भिजिट भिसा प्रकरणमा पक्राउ परेका सहसचिव भट्टराईसँग गृहमन्त्रीले दिनमै उठाउँथे २ लाख

काठमाडौँ– मानव तस्करसँग मिलेमतो गरी भिजिट भिसामा लाखौं रकम कुम्ल्याएको आरोपसहित पक्राउ परेका गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराईको अनुशन्धान प्रकरण गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी र मुख्यसचिव एकनारायण अर्यालसम्मै पुग्ने देखिएको छ।

दुई दिनअघिसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा प्रमुख रहेका सहसचिव भट्टराई गृहमन्त्रालयमा सरुवा भएकै भोलिपल्ट बुधबार पक्राउ परेका हुन। रमाना लिन नपाउँदै अख्तियारले अध्यागमन कार्यालयमा छापा मारेर उनीसहित ४ जनालाई पक्राउ गरेको हो।

कार्यालयका कम्प्युटर, मोबाइललगायतका ‘डिभाइस’ समेत अख्तियारले जफत गरेको छ। नियन्त्रणमा परेका चारैजना सोधपुछपछि कागज गरेर हाजिर जमानीमा बुधबारै छुटेका छन्।

भट्टराईको मानव तस्करसँग साँठगाँठ रहेको उजुरी अख्तियारमा परेको थियो। अख्तियारको राडरमा परेको चाल पाएपछि मंगलबार रातारात एकल सरुवा गरेर भट्टराईलाई गृहमन्त्रालयमा तानिएको थियो। उनी गृहमन्त्री लेखकको रोजाईमा परेर ७ महिनाअघि (२३ असोज) प्रमुखका रुपमा अध्यागमन कार्यालयमा पुगेका थिए।

भट्टराईअघि विमानस्थल अध्यागमनको नेतृत्वमा सहसचिव सुरेश पन्थी थिए। उनीमार्फत सेटिङ नचल्ने भएपछि गृहमन्त्री लेखकले उनलाई चार महिना नपुग्दै हटाएर भट्टराईलाई विमानस्थल अध्यागमन पठाएको स्रोतको दावी छ।

अध्यागमन पुगेका सबैजसो कर्मचारीहरू गृहमन्त्री लेखकको सचिवालयमार्फत गएको स्रोत बताउँछ। अध्यागमनको कर्मचारी सरुवामा गृहसचिव दुवाडी, मन्त्रालयको कर्मचारी प्रशासनका अधिकृत गणेशदत्त ओझाको पनि विशेष चासो हुने गरेको छ।

भट्टराईले गृहमन्त्री लेखक तथा उनको सचिवालयका कर्मचारीलाई समेत सघाउने गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालय स्रोतले जनाएको छ। स्रोतका अनुसार अध्यागमबाट गृहमन्त्रीले नै प्रतिदिन २ लाख रुपैयाँसम्म लिने गरेको चर्चा छ। यो रकम गृहसचिव हुँदै मुख्यसचिवसम्म पुग्ने गरेको स्रोतको दाबी छ।

पैसा उठाउँदा महानिर्देशक, गृह सचिव र मुख्य सचिवसम्मको नाममा सङ्कलन गर्ने गरिएको उजुरी अख्तियारमै परेको छ। सोही उजुरीपछि अख्तियारले ‘अन्डर कभर अपरेसन’ चलाएर सेटिङको प्रमाण संकलन गरेको थियो। स्रोतका अनुसार भिजिट भिसाको सेटिङमा ट्राभल एजेन्सीहरूसमेत जोडिएका छन।

स्रोतका अनुसार अध्यागमन कार्यालयबाट वैदेशिक रोजगारीमा यूएई र साउदी अरेबियामा भिजिट भिसामा पठाएवापत प्रतिव्यक्ति ५० देखि ७५ हजारसम्म र युरोपियन मुलुक माल्टा, पोर्चुगललगायतका देशमा पठाएवापत ३ देखि ४ लाख रुपैयाँसम्म कर्मचारीले उठाउने गरेका छन।

अध्यागमन कार्यालयमा चौविसै घण्टा काम हुन्छ। ३ सिफ्टमा ३ वटा कर्मचारी समूहले काम गर्छन। केही समय अघिसम्म हरेक सिफ्टबाट अध्यागमन कार्यालय प्रमुखलाई उठाइएको पैसाको भाग लगाएर ५ भाग दिने गरिएको थियो। तर भट्टराई प्रमुख अध्यागमन अधिकृत भएपछि ६ भाग लिने गरेका थिए। त्यसपछि कर्मचारी असन्तुष्ट थिए।

यही असन्तुष्टिपछि अख्तियारमा उजुरी पुगेको चर्चा छ। अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले घट्नाको विस्तृत अनुसन्धान भइरहेको बताए।

त्रिपाल प्रकणदेखि भिजिट भिसासम्मको विवादित यात्रा
भट्टराई विवादास्पद पृष्ठभूमिका कर्मचारी हुन। उनी विवादमा मुछिएको यो पहिलो घट्ना होईन। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा उनी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक थिए। त्यस बेला राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्ने ठेक्का निजी कम्पनीलाई दिएको विषयमा पनि उनको नाम जोडिएको थियो।

त्यसपछि गृहमन्त्री बनेका माओवादी नेता नारायणकाजी श्रेष्ठले उनलाई गृह मन्त्रालय तानेर जिम्मेवारीविहीन बनाए। त्यसको केही समयपछि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिईएर उनलाई पेण्डुलम बनाईएको थियो। तर, लेखक गृहमन्त्री भएपछि भट्टराईलाई चिठ्ठा पर्यो। लेखकले उनलाई चुनेरै अध्यागमनमा पठाएका थिए।

स्रोतका अनुसार भट्टराईले अध्यागमनमा कोर टिम बनाएर मानव तस्करीको सञ्जाल चलाएका थिए। उनको कोर टिममा अधिकृतहरू यज्ञराज अर्याल, दीपक पाण्डे, प्रभा अर्याल, भीष्मराज अर्याल, सरोज खनाल, कमलराज उपाध्यायलगायत रहेको दाबी छ।

यतिमात्रै होईन १० वर्षअघि (०७२ सालको भूकम्पको बेला) काठमाडौँको स्थानीय विकास अधिकारी (एलडीओ) छँदा त्रिपाल खरिदमा अनियमितता गरेको भन्दै उनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो। पछि सफाइ पाएका उनी सेवामा जोडिएपछि पनि शक्तिकेन्द्रसँग निकट भई आकर्षक पोस्टिङमा खटिँदै आएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट