इजरायल–हमास युद्धविरामः हमासले सार्वजनिक गरेका ३३ वन्दीको सूचिमा विपिन जोशीको नाम छैन

काठमाडौँ– १५ महिनादेखी जारी इजरायल र प्यालेस्टायनबीचको युद्ध रोकिएको छ। पाँच दिनअघि (१५ जनवरी २०२५ मा) कतार, अमेरिका र इजिप्टको प्रयासमा युद्धविराम सम्झौता भएको थियो। सो सम्झौता आइतबार बिहानबाट लागू हुने भनिए पनि केही घण्टा ढिलो गरी कार्यान्वयनमा आएको हो।

तीन चरणमा सम्पन्न गरिने भनिएको सम्झौताको पहिलो चरण आजबाट सुरु भएको हो। सम्झौताअनुसार हमासले ३३ युद्धबन्दी रिहा गर्नेछ। जसको सूची इजरायललाई बुझाइसकेको छ। सार्वजनिक सूचीमा नेपाली युवक विपिन जोशीको नाम भने समावेश छैन्। ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएको थियो।

यसअघि परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुल अजिज अल–खुलाइफीलाई फोनमार्फत अपिल गरेकी थिइन्। राणासँगको कुराकानीका क्रममा सम्भव भएसम्म विपिनलाई पहिलो चरणमै रिहा गर्न पहल गर्ने बताएका थिए।

हमासले सन् २०२३ अक्टुबर ७ मा दक्षिणी इजरालमा गरेको आक्रमणपछि विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएर लगेको थियो। तीमध्ये नेपालका विपिनका साथै तान्जानियाका १, थाइल्यान्डका ८ र इजरायलका ८४ सहित ९४ जना अझै हमासको नियन्त्रणमा छन्। तिनमा ८१ पुरुष १३ महिला छन्। इजरायली अधिकारीहरूका अनुसार हमासको नियन्त्रणमा रहेकामध्ये ६० जना जीवित छन्।

हमासले ३३ जनाको सूचीबाट तीन जनालाई युद्धविराम सम्झौता लागू भएसँगै रिहा गर्ने जनाएको छ। हमासका अनुसार डोरोन स्टेनब्रेचर, एमिली डमारी र रोमी गोनेन पहिलो दिन रिहा हुनेछन्। ३१ वर्षीय डोरोन स्टेनब्रेचर पशु चिकित्सा नर्स हुन्। हमासले अक्टुबर ७ मा आक्रमण गर्दा उनी किबुज केफर अजाको अपार्टमेन्टमा थिइन्। २८ वर्षीया एमिली डमारीलाई किबुट्ज कफर अजाबाट बन्धक बनाइएको थियो। उनीसँग बेलायत र इजरायलको दोहोरो नागरिकता रहेको बताइएको छ। त्यस्तै २४ वर्षीय रोमी गोनेनले सुपरनोभा फेस्टिभलबाट भाग्न खोज्दा एम्बुसमा परेकी थिइन्।

यता, इजरायलले पनि प्यालेस्टिनी बस्तीबाट सेना फिर्ता सुरु गर्ने तथा प्यालेस्टिनीलाई उत्तरी गाजास्थित घर फर्कन अनुमति दिइने र ती स्थानमा मानवीय सहायताका लागि हरेक दिन करिब ६ सय ट्रकलाई प्रवेश अनुमति दिने सम्झौतामा उल्लेख छ।

दोस्रो चरणमा इजरायली सेना गाजाबाट पूर्णरूपमा फिर्ता हुने भनिएको छ। यस्तै, हमासले आफ्नो नियन्त्रणमा रहेका इजरायली सैनिकलगायत थप बन्दी रिहा गर्ने सम्झौत छ। तेस्रो चरणमा भने बाँकी बन्धक र बन्दी अवस्थामै ज्यान गुमाएकाहरूको शव फिर्ता गर्ने तथा गाजाको पुनर्निर्माणसँग बढी सम्बन्धित छ।

हमासले ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरेर १२ सयभन्दा बढीको हत्यागरेसँगै युद्ध चर्किएको थियो। युद्धका क्रममा ४८ हजारभन्दा बढी प्यालिस्टिनीको ज्यान गइसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट