घरायसी विवादका कारण माइतीघरमा बसेकी श्रीमतीको हत्या गरेर भागेका युवक पक्राउ

विराटनगर– घरायसी विवादका कारण माइतीघरमा बसिरहेकी श्रीमतीको कोदालो प्रहार गरी हत्या गरेर भागेका पाँचथरका एक युवकलाई प्रहीले पक्राउ गरेको छ।

फिदिम नगरपालिका–२ स्थित माइतीघरमा रहेकी २२ वर्षीया अनु राईको हत्या गरेको आरोपमा उनकै पति फालेलुङ गाउँपालिका–७ का २७ वर्षीय महेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

घटना बिहीबार राति करिब ८ बजेको हो। पारिवारिक विवादका कारण महेन्द्रले ससुरालीमै अनुमाथि कोदालो प्रहार गरेका थिए। गम्भीर घाइते भएकी अनुलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर लगिएको थियो।

त्यहाँ उपचार हुन नसकेपछि झापाको बीएण्डसी अस्पताल लगिएको, तर शुक्रबार बिहान साढे ४ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

हत्या गरी फरार भएका महेन्द्र तामाङलाई शुक्रबार बिहान फिदिम नगरपालिका–६, गोलेगाउँमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखी अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार महेन्द्र केही दिनअघि विदेश जान काठमाडौं गएका थिए। विदेश जाने योजना असफल भएपछि उनी फिर्ता भएर ससुराली पुगेका थिए। सोही क्रममा माइतीघरमै रहेकी श्रीमतीमाथि आक्रमण गरेको अनुशन्धानमा खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट