नेपालको सुखद सुरुवात, सिंगापुर ८ विकेटले पराजित

काठमाडौं– आईसीसी टी–२० विश्वकप २०२४ अन्तर्गत एसिया छनौटमा नेपालले सुखद सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको छ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्कासहित ७४ रनको योगदान गरे। २६ बलमा अर्धशतक पूरा गरेका कुशलको यो सातौं टी–२० अन्तर्राष्ट्रिय अर्धशतक हो।

अर्का ओपनर आसिफ शेखले २७ रन बनाए। उनले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे। कुशल र आसिफबीच पहिलो विकेटका लागि ९.१ ओभरमा ८४ रनको साझेदारी भयो।

कप्तान रोहित पौडेलले २४ बलमा नटआउट ३५ रन जोड्दा एक बल सामना गरेका कुशल मल्लले छक्का प्रहार गरे।

त्यसअघि विहान टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। पहिलो ओभरमै कप्तान अरित्रा दत्तलाई शून्यमा गुमाए पनि दोस्रो विकेटका लागि सिंगापुरका ब्याट्सम्यानले ५२ रनको साझेदारी गरे।

सन्दीप लामिछानेले दोस्रो विकेट लिएसँगै नेपालले सिंगापुरमाथि दबाब बनायो। सन्दीपले छैटौं ओभरको पाँचौ बलमा सिंगापुरका सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनमा बोल्ड गरे। गुल्सन झाले आठौं ओभरमा २ विकेट लिएपछि नेपाल खेलमा हाबी भयो। गुल्सनले रोहन रंगराजनलाई ४६ रनमा सन्दीप जोराबाट क्याच गराए।

सिंगापुरका लागि सबैभन्दा बढी रन बनाएका रोहनले ३० बलमा ९ चौका र १ छक्का प्रहार गरे। चार बलपछि गुल्सनले अमार्त्य कौललाई शून्यमा आउट गरे। त्यसपछि सन्दीपले जनकप्रकासलाई ७ रनमा एलबिडब्लूको धरापमा पारे।

अभिनास बोहराले १८औं ओभरमा दुई विकेट लिने क्रममा थिलिपनलाई १ रन र अनन्थ कृष्णालाई शून्यमा क्याच आउट गराए। त्यसअघि सिंगापुरका कप्तान अरित्रा दत्तलाई नेपालका करण केसीले इनिङ्ग्सको दोस्रो बलमै बोल्ड गरे।

अन्तिम ओभरमा अभिनास बोहराले अर्भवीर चौधरीलाई ३७ रनमा आउट गरेका थिए। बलिङमा नेपालका अभिनास बोहराले ३ विकेट लिए। उनले ४ ओभरमा १ मेडन राख्दा ४३ रन खर्चिए। गुल्सन झा, करण केसी र सन्दीप लामिछानेले २–२ विकेट लिए।

छनोटमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन्। अब नेपालले भोलि मलेसियासँग दिउँसो साढे १ बजे त्रिवि मैदानमै खेल्नेछ। भोलिको खेलमा जित निकाले नेपालको सेमिफाइनल सम्भावना बलियो हुनेछ।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा जित हात पारे आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा नेपालको स्थान पक्का हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट