सिरहा कारागारमा अवैध असुलीको आक्रोशः दुई समूहबीच झडप, १३ कैदी/वन्दी घाइते

जनकपुर— सिरहा सदरमुकामस्थित कारागारमा आइतबार बिहान दुई समूहबीच भएको झडपमा १३ जना कैदीबन्दी घाइते भएका छन्। आन्तरिक प्रशासन चलाइरहेका कैदीहरूको समूह र अन्य कैदीबीच भएको झडपमा कारागारका नाइके दिपक ठाकुर, मूलनाइके बरुण महतो, चौकीदार विजय महतो लगायत घाइते भएका हुन्।

घाइतेहरूलाई उपचारका लागि सिरहास्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। घटनापछि कारागार परिसर तनावग्रस्त बनेको छ र ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

कारागार स्रोतका अनुसार आन्तरिक प्रशासन चलाइरहेका चौकीदार विजय महतोको समूहले अन्य कैदीहरूबाट अवैध रूपमा रकम असुली गर्दै आएको थियो। यसै विषयमा विवाद बढ्दै गएपछि झडप भएको हो।

एक कैदीका अनुसार, ‘अवैध असुलीबारे सम्बन्धित निकायमा गुनासो गरेका थियौं, तर सुनुवाइ भएन। अन्ततः आज झडप भयो।’ प्राप्त जानकारीअनुसार, कैदीहरूले कारागारभित्र इँटासहितका वस्तु भित्र्याएका थिए, जसलाई सुरक्षामा असर पर्ने भन्दै प्रशासनले हटाउन निर्देशन दिएको थियो। सोही विषयमा विवाद चर्किएर झडपमा परिणत भएको बताइएको छ।

सिरहा कारागारमा मदिरा, लागूऔषध कारोबार र अवैध असुलीबारे पहिले पनि गम्भीर उजुरीहरू सार्वजनिक भइसकेका छन्। उक्त आरोपको छानबिन गर्न डीएसपीको नेतृत्वमा समिति गठन गरी प्रतिवेदन समेत बुझाइएको थियो। समितिले कारागार प्रशासन र कैदीहरू विरुद्ध कारबाही सिफारिस गरे पनि सिरहा प्रशासनले अहिलेसम्म कार्यान्वयन नगरेको बताइएको छ।

सिरहा प्रहरीका डीएसपी वीरेन्द्र पासवानले झडपबारे अनभिज्ञता जनाउँदै प्रतिक्रिया दिन मानेनन। प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालसँग सम्पर्क हुन सकेन। सहायक सीडीओ चेतराज बरालले भने अनुसन्धान भइरहेको र घाइतेको उपचार भईरहेको जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट