थर फेरियो, देश फेरियो, अपराध फेरिएन — २६० करोडको बैंक लुट काण्डका मास्टरमाइन्ड प्रहरी खोरमा

काठमाडौँ — कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा पक्राउ परेका अध्यक्ष एवम् सीईओ राजेन्द्रवीर रायले नागरिकता फेरे, थर फेर, ठेगाना फेरे — फेरिएन त केवल बैंकको पैसा हत्याउने उनको शैली।
दशकभन्दा बढी समयसम्म बैंकभित्रै बसेर यस्तो घोटाला गरे, जुन नेपालको बैंकिङ इतिहासमै सर्वाधिक बदनाम काण्ड बन्ने दिशामा छ। सल्यानका ‘राई’ राजेन्द्रवीर जब नेपालगञ्ज झरे, उनी ‘राय’ बने। नागरिकतासमेत नयाँ थरमा बनाए। पछि घोटालाको पर्दाफास सुरु भयो, प्रहरीको फन्दाबाट जोगिन ‘राय’ भारत पसे। र, लखनउमा उनले बनाएको नयाँ परिचय थियो– अभयचन्द्र गुप्ता।
तर परिचयको पाटोभन्दा गहिरो छ, बैंकको ढुकुटीको कहानी। प्रारम्भिक अनुसन्धानअनुसार राय समूहले कर्णाली डेभलपमेन्ट बैंकबाट २६० करोड रुपैयाँभन्दा बढी अपचलन गरेको छ। सीआईबीको सक्रिय निगरानीपछि अहिले उनी नेपालगञ्जमा प्रहरी हिरासतमा छन।
२०६० मा बैंक स्थापना हुँदा उनी संस्थापक अध्यक्ष थिए। कारोबार सुरु भएको पहिलो दिनदेखि नै उनको सम्पूर्ण नियन्त्रणमा बैंक चल्यो। तर राष्ट्र बैंकले २०६९ मै उनीमाथि व्यवस्थापकीय कारबाही गरिसकेको थियो। दुर्भाग्य, सो कारबाही कागजमा मात्रै सीमित भयो। पछि फेरि उनी बैंक फर्किए, अनि घोटलाको झन ठूलो कारनामा सुरु भयो।
२०७० सालबाट बैंकको रकम अपचलन योजनाबद्ध ढंगले अगाडि बढेको छ। बैंकमा दिनभर जम्मा भएको नगद राति उनी आफैँ घर लैजाने, त्यसलाई नाफा देखाउने सपना बाँड्दै साबुन र नुडल्स फ्याक्ट्री खोलेर लगानी गर्ने, आफ्ना मान्छेका नाममा सेयर निकाले जस्तो देखाएर पैसा बैंकमै नदेखाउने तर भुक्तानी भने आफ्नै नाममा लिने। यही शैलिले उनले बैंकको करोडौँ रकम हत्याए।
२०८१ पुसमा बैंक समस्याग्रस्त सूचिमा पर्यो। राष्ट्र बैंकले टेकओभर गर्यो। तर त्यो बेलासम्म राय फरार भइसकेका थिए। २०८१ माघ ६ मा सीआईबीमा रायविरुद्ध बैंकिङ कसुरमा उजुरी दर्ता भयो। त्यसयता उनी लुकिछिपी भारततिर ओहोर–दोहोर गर्दै थिए।
लखनउमा उनी ‘गुप्ता’ बनेर जीवन चलाइरहेको प्रहरीले सुँईको पायो। त्यहाँ उनी अभयचन्द्र गुप्ता बनेर बसेका थिए। त्यही नाममा बनाएको भारतीय रासन कार्ड, चिकित्सकहरूसँग उपचार लिने कागजातहरू, अपार्टमेन्टमा बसाइ — यी सबै प्रमाणसँगै नेपाल प्रहरीले उनलाई फेला पार्यो।
पत्नीलाई समेत लखनउ नै लगेर राखेका रायले बैंकमा केवल पैसा मात्रै लुटेनन, नेपाली नियामक निकायको विश्वास पनि लुटे। बैंकका ग्राहकहरूको जम्मा करिब ५ अर्ब नजिकको बचत अहिले जोखिममा छ। अपचलनमा उनीसँगै कम्तीमा ७ जना संलग्न देखिएको सीआईबी बताउँछ।
सोधिएको खण्डमा उनी भन्छन — ‘म त सल्यानको राई हो, थर फेरें, नाम फेरें।’ तर अब फेरिने अवस्था उनीसँग छैन। पक्राउ परेका छन, छानबिन तीव्र छ, मुद्दा बलियो छ। अब भने राय अब गुप्ता रहन नसक्ने अवस्था आएको प्रहरी स्रोत बताउँछ।