राजविराज नगरपालिकाकी कावा मेयर ४ घण्टादेखि कार्यालयमा थुनिईनः कार्यालयमा तोडफोड, लेखापात दासमाथि कुटपिट

राजविराज– मुल गेटमा ताला लगाएर रिले अनसनमा बसेका आन्दोलनकारीलाई वेवास्ता गर्दै ताला फुटाएर निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई पदस्थापन गर्न कार्यालयमा छिरेकी राजविराज नगरपालिकाकी कार्यवाहक मेयर साढे ४ घण्टादेखि कार्यालय भित्रै थुनिएकी छिन्।
निलम्बित मेयर भीमराज यादवका समर्थक र आन्दोनलकारीले आजै विहान करिव १० बजे पदस्थापन भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादव र केही वडाध्यक्ष समेतलाई कार्यालय भित्रै थुनेका छन्।
निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदस्थापन गराउन कार्यवाहक मेयर परविन आज विहान प्रहरीसहित कार्यालयमा पुगेकी थिईन। प्रहरीकै सुरक्षामा ताला फुटाएर कार्यालमा प्रवेश गरेकी उनले अधिकृत यादवलाई पदस्थापन पनि गराईन।
तर, आन्दोलनमा रहेका निलम्बित मेयर यादवका समर्थकले ताला फुटाएर कार्यालय प्रवेश गरेको भन्दै विरोध गर्दै तोडफोड गरेका छन्। उनीहरूले कार्यवाहक मेयर परविन, भोगेन्द्र यादव र केही वडाध्यक्षलाई कार्यालयको माथिल्लो तलामा थुनेका छन्। चार घण्टाभन्दा बढी समयदेखि उनीहरू प्रहरी सुरक्षा घेराभित्रै छन्।
बाहिर आक्रोशित भिडले कार्यालय भवनमा तोडफोड गर्दै नाराबाजी गरेका छन्। आन्दोलनकारीहरूले बारुण यन्त्र भवन र अन्य कोठाका झ्यालका सिसा फुटाएका छन् भने लेखापाल शत्रुघन लाल दासमाथि निर्घात कुटपिट गरेका छन्। दासको अवस्था गम्भीर रहेको र उनी हाल गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत छन्। स्वास्थ्यकर्मी सन्तोष दास र केही सर्वसाधारण पनि हातपातको शिकार भएका छन्।
स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति देखिएको छ। आन्दोलनकारीहरूले कार्यालयको तल्लो तलामा टायर बालेर प्रदर्शन समेत गरेका थिए। प्रहरीले भने प्रदर्शनकारीलाई नियन्त्रणमा लिन अहिलेसम्म बल प्रयोग गरेको छैन।
यो विवाद प्रमुख प्रशासकीय अधिकृत डा. श्रवण कुमार साहको सरुवा र त्यसपछि नियुक्त गरिएका भोगेन्द्र यादवको पदस्थापनसँग जोडिएको हो। साहले आर्थिक अनुशासन कडाइका साथ लागू गर्दै आएका थिए। उनले प्रक्रियागत कमजोरी भएका योजनाका फाइलहरू रोक्दै आएका थिए, जसका कारण भुक्तानी प्रक्रियामा ढिलाइ भएको थियो। साहकै कारण करिब १० लाख रुपैयाँ राजस्व हिनामिनाको प्रकरण उजागर भएको थियो।
यसैबीच, निलम्बित मेयर यादवले भोगेन्द्र यादवमाथि थाइल्याण्ड भ्रमणका लागि नगरपालिकाको रकम दुरुपयोग गरेको आरोप लगाउँदै आएका छन्। उनका अनुसार यो नियुक्ति भ्रष्टाचार ढाकछोप गर्न गरिएको हो।
नगरपालिकाभित्रको यो आन्तरिक कलहका कारण सामान्य प्रशासन, बजेट कार्यान्वयन, योजना स्वीकृति लगायतका सेवा प्रवाह ठप्प भएका छन्। जिल्ला प्रशासन कार्यालयमा पटक–पटक छलफल प्रयास भए पनि समाधानको कुनै निष्कर्ष निस्किएको छैन।
यो पनि,