उदयपुरमा ट्याक्टरको ठक्करबाट जन्तीको बसबाट ओर्लिएकी महिलाको मृत्यु

गाईघाट– उदयपुरमा ट्याक्टरको ठक्करबाट जन्तिको बसबाट ओर्लिएकी १ महिलाको मृत्यु भएको छ। एक जना गम्भिर घाईते भएका छन्।
मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिका–४ वर्षेडाँडामा को १ ख ४७२१ नम्बरको बसका यात्रु खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ का गीता परियारको दुर्घटनामा परी मृत्यु भएको हो।
उनी खोटाङबाट जन्ती लिएर इटहरीतर्फ जाँदै गरेको बस रोकिएका बेला सडक पार गर्ने क्रममा थिईन। सोही बेला पछाडिबाट आउँदै गरेको ना ३ त ८१० नम्बरको ट्याक्टरले उनलाई ठक्कर दिएको थियो।
घाईते परियारलाई उपचारका लागि नगर अस्पताल बेल्टार लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। एसपी हरिहरनाथ योगीका अनुसार दुर्घटनामा परी इटहरी उपमहानगरपालिका–२० सुनसरीका २३ वर्षीय युजन राई घाइते भएका छन्।
घाइते राईलाई नगर अस्पताल बेल्टारमा उपचार गरी थप उपचारका लागी सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।