दुर्घटनाका घाइतेलाई ट्याक्सीको डिकीमा हालेर लगियो अस्पताल, प्रहरीविरुद्ध परिवारको उजुरी

राजधानी– असार २२ गते काठमाडौँको मनहरा पुलमा मोटरसाइकल दुर्घटनामा परेका ३४ वर्षीय अरूण थापालाई ट्याक्सीको डिकीमा हालेर अस्पताल पुर्याइएको घटनामा ‘अमानवीय व्यवहार’ भएको भन्दै पीडित परिवारले प्रहरीविरुद्ध उजुरी दिएका छन्।
घटनामा प्रहरीको प्रत्यक्ष संलग्नता देखिएको भन्दै पीडित पक्षले प्रहरी वृत्त नयाँबानेश्वर र राष्ट्रिय मानव अधिकार आयोगमा लिखित उजुरी दिएका हुन्। अरूणको असार २७ गते उपचारका क्रममा मृत्यु भएको थियो।
अरूणलाई दुर्घटनापछि तत्काल ट्याक्सीको डिकीमा हालेर भक्तपुर इन्टरनेसनल अस्पताल पुर्याइएको थियो। डिकीमा राख्ने निर्णय कसरी भयो भन्नेमा अहिले प्रहरी, ट्याक्सी चालक र अस्पताल सबैको जवाफमा फरक–फरक देखिएको छ।
प्रहरीका अनुसार, उनीहरू घटनास्थलमा पुगेका बेलासम्म अरूणलाई सर्वसाधारणले डिकीमा हालिसकेका थिए। ‘त्यति बेला ज्यान बचाउनतिर मात्र लाग्यौं, फेरि निकालेर अरू सवारी खोज्न समय खेर जान्थ्यो’–, घटनास्थलमा खटिएका एक प्रहरीले भने।
ट्याक्सी चालकले भने आफू भक्तपुरबाट यात्रु खोज्दै आइरहेका बेला केही व्यक्तिले बिरामी लाने भनेर ट्याक्सी रोकेर बिरामी डिकीमा हालिदिएको बताएका छन्। ‘सिट फोहोर हुन्छ भनेर उनीहरूले नै डिकीमा हालौं भने, मैले पनि खोलिदिएँ’– चालकले भनेका छन्। उनका अनुसार, त्यसपछि प्रहरी आएर ट्याक्सीमै बसेर अस्पताल गएका थिए। उनले भने– ‘अस्पताल पुर्याएपछि घाइतेलाई प्रहरीकै जिम्मा लगाएर फर्किएको हुँ।’
अस्पताल प्रशासनका अनुसार, घाइतेको टाउकोमा गम्भीर चोट थियो र उनी अचेत अवस्थामा भर्ना भएका थिए। भक्तपुर इन्टरनेसनल अस्पतालका व्यवस्थापक रामजी श्रेष्ठले भने–‘दुई–तीन पटक अपरेसन ग¥यौं, तर बचाउन सकिएन।’
अस्पतालमा परिवारका सदस्य पुग्दा सीसीटीभी फुटेजमार्फत डिकीमा हालेर ल्याएको दृश्य देखाइएको थियो। अरूणका भाइ अनिल थापाले भने–‘त्यही देखेपछि हामी प्रहरीकहाँ गएका हौं, बिरामीलाई डिकीमा हाल्नु त मानवीय ब्यवहार होईन। प्रहरीसँग सामान्य चेतना पनि नभएको देखियो।’
पीडित परिवारले भने घटनालाई सामान्य दुर्घटनाको रुपमा मात्र नहेरी, घाइतेमाथि गरिएको अपमानजनक व्यवहारबारे पनि सशक्त छानबिन गरिनुपर्ने माग गरेका छन्।
घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान सुरु गरेको जनाएको छ। एसपी अपिल बोहोराले भने, ‘घाइतेलाई डिकीमा हालेर अस्पताल लगेको देखिन्छ, यसको कारणबारे छानबिन भइरहेको छ।’