उदयपुरमा त्रियुगा खोलाले यसरी बगायो जन्ती पुर्याएर फर्किँदै गरेको बस

गाईघाट– सोमबारदेखिको सामान्य वर्षामै उर्लिउको त्रियुगा खोलाको वाढीले उदयपुरको चौदण्डीगढी नगरपालिका–५ मा सोमबार राति बस बगाएको छ।
उदयपुरकै चौदण्डिगढी नगरपालिका–५, सिवाईबाट बेल्टारतर्फ जाँदै गरेको को १ ख ४७५३ नम्बरको बस बाढीले बगाएको हो। सिवाईबाट सप्तरीमा जन्ती पुर्याएर बेल्टार फर्किने क्रममा रहेको बस सोमबार बेलुका खोलामा रहेको डाईभर्सनमा फसेको थियो।
चालक र सहचालक मात्रै रहेको बस फसेपछि निकाल्न नसकेर राति करिव ११ बजे उनीहरु निस्किएका थिए। उक्त बस रातिको वाढिले केही तलसम्म बगाएको छ। नदीमा डुबेको उक्त बस निकाल्न क्रेन बोलाइएको प्रहरीले जनाएको छ।
चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने पुल नहुँदा त्रियुगा नदीमा बाढी आउनासाथ स्थानीयवासीले हरेक वर्ष सास्ती भोग्नु परेको छ। यहाँ निर्माणधिन पुल उद्घाटनको तयारी हुँदै गर्दा ०७८ सालको वाढीले भाँचिएको छ।
सिवाई–बेल्हा जोड्ने यो पुल २०६६ सालमा शिलान्यास भएको थियो। ०७८ सालमा निर्माण सम्पन्न हुने चरणमा पुगेका बेला त्यही वर्षको बाढीले पुलका दुईवटा पिलर भासिएर तीन वटा स्पान भत्काएको छ।
त्यसपछि यो पुल अलपत्र अवस्थामा छ। पुल भाँचिदा चौदण्डीगढी–५ स्थित सिवाई–बेल्हाका बासिन्दा बढी समस्यामा परेका छन्। पुल उद्घाटन नहुँदै भत्किएपछि यहाँका बासीन्दा जोखिम मोलेर खोला तर्न वाध्य छन्।
हिउँदमा ह्युमपाइप राखेर अस्थायी बाटो बनाए पनि बर्षायाम सुरु हुनासाथ वाढीले सवै संरचना बगाउने गरेको छ। पुलका विषयमा यहाँका स्थानीयवासीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेर कुरा राखेका छन्। उनले संसदमा त्रियुगाको पुल अब नयाँ डिजाइनमा बन्ने आश्वासन दिएपनि अहिलेसम्म कामको सुरुवात भएको छैन।