सप्तरीमा घाँटी रेटेर युवतीको हत्या प्रयास, एक महिनाअघि दलित किशोरीको हत्या प्रकरण अझै रहस्यमय

राजविराज— सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुरमा एक युवतीको घाँटी रेटेर हत्या गर्ने प्रयास भएको छ। सोमबार बिहान विद्यालय जाँदै गरेकी २० वर्षीया अर्चना मण्डलमाथि दुई जना अपरिचित ब्यक्तिले आक्रमण गरेका हुन।
घरबाट विद्यालय जाँदै गरेकी अर्चनालाई कुशहा–हरिपुर सडकखण्डमा नकाबधारी दुई जनाले पछाडिबाट समातेका थिए। हजुरबुवा दुलिचन मण्डलका अनुसार उनीहरूले अर्चनालाई बाटो छेउमै लडाएर ब्लेडले घाँटी रेट्न खोजे।
लछारपछारका क्रममा अर्चनाले आफूलाई बचाउन सफल भए पनि घाइते भएर वेहोस भईन। त्यही क्रममा पछाडिबाट मान्छे आइरहेको देखेपछि आक्रमणकारीहरू झारडीतर्फ भागेका थिए। केहीबेरमा करिपुरकै आधारभूत विद्यालयका शिक्षक अरुणदेव साहले अर्चनालाई बेहोस अवस्थामा फेला पारेर कुशाहास्थित एक अस्पताल पुर्याएका थिए।
उनका अनुसार अर्चना बोल्न सक्ने अवस्थामा थिइनन। हातले दक्षिण–पश्चिमतर्फ ईशारा गर्दै थिइन। उनले आफ्नो मोटरसाइकलमा राखेर अर्चनालाई अस्पताल पुर्याएका हुन।
इलाका प्रहरी कार्यालय कडरबोनका प्रहरी निरीक्षक गजेन्द्र राय घट्नापछि अस्पताल पुगेका थिए। उनले युवतीको अवस्था सामान्य रहेको जानकारी दिएका छन। उनले घटनाबारे अनुसन्धान भइरहेको उनको भनाई छ।
२ वैशाखमा हरिपुरमै १८ वषीय दलित किशोरी पूजा रामको हत्या भएको थियो। घरदेखि करिव ५ सय मिटर टाढा कुसुमलाल साहको पोखरीको डिलमा उनको शव पातपतिङ्गर (झ्यास) ले छोपेको अवस्थामा फेला परेको थियो। घट्ना शंकास्पद देखिएपछि प्रहरीले हत्या भएको कोणबाट अनुसन्धान गरिरहेको छ।
घट्नास्थलको प्रकृतिका आधारमा प्रहरीले पहिलो नजरमै हत्याको आशंका गरेको थियो। शवलाई घाँसपातलगायतका झ्यासले छोपेर राख्नु नै हत्या भएको आशंका गर्नु पर्ने पहिलो कारण भएको अनुशन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन।
पुजाको एउटा चप्पल घरको गेटमा र अर्को चप्पल सय मिटरको दुरीमा फेला परेको थियो। प्रहरीले केही ब्यक्तिलाई नियन्त्रणमा लिएर केरकार पनि गरेको थियो। ती मध्येमा पनि शंकास्पद लागेका ८ जनाको पोलिग्राफ परीक्षण पनि गरायो।
पोलिग्राफ गरिएका मध्ये कतिपय परिवारकै सदस्य समेत छन। तर, मृत्युको कारण र घटनामा संलग्नता बारे हालसम्म प्रहरीले कुनै सुराक फेला पार्न सकेको छैन। पूजा साढे तीन वर्षअघि यौन हिंसामा परेकी थिईन। त्यसपछि डरले उनको विद्यालय पनि छुटेको थियो।
१४ मंसिर ०७८ मा उनीमाथि स्थानीय जागेश्वर ठाकुरले बलात्कारको प्रयास गरेका थिए। परिवारका सदस्यले दिएको जानकारी अनुसार ठाकुरले घरनजिकैको बाँसघारीमा कपडाले मुख थुनेर बलात्कार गर्न खोजेका थिए। तर, पूजाले हल्ला गरेपछि उनी भागेका थिए।
प्रहरीले २० मंसिर ०७८ मा उनलाई पक्राउ गरेर २३ मंसिरमा जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गरी अनुसन्धान गरेको थियो। उनी १७ दिन हिरासतमा बसे। सप्तरी जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि थुनछेकका लागि अदालत समक्ष पेस गर्दा नाबालक भएको भन्दै अदालतले उनलाई परिवारको जिम्मा लगाउने आदेश दिएको थियो।
त्यो मुद्दाको २ चैत ०७९ मा फैसला आयो। तत्कालीन न्यायाधीश हेमन्त रावलको इजलासले उनलाई ८ महिना कैद र ७ हजार रुपैयाँ जरिवानाको फैसला सुनायो। नाबालक ठहर भएका मण्डल बाल सुधारगृह पठाउने आदेश भएपछि फरार भएका थिए।
चितवन वस्दै आएका उनी पुजाको शंकास्पद मृत्यु हुँदा गाउँबाटै पक्राउ परे। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार ती युवक एक साता अघि मात्र गाउँ फर्किएका थिए। आफन्तले पुजाको हत्यामा जागेश्वरकै संलग्नताको आशंका गरेका छन।
पूजाका पिता वैदेशिक रोजगारीका लागि गएका छन। १ गते राति आमा अष्टयाममा सहभागी हुन घर बाहिर गएकी थिइन। घरमा भाइ १२ वर्षीय विश्वजित र पुजा सतेका थिए। आमा घर फर्किएर आउँदा पूजा सम्पर्कविहिन थिईन।
खोजतलासका क्रममा पूजाको शव फेला परेको थियो।