बलात्कारको आरोपमा पक्राउ परेका विर्तामोडका पूर्वमेयर ५ महिनापछि अस्पतालको क्याविनबाटै रिहा

दमक– घरमा काम गर्न राखेकी बालिकालाई पटक–पटक बलात्कार गरेको आरोप लागेपछि पक्राउ परेका झापाका एक जना पूर्वमेयर ५ महिनापछि अस्पतालको बेडबाटै धरौटीमा रिहा भएका छन्।

विर्तामोड नगरपालिकाका पूर्वप्रमुख ध्रुवकुमार शिवाकोटीलाई उच्च अदालत विराटनगरको इलाम इजलासले बिहीबार धरौटीमा छाड्न आदेश दिएको छ। उनी २४ मंसिरमा पक्राउ परेलगत्तै स्वास्थ्यको कारण देखाउँदै अस्पतालमा भर्ना भएका थिए।

न्यायाधीश किरणकुमार पोखरेल र रेखा पाण्डे थापाको संयुक्त इजलासले सिवाकोटीलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनी आइतबार थुनामुक्त हुँदैछन्।

सिवाकोटीले घरेलु कामका लागि राखेकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ। पटक–पटकको बलात्कार सहन नसकेपछि उनी घर छोडेर भारत हिँडेकी थिइन्। भारतको आसाममा उनकी आमा छिन्। आमा भेट्न भन्दै स्कुलकै पोसाकमा सीमा तर्न लाग्दा उनलाई काकडभिट्टा नाकामा रोकिएको थियो।

सोधपुछका क्रममा उनले दिएको बयानका आधारमा पूर्वमेयर शिवाकोटी पक्राउ परेका थिए। तर, सिवाकोटी सोही दिनदेखि अस्पताल भर्ना भए। २२ पुसमा जिल्ला अदालत झापाले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो। तर, उनी जेल गएनन्।

शिवाकोटीले पक्राउ परेको दिनदेखि हालसम्म करिब पाँच महिना झापाकै विर्तामोडस्थित बीएण्डसी अस्पतालको भीआईपी क्याविनमा बिताए। अदालतको ‘स्वास्थ्य अवस्था ख्याल गर्नुपर्ने’ भन्ने आदेशको आधारमा उनलाई कारागारको सट्टा अस्पतालमै राखिएको हो।

प्रहरीका अनुसार बुबाआमा नभएका कारण बालिकालाई शिवाकोटीले घरमा राखेर पढाइदिने आश्वासन दिइएका थिए। पीडित किशोरी बालखै हुँदा उनका बाबुको मृत्यु भएको थियो। काँकडभिट्टामा रहेका आफन्तकोमा बस्दै आएकी आमा पनि दोस्रो बिवाह गरेर भारतको आसामतिर लागिन। अभिभावक बिहिन भएका किशोरी र उनका दाजु काँकडभिट्टामा आफन्तकै आश्रयमा थिए।

केही समयपछि किशोरीलाई बिर्तामोडकै एक आफन्तले लिएर आए। त्यहीँ बसेका वेला शिवाकोटीले ‘नातीको साथी’ हुने भन्दै पढाउने र नातिनी सरह ब्यवहार गर्ने सर्तमा उनलाई मागेर बिर्तामोड–५ स्थित घर लगेका थिए। कक्षा ११ मा पढ्दै गरेकी बालिका करिव ८ वर्षदेखि शिवाकोटीकै घरमा थिईन।

शिवकोटी ०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट विर्तामोडको मयेरमा निर्वाचित भएका थिए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट