सप्तरीमा ऋण असुलीमा पुगेका बैंकका कर्मचारीमाथि कालोमोसो र कुटपिट
राजविराज— सप्तरीमा ऋण असुलीका लागि पुगेका ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो दलेर कुटपिट र गालीगलौज गरिएको घटना सार्वजनिक भएको छ।
रुपनी शाखामा कार्यरत बैंकका कर्मचारीहरू मंसिर २५ गते कर्जाको किस्ता नियमित नभएपछि ऋणीसँग छलफल गर्न जाँदा उनीहरूमाथि योजनाबद्ध रूपमा दुव्र्यवहार गरिएको आरोप छ।
ज्योति विकास बैंकका सूचना अधिकारी प्रकाश बरालका अनुसार कर्मचारीहरू ऋण असुली होइन, किस्ता कसरी नियमित गर्न सकिन्छ भन्ने विषयमा संवादका लागि पुगेका थिए। तर सो क्रममा ऋणी पक्ष र उनका आफन्त तथा ग्यारेन्टर बस्ने व्यक्तिहरूले कर्मचारीमाथि कालोमोसो दल्नुका साथै कुटपिट र गालीगलौज गरेका थिए।
बरालले यो घटना गम्भीर र निन्दनीय भएको भन्दै बैंकले नियामक निकाय नेपाल राष्ट्र बैंकलाई समेत औपचारिक रूपमा जानकारी गराइसकेको बताए। पछिल्लो समय देशका विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि यस प्रकारका दुव्र्यवहारका घटना बढ्दै जानु चिन्ताको विषय बनेको छ।
बैंकिङ सेवा प्रवाहका क्रममा कर्मचारीको सुरक्षा र कानुनी संरक्षण सुनिश्चित गर्न राज्य संयन्त्रले गम्भीर ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

