अध्यागमन प्रमुखको डायरीबाटै खुल्यो ‘भिजिट भिसामा सेटिङ’: श्रीमतीलाई गिफ्ट किन्न समेत विचौलीयाबाट असुली
काठमाडौँ— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसाको नाममा संगठित असुली चलिरहेको प्रमाण स्वयं अध्यागमन प्रमुखको डायरीबाट खुलेको छ। तत्कालीन अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा उनको निजी डायरी नै सबैभन्दा बलियो प्रमाण बनेको छ।
डायरीका पानामा लेखिएका टिपोटहरूले अध्यागमनभित्र ‘सेटिङ’ कसरी चल्थ्यो भन्ने नांगो तस्वीर देखाउँछन्। कर्मचारीहरूलाई सतर्क रहन चेतावनी दिँदै उनले लेखेका छन— ‘म्यानपावर र कन्सल्टेन्सीसँग सिधा सम्पर्क नगर्नू, सूचना संयन्त्र सक्रिय छ, समातिए जोगाउन सकिँदैन।’ अर्को टिपोटमा उनले आफूहरू सीआईएए र अन्य निकायको कडा निगरानीमा रहेको उल्लेख गर्दै जुनसुकै बेला खतरा आउन सक्ने चेतावनी दिएका छन्।
अख्तियारका अनुसन्धान अधिकृतका अनुसार २३ असोज २०८१ मा भट्टराई अध्यागमन प्रमुख बनेपछि भिजिट भिसामा विदेश जाने यात्रुबाट योजनाबद्ध रूपमा रकम उठाउने क्रम सुरु भएको थियो। सबै कर्मचारी मिलेर ‘सेटिङ’ चलाइरहेका बेला केहीले व्यक्तिगत कारोबार गर्न थालेपछि जोखिम बढेको ठानेर भट्टराईले कर्मचारीहरूलाई नियन्त्रणमा राख्न डायरीमै निर्देशन तयार गर्ने गरेका थिए। बैठकमा भन्नुपर्ने कुरा उनले पहिला डायरीमा लेख्ने र त्यसपछि निर्देशन दिने गरेको अनुसन्धानबाट खुलेको छ।
अख्तियारले नियन्त्रणमा लिएका भट्टराईका दुई मोबाइल डिजिटल फरेन्सिक परीक्षणमा पठाउँदा डायरीका मेटिएका पानासमेत रिकभर भएका छन्। अनुसन्धानमा भिजिट भिसामा जाने यात्रुको नाम, उडान समय, गन्तव्य देश र घूसको सांकेतिक हिसाबकिताब डायरीमा भेटिएको छ। भट्टराईले डायरी आफूले नै लेखेको स्वीकार गरेका छन् र अक्षर परीक्षणबाट पनि त्यसको पुष्टि भएको छ।
डायरीमा प्रयोग भएको सांकेतिक भाषाले असुलीको तरिका झनै स्पष्ट पारेको छ। महिलालाई ‘एल’ र पुरुषलाई ‘एस’ भनेर चिनाइने गरेको देखिएको छ। २७ पुस २०८१ मा लेखिएको एक पानामा ग्रिनलाइन होलिडेज ट्राभल्सका सञ्चालक बालकृष्ण खड्काले सिफारिस गरेका १६ यात्रुको नाम छ, जहाँ महिलाबाट प्रतिव्यक्ति ४० हजार र पुरुषबाट २० हजार रुपैयाँ असुलिएको विवरण उल्लेख छ।
डायरीका प्रत्येक पानामा बिहान, दिउँसो र बेलुकीका उडानमा विदेश पठाइएका यात्रुको सूची र ‘क्लियर टु ब्यांक’ जस्ता टिप्पणी भेटिन्छन्। २३ पुसमा ‘ग्राहकसँग भेटघाट—म्यानपावर÷कन्सल्टेन्सी÷बिचौलिया’ भनेर लेखिएको छ भने ८ चैतमा ‘बाहिरी उठबस धेरै नगर्नू’ भन्ने निर्देशन टिपोट गरिएको छ। दैनिक योग, मर्निङ वाकदेखि कार्यालय जाने समयसम्म लेख्ने भट्टराईले वर्षको अन्तिम दिनको डायरीमा समेत बिचौलियाबाट आएको नामावली छुटाएका छैनन्।
अख्तियारले भट्टराईको मोबाइलबाट ह्वाट्सएप र एसएमएस संवाद पनि बरामद गरेको छ। कल डिटेल अनुसार उनले ग्रिनलाइनका बालकृष्ण खड्कासँग ११८ पटक, फेमिली होलिडेजका दीपक भण्डारीसँग २५३ पटक, कविता पौडेलसँग ८५८ पटक र खेमप्रसाद सुवेदीसँग ५३ पटक सम्पर्क गरेका थिए। ती सम्पर्कहरू भिजिट भिसामा विदेश पठाउने सूची र रकम लेनदेनसँग जोडिएका देखिन्छन्।
भ्यालेन्टाइन डे का दिन ‘भाउजू (भट्टराईकी श्रीमती)लाई केही किनेर लगिदिनु छ’ भन्ने सन्देशदेखि ‘९० प्लेट मोमो’ र मोबाइल खरिदसम्मका संवादले घूसलाई उपहार र खर्चको आवरणमा कसरी लुकाइएको थियो भन्ने संकेत गर्छ। ग्रिनलाइनका सञ्चालकहरूबीच ‘डीजी साबलाई पार्सल दिएजस्तो गर’ भन्ने अडियोसमेत अख्तियारले प्रमाणका रूपमा पेस गरेको छ, जहाँ ‘डीजी’ भन्ने संकेत भट्टराईतर्फ गरिएको उनीहरूको बयान छ।
अख्तियारको विवरणअनुसार भट्टराई अध्यागमन प्रमुख हुँदा भिजिट भिसामा विदेश गएका ४२ हजारभन्दा बढी व्यक्ति फर्किएका छैनन्। डायरी र मोबाइलबाट संकलित नाममध्ये २५७ जना विदेश गएको तथ्य अध्यागमन विभागले पुष्टि गरेको छ। भट्टराईको ल्यापटपबाट ४० वटा राहदानीका तस्बिरसमेत फेला परेका छन्।
सूचना पाएर पनि गृह प्रशासनले कदम नचालेपछि अख्तियारले ४ जेठमा गोप्य अपरेसन सुरु गरेको थियो। सरुवा भएपछि पनि निगरानी जारी राख्दै ७ जेठमा विमानस्थलमै छापा मारेर भट्टराईलाई नियन्त्रणमा लिइयो। करिब छ महिना लामो अनुसन्धानपछि अख्तियारले भट्टराईसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विशेष अदालतले शुक्रबार भट्टराईलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। तर उक्त आदेशमा एक न्यायाधीशले फरक मत राखेका छन्।

