बरसाईनकी चेलीको विवाह र परालको कुन्युँमा आगो लागेको मौका पारेर भएको थियो ‘हनुमाननगर जेल काण्ड’

राजविराज– भारतीय स्वतन्त्रता आन्दोलनलाई उचाईमा पुर्याउने र नेपालमा राणा बिरोधी आन्दोलनको विजारोपण गर्ने आन्दोलनका रुपमा चिनिने ‘हनुमाननगर जेल काण्ड’ भएको ८२ वर्ष पुरा भएको छ।
राणा शासकका गुप्तचर र प्रहरीलाई भ्रममा पार्न एउटा विवाह भोजको सहारा लिई लडाकु समुह जम्मा गरिएको र राणाका सैनिकहरुलाई ब्यस्त बनाउन नियोजित रुपमा परालको कुन्युँ (टाल) मा आगो लगाई त्यसै बेला जेल तोडेर भारतीय नेताहरुलाई मुक्त गरिएको यो घट्नामा जहानियाँ राणा शासन विरुद्ध पहिलो पल्ट गोली चलेको थियो।
जानकारहरुका अनुसार भारतमा अंग्रेजले एकछत्र शासन गरिरहेका बेला नेपालमा जहानियाँ राणा शासन भर्खरै सुरुवात भएपनि झेल्न मुस्किल भईरहेको थियो। राणा र अंग्रेजबीच सामीप्यता र शासन शैली पनि उस्तै थियो। भारतमा स्वतन्त्रताको कुरा गर्नेलाई ब्रिटिस शासकले यातना दिन्थे भने नेपालमा राणाविरोधी कुरा गर्नेलाई झुण्ड्याईन्थ्यो वा गोली हानि मृत्यु दण्ड दिईन्थ्यो।
राणाविरोधी भएकै कारण शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई झुण्ड्याइएको थियो। यो कुरा नेपालका पाठ्य पुस्तकहरुमा पढ्न पाईन्छ। भारतमा पनि ब्रिटिस साम्राज्यविरुद्धमा आन्दोलन चर्किदै थियो। भारतिय कांग्रेसका जयप्रकाश नारायण, राममनोहर लोहियालगायतका नेता अंग्रेज विरुद्ध आन्दोलनको तयारी गरिरहेका थिए।
विभिन्न स्थानमा जाने र अंग्रेजको अत्याचारका विषयमा वुझाउँदै आन्दोलनमा जनसमर्थन जुटाउँदै थिए। संघर्षकै चरणमा राममनोहर लोहियाले मुम्बईमा रहेर आन्दोलन चर्काउने योजना बनिरहेको थियो। यो सूचना चुहिएपछि व्रिटिश शासकले समाजवादी नेता जयप्रकाश नारायणलाई पक्राउ गरी हजारीबाग जेलमा कोच्यो।
त्यसपछि भारतीय स्वतन्त्रता आन्दोलन पनि मत्थर भयो। भारतीय आन्दोलनकारीहरु सिथिल भए। गुड्दागुड्दैको गाडी इन्जिन फेल भए झै आन्दोलनको गति रोकियो। त्यसैले उनीहरूले जयप्रकाश नारायणलाई जसरी भए पनि जेलबाट निकाल्ने योजना बनाए। योजना त बन्यो तर कार्यान्वय गर्ने कसरी ? यो काम त्यति सजिलो थिएन। त्यसपछि नेताहरुले सुझवुझपूर्ण उपायको खोजी गरे। हजारीबाग जेलमै नाटक प्रदर्शन गर्ने र त्यसै बेला जयप्रकाश नारायणलाई भगाउने जुक्ति निस्कियो।
नाटकका लागि कैदीबन्दीलाई जेलभित्रै नाटकको पूर्वाभ्यास गराउन थालियो। त्यही क्रममा डोरीको सहायताले जयप्रकाश नारायणलाई भगाईयो। उनी जेलबाट भागेपछि संघर्षलाई थप मजवुत बनाउने निधो भयो। तर, यो प्रकरणपछि ब्रिटिस शासक झन क्रुर बन्न थाल्यो। त्यसपछि हजारीबाग जेलबाट भागेपछि जयप्रकाश नारायण र मुम्बईबाट विहार आएका डा. राममनोहर लोहियासहितका समाजवादी नेता मिलेर ‘आजाद दस्ता’ नामक संगठन खोले।
आजाद दस्ताले अंग्रेजका विरुद्धका सशक्त र सशस्त्र आन्दोलन गर्ने निष्कर्ष निकाल्यो। तर, भारतमै बसेर यो सवै गर्न सम्भव थिएन। त्यसैले नेताले सीमा क्षेत्रमा नेपाली भूमि प्रयोग गरेर आन्दोलनलाई अगाडि बढाउने निधो गरे। नेताहरु नेपाल प्रवेश गरे। उनीहरुलाई बिहारका समाजवादी नेता सुरजनारायण सिंहले सप्तरीस्थित कोइलाडी बरसाइन ल्याए।
यता, राणाविरोधी आन्दोलनका लागि मौका पर्खेर वसिरहेका रामेश्वरप्रसाद सिंह, चतुरानन्द सिंह, गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहका बुबा जयमंगल प्रसाद सिंह (जंगलीबाबु) सँग उनीहरुको भेट भयो। दुवै पक्ष छलफल हुँदा भारतीय स्वतन्त्रता आन्दोलनलाई सहयोग गर्ने नेपालीहरुले वचन दिए।
त्यसपछि नेपालमै आजाद दस्ताको क्याम्प राखेर अंग्रेजविरोधी आन्दोलन गर्ने निस्कर्ष निस्कियो। सुनसरीको लौकही नजिक रहेको हल्दिबारीमा क्याम्प स्थापना भयो। आजाद दस्ताका सिपाहीको तालिमका लागि सप्तरीको कुसहा बजारदेखि उत्तर चुरे पहाडको फेदीमा रहेको सुरुङ्गा जङ्गलमा ट्रेनिङ सेन्टर स्थापना भयो।
ट्रेनिङ सेन्टर सञ्चालन तथा स्वतन्त्रता पक्षधरको भरणपोषणका लागि भक्तपुरका जमिनदार दलबहादुर प्रजापतिले सप्तरीको खुदीबखारीस्थित आफ्नो कामतको उब्जनीबाट आउने रकम दिने भए। त्यसपछि नेपाली भूमिबाट ब्रिटिश शासक विरुद्ध सशक्त र सशस्त्र आन्दोलन सुरु भयो। यो कुरा थाहा पाएपछि अग्रेज शासकले राणा शासकसँग समन्वय गरे।
सुरुमा खासै वास्ता नगरेका राणा शासकहरूले भारतीय समाजवादीको विषयमा चियो चर्चो गर्न थाले। हल्दिबारी क्याम्पबाट जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, कार्तिकप्रसाद सिंह, डा. बैजनाथ झा, ब्रजकिशोर शास्त्री, बाबा श्यामनन्दन पक्राउ परे।
उनीहरूलाई पक्राउ गरी सप्तरीको पुरानो सदरमुकाम हनुमाननगरस्थित गारथ (जेल) मा राखियो। सदरमुकाम हनुमाननगरबाट राजविराजमा सरिसकेको भए पनि बडाहाकिमको कार्यालय, गोस्वारा र गारथ हनुमाननगरमै थियो। राणा शासकले पक्राउ परेका भारतीय नेताहरुलाई अंग्रेज शासकलाई जिम्मा लगाउने तयारी गर्यो। यदि अंग्रेज सरकारको हात लागे उनीहरुलाई फाँसी दिने लगभग पक्का थियो।
त्यसपछि पक्राउ नपरेका अन्य भारतीय नेताहरू र नेपालमा कोइलाडी र बरसाइनका नेताहरू रामेशवरप्रसाद सिंह, जयमंगलप्रसाद सिंह, चतुरानन्द सिंह, मीनबहादुर सिंह लगायतका नेताले उनीहरूलाई जेलबाट भगाउने योजना बनाए। आजाद दस्ताका लडाकुहरुलाई बिसं. २००० जेठ ९ गते (सन १९४३ मे २२) बरसाईनमा जम्मा गरियो। बरसाइनका रामेश्वरप्रसाद सिंहको घरमा छोरीको विवाह थियो। विवाहमा धेरै मानिस आएकाले राणाका गुप्तचरले आजाद दस्ताका लडाकुका बारेमा सुइँको पाउन सकेनन। जन्तीका लागि बनाइएको खाना आजाद दस्ताका लडाकुलाई खुवाएर जेल आक्रमण गर्न पठाईयो।
यति मात्रै होईन, रामेश्वरप्रसाद सिंहका छोरा वरिष्ठ अधिवक्ता हिम्मत सिंहका अनुसार जेलको छेउमा रहेको परालको कुन्युँ (टाल) मा आगो लगाईयो। राणाका सिपाहीको ध्यान आगो निभाउने काममा केन्द्रित भयो। त्यसपछि आजाद दस्ताले राति १२ बजे हनुमाननगर स्थित जेलमा सशस्त्र आक्रमण गर्यो। सरदार नित्यानन्द सिंहले हनुमाननगर जेलमा गोली चलाए। राणा शासन विरुद्ध गोली चलेको यो पहिलो घट्ना थियो।
गोली लागेर ड्युटीमा रहेका सेन्ट्री पुलिस जनार्दन झाको घटनास्थलमै मृत्यु भयो भने अर्का पुलिस जवान घाइते भए। त्यहाँ रहेको आकाशवाणी लाइनको तार काटियो। नजिक रहेको बडा हाकिमको निवासमा बलिरहेको लालटिनमा गोली हानियो। बडाहाकिम निवासबाट बाहिर निस्किएर लुके।
त्यसपछि आन्दोलनकारीहरूले जेलको ढोका फुटाएर भारतीय नेता जयप्रकाश नारायण र डा. लोहियालाई बाहिर निकाले। उनीहरुलाई कोसी हुँदै भारत पठाईयो। उनीहरु भारत पसेपछि स्वतन्त्रता आन्दोलन थप उत्कर्षमा पुग्यो। परिणाम स्वरुप सन १९४७ अगस्त १५ का दिन भारत ब्रिटिसको गुलामीबाट मुक्त भयो।
यता भारतीय नेताहरुलाई भगाएको रिसमा राणाहरु नेपाली नेताहरु प्रति क्रुद्ध भए। रामेशवरप्रसाद सिंह, जयमंगलप्रसाद सिंह, चतुरानन्द सिंह लगायत करिब २ सय जना पक्राउ परे। उनीहरुलाई केन्द्रीय कारागार पुर्याईयो। जेलमा राणा शासकको यातनाकै कारण सप्तरीका अब्दुल मियाँ र कृष्णबिर कामीको मृत्यु भयो।
यद्यपी, हनुमाननगर जेल प्रकरणले प्रजा परिषदको नेतृत्व गरिरहेका टंकप्रसाद आचार्य लगायतका नेताहरुलाई काठमाडौँ वाहिर गतिविधि गर्न हौसल प्रदान गर्यो। यही प्रकरणपछि राणाविरोधी आन्दोलन चर्किएको थियो। अन्ततः हनुमाननगरबाट सुरु भएको आन्दोलनले ७ वर्षपछि आफनो उदेश्य प्राप्त गर्यो। बि.सं. २००७ सालमा नेपालबाट राणा शासन सदाका लागि अन्त्य भयो।
अधिवक्ता सिंह यो आदोलनसँग जोडिएको इतिहासबारे थप अनुशन्धान हुनु पर्ने बताउँछन्। उनका अनुसार यो ऐतिहासिक घटना अझै पनि धेरै हदसम्म ओझेलमा परेको छ। हनुमाननगर जेल काण्ड तत्कालीन राणा शासनविरुद्ध गरिएको एक प्रतीकात्मक विद्रोह थियो, जसले नेपालमा प्रजातान्त्रिक परिवर्तनको मार्ग प्रशस्त गर्यो।
यो घटनाले भारतीय स्वतन्त्रता संग्राममा पनि महत्वपूर्ण भूमिका खेलेको उनी बताउँछन्। जसले नेपाल र भारतका क्रान्तिकारीहरूबीचको सहकार्यलाई बलियो बनायो। तर, अहिले जेल र अन्य संरचनाको अवशेष बाँकी छैन। त्यतिबेला आक्रमण भएको स्थान वडाहाकिम कार्यालयको जग्गामा पर्थ्यो। प्रजातान्त्रिक आन्दोलनकै वेला मारिएका सप्तरी ईनर्वाका प्रहरी महेन्द्र देवको मृत्यु पछी गारद र वडाहाकिम कार्यालय रहेको जग्गा तात्कालिन सरकारले देवको परिवारलाई दियो। देबकै परिबारले उक्त जग्गा हकभोग गर्दै आएको छ।