड मी’मा सहायता रकम उठाईरहेकी छिन्। हालसम्म उनले २० हजार ३३५ डलर संकलन गरेको पाईएको छ। यो अभियान नेपाली समुदायले सञ्चालन गरेको अभियान भन्दा अलग हो।
उनी ममताको खोजी अभियानमा सक्रिय रहे पनि नेपाली समुदायसँग समन्वय गर्न चाहिरहेकी छैनन्। उनी अदालतमा हुने सुनवाइ र नेपाली समुदायको आह्वानमा हुने द्वीप प्रज्वलनदेखि अन्य गतिविधिहरूमा पनि उपस्थित रहन्नन्।
अर्कोतर्फ नरेश भट्ट पक्राउ परेपछि उनकी एक वर्षीया छोरी (नीमा) को कस्टडी समेत नाडियाले लिन चाहेकी थिईन। तर, प्रहरीले उनलाई यसको अनुमति दिएन। बच्चाको संरक्षण र रेखदेख सरकारले नै गरिरहेको छ। अहिले ममताकी आमा र दाइसमेत अमेरिका पुगिसकेका छन्। नरेश भने ममताकी आमालाई कस्टडी दिने पक्षमा छैनन्। उनी बच्चालाई आफ्नै बुवाआमाको जिम्मामा पठाउन चाहन्छन्।
ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो। अदालतमा भएको सुनवाइका क्रममा अभियोजकतर्फका वकिलहरुले गरेको बहस अनुसार ममता जिवित नभएको प्रहरी निष्कर्ष छ।
कोठाभित्र झगडापछि रगक्ताम्ये भएको शरीरलाई बाथरुमसम्म घिसारेर लगेको हुनसक्ने अधिकृतहरुको आशंका छ। अहिले सार्वजनिक भएको कोठा र बाथरुमका तस्वीरहरुले पनि त्यो शंकालाई बल पु¥याएको छ।
अधिकृतहरुले कोठामा रगत भए/नभएको पहिचान गर्न ब्लूस्टार प्रविधि प्रयोग गरेका थिए। त्यसअनुसार, रगत भएको स्थानमा अध्यारो पारेर हेर्दा निलो रंग देखिन्थ्यो। यसरी जाँच गर्दा जति रगतको मात्रा देखिएको छ, त्यसको आधारमा उनी जीवित हुने सम्भावना नरहेको अधिकृतहरुले बताएका थिए।
तर, भट्ट पक्षका वकिलहरुले भने शरीरविनै गम्भीर अभियोग लगाइएको भन्दै जमानतमा छाड्न माग गरेका थिए। तर, अभियोजकतर्फका वकिलहरुको बहस सुनेपछि नरेश समाजका लागि खतरा हुनसक्ने भन्दै उनलाई थुनामै राख्ने आदेश भएको थियो।