रवि लामिछानेको अवैद्य कारोबारका खजाञ्ची थापा अमेरिकी एयरपोर्टमा पक्राउ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका खजाञ्चीको रुपमा चिनिएका मोहन थापा अमेरिकामा पक्राउ परेका छन्। रास्वपा केन्द्रीय सदस्यसमेत रहेका थापा पेन्सिलभेनिया विमानस्थलमा पक्राउ परेको जनाईएको छ।
लामिछानेसहित आफूमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान थालिएपछि थापा केही दिनअघि अमेरिका गएका थिए। उनलाई फेडरल ब्यूरो अफ इन्टेलिजेन्स (एफबीआई) ले साताअघि पक्राउ गरेर फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखेको वताईन्छ।
थापा लामिछानेका अति निकट तथा विश्वासपात्र मानिन्छन्। उनलाई लामिछानेको ‘अवैद्य कारोबारको लकर’ पनि भनिन्छ। रास्वपाका तत्कालिन सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि २ करोड मागेको अडीओ सार्वजनिक हुँदा उनले कोर टीम भनेर संकेत गरेका एक ब्यक्ति थापा पनि हुन। पार्टीका पूर्वमहामन्त्री मुकुल ढकालले उनको नामै किटान गरेका थिए।
थापामाथि अमेरिकी सरकारको नीतिविपरित ठगी धन्दा चलाएको आरोप लाग्ने गरेको छ। बाल्टिमोरस्थित नेपालीहरुको छाता संगठन बानाका पूर्व अध्यक्ष समेत रहेका थापा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाको अमेरिका भ्रमणको क्रममा कालोझण्डा देखाउनेलगायत विरोध कार्यक्रमको नेतृत्वकर्ता मध्येका एक हुन।
थापामाथि यसअघि अमेरिकामा सवारी लाइसेन्स दुरुपयोग गरेको आरोपमा कारबाही भएको थियो। यस पटक उनीमाथि लागेको आरोप पुष्टि हुन बाँकी छ।